• २४ वैशाख २०८२, बुधबार

रूपान्तरणको अभियानलाई दूरदराजमा पुर्‍याउन आवश्यक छ : प्रधानमन्त्री

blog

काठमाडौं, चैत ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ । शनिबार दिउँसो काठमाडौंमा ‘लायन्स क्लब डिष्ट्रिक्ट ३२५ जे’को महाधिवेशन उद्घाटन सत्रमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “सहर केन्द्रित शैक्षिक युवाहरूमा मात्र होइन, दूरदराजमा रहेका, परिवर्तनप्रति अभिरुचि राख्ने, सामाजिक रूपान्तरणको आन्दोलनमा योगदान पुर्‍याउन सक्ने विपन्न, सीमान्तकृत, महिला, दलित, जनजाति, मधेशी लगायत सबै वर्ग र समुदायका युवासम्म पुगेर उनीको नेतृत्व विकास गर्ने नीति र कार्यक्रमको आवश्यकता छ ।”


सो अवसरमा प्रधानमन्त्रीले वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यका आधारमा देशमा विद्यमान राजनीतिक–आर्थिक चुनौतीहरू छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्पवद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

लायन लिडर ज्यूहरू तथा डिष्ट्रिक्ट ३२५ जे नेपालको प्रथम महाधिवेशन सफल पार्न पाल्नुहुने तमाम लायन लिडरज्यूहरूमा हार्दिक अभिवादन । सर्वप्रथम मलाई यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आमन्त्रण गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु ।

सन् १९१७ मा मेल्भिन जोन्स्ले स्थापना गर्नुभएको लायन्स क्लब अन्तर्राष्ट्रियको प्रभाव विश्वव्यापी छ । नेपालमा १९७१ मा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाज्यूको अध्यक्षतामा लायन्स क्लब अफ विराटनगर स्थापना भएको पाइन्छ। त्यही ऐतिहासिक पृष्ठभूमिको जगमा उभिएर नेपालमा लायन्स क्लबले सामाजिक क्षेत्रमा विविध गतिविधि गर्दै आइरहेको छ ।

हाल नेपालमा लायन्सका १५ डिस्ट्रिक्ट, ५० हजारभन्दा बढी सदस्य रहेको सुन्न पाउँदा म थप हर्षित छु । हामी १५ डिष्ट्रिक्टहरूमध्येको एक डिष्ट्रिक्ट ३२५ जे, नेपालको प्रथम वार्षिक महाधिवेशनमा छौँ । यस महाधिवेशनले सामाजिक सेवाका क्षेत्रमा आफूलाई थप परिष्कृत र परिमार्जित गर्दै अगाडि बढ्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।

राजनीतिक एवम् शैक्षिक रूपले चेतनशील र जागरूक युवाहरूको विशेष सक्रियतामा लायन्स क्लबले देशभरि विभिन्न सामाजिक एवम् मानवीय कार्यको नेतृत्व गरिरहेको छ । खासगरी कोभिड महामारी, महाभूकम्पजस्ता राष्ट्रिय विपत्तिहरूमा लायन्सले आफूलाई अग्रमोर्चामा उभ्याउँदै सामाजिक जिम्मेवारी पूरा गरिरहेको छ । यो कार्य देशको विकास र समृद्धिको आकाङ्क्षा राख्ने युवाहरूका निम्ति प्रेरणाको विषय मात्र नभएर देश निर्माणको अग्रमोर्चामा अग्रसर राजनीतिकर्मीका लागिसमेत गौरवको विषय हो ।

लोकतान्त्रिक राज्यप्रणालीमा राज्य र नागरिकको बलियो सहकार्यका आधारमा नै समाज सेवा र सामाजिक रूपान्तरणका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन गर्न सकिन्छ । राज्य र नागरिकको बलियो एकता नै लोकतन्त्रको त्यस्तो आधारस्तम्भ हो, जसले राज्यप्रति नागरिकको अपनत्वबोध गराउँछ, सामाजिक आन्दोलनलाई राज्यको नीति निर्माणसँग जोड्दछ, सामाजिक मुद्दाहरू राज्यको साझा मुद्दाका रूपमा स्थापित हुन्छन्, सामाजिक जागरणको आन्दोलनले सभ्य समाजको निर्माणमा परिणाममुखी भूमिका खेल्ने आधार खडा हुन्छ । यस अर्थमा राज्य र नागरिकका विभिन्न तह र तप्काबिच पुलको काम गर्न लायन्सजस्ता बौद्धिक एवम् सामाजिक संस्थाहरूको भूमिका निकै महत्त्वपूर्ण छ ।

राजनीति सबै नीतिहरूको केन्द्र हुनुका नाताले सामाजिक जीवनका सम्पूर्ण क्षेत्रहरूमा राजनीतिको केन्द्रीय भूमिका रहन्छ । हामीले राजनीतिलाई जति आदर्शवान्, मर्यादित, नैतिक र जनमुखी बनाउन सक्छौँ, सामाजिक जीवनका अन्य क्षेत्रहरूसमेत त्यसरी नै जिम्मेवार र उत्तरदायी बन्दै जान्छन् । यसका लागि राजनीतिमा देश र जनताको परिवर्तन र सामाजिक रूपान्तरणका निम्ति केही गर्ने सङ्कल्प बोकेका युवाहरूको संलग्नता र नेतृत्व अपरिहार्य रहन्छ । सिद्धान्तनिष्ठ, विचारकेन्द्रित, शिक्षित, अनुशासित, राष्ट्र र जनताको जिम्मेवारीबोधले ओतप्रोत युवा शक्तिले मात्र आजको परिस्थितिमा राष्ट्र निर्माणको ऐतिहासिक दायित्व बोध गर्न सक्छ, सोअनुरूप आफ्नो विचार र आचरणलाई धारिलो पार्दै राजनीतिक एवम् सामाजिक जीवनमा गुणात्मक योगदान दिन सक्दछ । यस दिशामा यहाँहरूले समेत गम्भीर बहस र सकारात्मक पहलकदमी लिनुहुनेछ भन्ने मेरो गहिरो विश्वास छ ।

लायन्सले राष्ट्रिय विपत्तिका हरेक घडीमा आफूलाई अग्रमोर्चामा उभ्याएको छ, शैक्षिक एवम् सामाजिक गतिविधिमा अग्रसर भएको छ, जनचेतना र सामाजिक रूपान्तरणका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, अर्थतन्त्र चलायमान बनाउन एवम् आत्मनिर्भर र व्यवसायी युवा निर्माणका लागिसमेत उत्प्रेरित गरिरहेको छ । यो आफैँमा महत्त्वपूर्ण कुरा हो। तर, आजको विकसित परिस्थिति र समावेशी लोकतन्त्रको मान्यताअनुरूप यस्ता क्लबहरूले आफ्नो कार्यक्षेत्र र दायरा थप फराकिलो बनाउन आवश्यक छ। यसका निम्ति सहर केन्द्रित शैक्षिक युवाहरूमा मात्र होइन, दूरदराजमा रहेका, परिवर्तनप्रति अभिरुचि राख्ने, सामाजिक रूपान्तरणको आन्दोलनमा योगदान पुर्‍याउन सक्ने विपन्न, सीमान्तकृत, महिला, दलित, जनजाति, मधेशी लगायत सबै वर्ग र समुदायका युवासम्म पुगेर उनीको नेतृत्व विकास गर्ने नीति र कार्यक्रमको आवश्यकता छ। आगामी दिनमा लायन्सले समेत आफ्ना नीति, कार्यक्रम र कार्ययोजनामा उल्लेखित विषय सम्बोधन गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यका आधारमा देशमा विद्यमान राजनीतिक–आर्थिक चुनौतीहरू छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सङ्कल्पबद्ध छ । मैले सङ्कल्प गरेको छु– तेस्रो कार्यकालका रूपमा मलाई चुनौतीपूर्ण अवसर प्राप्त भएको छ । तसर्थ, यस कार्यकालमा बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नु, निराशालाई चिर्दै देशमा आशाको रक्तसञ्चार सिर्जना गर्नु, राष्ट्रिय सहमति र सहकार्यका आधारमा चुनौतीहरूलाई अवसरमा बदल्नु नै मेरो सङ्कल्प रहेको छ । सरकारको यस सङ्कल्पमा समेत यहाँहरूको सकारात्मक सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु ।

अन्त्यमा सामाजिक जीवनमा राष्ट्रिय छवि र प्रतिष्ठा हासिल गरेको क्लबको यस महाधिवेशनले लायन वर्ष २०२३/०२४ का लागि क्लबको नीतिगत परिस्करण र नयाँ नीति तर्जुमाका साथै कुशल नेतृत्व चयनमा थप सफलता प्राप्त गरोस् भन्ने कामनासहित महाधिवेशनको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु, धन्यवाद।