• ८ मंसिर २०८१, शनिबार

बालबालिका र युवाहरूमा नैतिक शिक्षाको खाँचो छ : सभामुख घिमिरे

blog

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे ।

काठमाडौं, चैत ११ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बालबालिका तथा युवाहरूलाई व्यावसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ । छैटौँ एसिया प्रशान्त क्षेत्रीय म्यासेन्जर अफ पसी कार्यक्रमको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले संसारभर नै बालबालिका तथा युवाहरूलाई व्यावसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको र यो खाँचोलाई स्काउटले पूर्ति गर्नसक्ने बताउनुभयो । उहाँले सीमित मुलुकका राज्यले मात्रै स्काउटको क्षेत्रमा लगानी गरिरहेको भन्दै सबै मुलुकहरूले स्काउट क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

‘‘बालबालिका तथा युवावर्गलाई अनुशासित, स्वावलम्बी, चरित्रवान् तुल्याइ सेवाभावको अभिवृद्धि गर्दै असल नागरिकको रूपमा देश विकास कार्यमा सहभागी गराउन नेपालमा १९५३ सालमा स्थापना भएको हो स्काउट । आज संसारभर नै बालबालिका तथा युवाहरूलाई व्यावसायिक तथा नैतिक शिक्षाको खाँचो छ ।,’’ सभामुख घिमिरेले भन्नुभयो, ‘‘तर सीमित मुलुकमा मात्रै राज्यले यस क्षेत्रलाई लगानी गरेको पाइन्छ । हामी संसारका सुन्दर भविष्यको परिकल्पना गर्ने हो भने अवश्य पनि उक्त अभियानमा हाम्रा नयाँ पुस्तालाई सानै उमेरदेखि सचेत गराउनु जरुरी छ । यसका लागि सबैभन्दा राम्रो माध्यम भनेको स्काउट अभियान बन्नसक्छ ।’’

सभामुख घिमिरेले सुन्दर भविष्यको परिकल्पना गर्ने हो भने स्काउटको अभियानलाई सबैले सार्थक बनाउनुपर्ने बताउनुभयो । उहाँले स्काउटको अभियानमा नयाँ पुस्तालाई सानै उमेरदेखि सचेत गराउनु जरुरी रहेको धारणा औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘स्काउटले बालबालिकाहरूको सर्वपक्षीय विकासका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । जसमध्ये म्यासेन्जर अफ पिस (एमओपी) कार्यक्रम पनि विश्व स्काउट सङ्गठनको महत्त्वपूर्ण कार्यक्रम हो । जुन विश्वभर नै शान्ति कायम गर्न र शान्तिका वकालत गर्न विश्वव्यापी सञ्जाल निर्माण गर्न केन्द्रित रहेको छ ।’’

सभामुख घिमिरेले स्काउटले विविध कार्यक्रम सञ्चालन गरी बालबालिकाहरूको सर्वपक्षीय विकासको लागि काम गरिरहेको भन्दै आगामी दिनमा यस्ता कार्यहरूलाई झनै बढाइँदै लैजानुपर्ने बताउनुभयो ।