ललितपुर, चैत ११ गते । ललितपुर महानगरले दोलखा जिल्लाको भीमेश्वर नगरपालिकालाई सम्पदा संरक्षणका लागि आर्थिक सहयोग गरेको छ । महानगरका प्रमुख चिरी बाबु महर्जनले शुक्रबार भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरलाई ३५ लाखको चेक हस्तान्तरण गर्नुभयो ।
महानगरप्रमुख चिरी बाबु महर्जनले भीमेश्वर नगरपालिकाद्वारा चरिकोटमा आयोजित कार्यक्रममा चेक हस्तान्तरण गरेका हुन् । महानगरप्रमुख चिरी बाबु महर्जनले सम्पदा संरक्षणमा भीमेश्वर नगरपालिकालाई सहयोग पुगोस् भन्दै सहयोग गरेको बताउनुभयो । भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले महानगरले सहयोग गरेकोमा धन्यवाद दिँदै महानगरबाट भीमेश्वरले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो ।
ललितपुर महानगरपालिका र भीमेश्वर नगरपालिकाले अघिल्लो वर्ष भगिनी सम्बन्ध गाँसेका थिए । महानगर प्रमुख चिरी बाबु महर्जनले महानगरका असल अभ्यासबाट नगरवासी लाभान्वित भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘सम्पदा संरक्षण, स्मार्ट सडक बत्ती, विशेषतायुक्त सडक निर्माण हाम्रो अघिल्लो पाँच वर्षको महत्त्वपूर्ण उपलब्धि हो । ’ शिक्षा, स्वास्थ्यलाई समेत महानगरले प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । साइकल लेन निर्माणले वातावरण संरक्षण र मानव स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पारेको बताउँदै उहाँले यो महानगरको नौलो योजना भएको प्रस्ट पार्नुभयो ।
भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले ललितपुर महानगर र भीमेश्वर नगरपालिकाबिच धेरै भिन्नता भए पनि भावना, मन, संस्कार र संस्कृतिमा एकरूपता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा पनि ख्याति कमाएको महानगरसँग हामीले धेरै सिक्नु छ, हामीलाई साथ दिनुस् सिकाउनुहोस् । ’
ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले अनुभव आदानप्रदान गरेर मितेरी सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ,‘एक अर्कासँग सिक्न सकिने थुप्रै कुरा छन्, अनुभव आदानप्रदान गर्न सक्छौ । ’