जीवछ यादव
लहान, चैत ११ गते । लहान नगरपालिका–१० स्थित खुटी नहरबाट सिँचाइ गराउन निर्माण भइरहेको हेडवक्र्स अन्तिम चरणमा पुगेको छ। यसै वर्षदेखि नहरको पानी प्रयोग गर्ने उद्देश्यले निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।
हेडवकक्र्स निर्माण आयोजनाका प्राविधिक इन्जिनियर दिवाकर पण्डितका अनुसार ९० प्रतिशत काम भइसकेको छ। हेडवक्र्स निर्माणसँगै उत्तरी भेगमा १० बिघाको पोखरीसमेत खनिएकोले पर्यटकीय क्षेत्रका लागि प्रयोग हुने र उत्तरीतर्फ पश्चिम खुटी किनारमा रहेको दलित समुदायको बस्ती कटान नियन्त्रण हुनेछ। बाँकी १० प्रतिशत कामका लागि डेढ करोड रकमको आवश्यकता छ। समयमा रकम निकासा भए तटबन्ध र हेडवक्र्सको प्रवेशद्वारमा गेट लगाउने कार्य सम्पन्न भएपछि नहरमा पानी बग्ने उहाँले बताउनुभयो।
खुटी नहरमा बाह्रै महिना पानी बगिरहने हुँदा लहानका दक्षिण भेगका वडा २, ३, ४, ५, ६, ७, ८, ११, १२, २९, २०, २१, २२ र २३ नम्बर वडाका ९३० बिघा जग्गामा सिँचाइ हुनेछ। खुटी नहर सिँचाइ आयोजनाअन्तर्गत १२ करोडको लगानीमा दुई वर्ष अगाडि पूर्वनगरप्रमुख मुनि साहको कार्यकालमा सुरु भएको थियो। २०७४ सालमा नगरप्रमुख साहले बालुवाको तटबन्ध बाँधेर नहरमा पानी प्रवेश गराएर हेडवक्र्स निर्माणको कार्य अघि बढेको निर्माण समितिका अध्यक्ष नारायण उप्रेतीले जानकारी दिनुभयो। खुटी खोलालाई सुक्खा नदी घोषणा गरेर चार दशक अघि नै निर्माण भएको नहरमा पानी निकाल्ने आयोजनालाई अलपत्र परेको थियो ।
नगरप्रमुख महेशप्रसाद चौधरीले लहान बजारको बीचबाट बाह्रै महिना बग्ने नहरको किनारामा स्तरीय सडक निर्माण वृक्षरोपण गरेर पर्यटकीय क्षेत्रका रूपमा थप कार्यक्रम गरिने प्रष्ट्याउनुभयो। नगरप्रमुख चौधरीले थप्नुभयो, “मल्टिटेक सूर्य जेभीका ठेकेदार बद्रीनारायण चौधरीले तीन वर्षको समयावधि भए पनि दुई वर्षमै ९० प्रतिशत काम गरेर अन्य परियोजनामा ढिलासुस्ती गर्ने ठेकेदारहरूका लागि प्रेरक बन्नुभएको छ। बाँकी रकम उपलब्ध गराएर यस वर्षदेखि नै नहर सञ्चालनमा ल्याउने तयारी छ।”
लहान–२१ का भोरिल यादवले भन्दै नहरमा पानी आउने भएपछि दक्षिण भेगका किसानहरू बाह्रै महिना सिँचाइ गरेर उत्पादनमा वृद्धि गरेर आत्मनिर्भर हुने भन्दै खुसी व्यक्त गर्नुभयो।