• १३ असोज २०८१, आइतबार

सहकारी आवास हस्तान्तरण

blog

दमक समाचारदाता

दमक, चैत ११ गते । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सानोसानो पुँजीलाई एकीकृत गरेर सहकारी संस्थाहरूले गरिबी निवारणका लागि दिएको योगदानको  प्रशंसा गर्नुभएको छ। उहाँले नाफा कमाउन तथा स्वार्थ बोकेर स्थापना भएका सहकारी र जनहितमा खुलेका सहकारी बुझेर मात्र सदस्य बनेर कारोबार गर्न आग्रह गर्नुभयो। 

शुक्रबार झापाको दमकमा मेची सहकारी संस्थाले सहकारी सदस्यका लागि दमक–४ मा निर्माण गरेको सहकारी आवासको उद्घाटन गर्दै ओलीले विपन्नलाई सहकारीको माध्यमबाट सुविधायुक्त घर उपलब्ध गराउनु नेपालमा नै नमुना काम भएको बताउनुभयो। उहाँले भन्नुभयो, “एकै ठाउँमा एकै प्रकारका सुविधायुक्त घरहरू उपलब्ध गराउनु चानचुने विषय होइन।”

मेची आवास नाम दिइएको सहकारी बस्तीमा एकै प्रकारका ५७ वटा घर बनाए र घर नभएका सहकारीका सदस्यहलाई प्रदान गरिएको छ। डेढ बिघा जमिनमा घर बनेका छन्। उनीहरूले मासिक रूपमा कमाउँदै घर जग्गाको लागत मूल्य तिर्नेछन्। ओलीले भन्नुभयो, “सहकारी नभइदिएको थियो भने आज गरिब तथा कम पैसा हुनेले यस्तो घर पाउने थिएनन्।” 

ओलीले सहकारीले उत्पादनको क्षेत्रमा लगानी गरेर दैनिक उपभोग्य सामाग्रीमा आत्मनिर्भर बन्न सकिने भएकाले यसमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो। अब उत्पादनसँग सहकारी एवं सहकारीका सदस्यलाई जोडेर आत्मनिर्भर बन्नका लागि लाग्नुपर्ने उहाँको भनाइ थियो। कृषि क्षेत्रमा सहकारीका माध्यमबाट ठूलो परिवर्तन गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन सहकारीकर्मी र अभियन्तालाई ओलीले आग्रह गर्नुभयो। 

सहकारी संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेका अनुसार सहकारीको महत्त्वकाङ्क्षी योजनाका रुपमा रहेको सहकारी आवास हस्तान्तरणसम्म आइपुग्दा निकै नै कठिनाई भोगेको बताउनुभयो। घरजग्गा नभएकाले धनीपुर्जासहित घरजग्गा पाएको र यो सहकारीको क्षेत्रमा नेपालमा पहिलो भएको पनि उहाँको दाबी छ।

आउँदा दिनमा सहकारीले अझ निम्न वर्गीय सहकारीका सदस्यलाई लक्षित गरेर सहकारी आवास बनाउने विषयमा पनि छलफल सुरु गरेको थापाले बताउनुभयो। सहकारीका सदस्यले ५० लाखभन्दा कममा घर जग्गा पाएका छन्। बाटोघाटो, बिजुली, खानेपानीलगायतका सबै सुविधासहित घर बनेका छन् । उहाँले भन्नुभयो, “अब यो भन्दा पनि सस्तो सहकारी आवास बनाउने विषयमा पनि हामी लागि पर्नेछौँ।” उहाँका अनुसार सहकारी संस्थाको हाल तीन अर्ब ६५ करोडको वासलात रहेको छ।

सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईका अनुसार निर्धारित समयमा नै आवास निर्माण सम्पन्न गरेर सदस्यलाई दिन सकेको बताउनुभयो।