परापूर्वकालदेखि नै धार्मिक आस्थाले ओतप्रोत यस पुण्यभूमि नेपालमा सर्वसत्व प्राणीको कल्याणका लागि विभिन्न करुणामय लोकेश्वरहरूको उत्पत्ति भएको उल्लेख छ । सत्ययुगमा सुखावती भुवनबाट मत्र्यमण्डलमा अनेकौँ करुणामय लोकेश्वरहरूको आगमन भई यहाँका मानव जातिको उद्धार गरेका थिए । ती विभिन्न करुणामय लोकेश्वरहरूमध्येमा पनि प्रसिद्ध करुणामय लोकेश्वरहरूमा रक्तावलोकितेश्वर (रातो मच्छेन्द्रनाथ), आनन्दादि लोेकेश्वर (आदिनाथ), सृष्टिकान्त लोकेश्वर (नाला करुणामय) र आर्यावलोकितेश्वर (सेतो मच्छेन्द्रनाथ) आदिलाई विशेष महत्व दिई हर्षोल्लासले प्रत्येक वर्ष विशेष जात्रा पर्व मनाउँदै आएका छन् । यी चार करुणामयमध्ये काठमाडौँमा गरिने जात्रामा सेतो मच्छेन्द्रनाथको रथजात्रा निकै महत्वपूर्ण छ ।
सेतो मच्छेन्द्रनाथ करुणामय कान्तिपुर केलटोलको असन र इन्द्रचोकबीच मच्छेन्द्रबहालमा अवस्थित छ । यस सेतो मच्छेन्द्रनाथ मन्दिरभित्र विराजमान देवतालाई आर्यावलोकितेश्वर भन्ने गरिन्छ । नेवारहरू यस लोकेश्वरलाई जनबाहा द्यो भन्ने गर्छन् । यो जमोबाहाः अर्थात् जमलबहालबाट ल्याएको हुनाले जनबाहा द्यो भन्ने गरिएको हो । यसको उत्पत्ति सम्बन्धमा रानीपोखरीस्थित जमोबहालसँग सम्बन्ध छ । यस विहारलाई प्राचीन समयमा कोलियग्राम जमलग्रन्थी विहार भन्ने गर्दथे । यसकारणले पनि सेतो मच्छेन्द्रनाथलाई जमलेश्वर आर्यावलोकितेश्वर, अमोघपाश लोकेश्वर पनि भन्ने गरिएको छ । सेतो मच्छेन्द्रनाथको इतिहासलाई केलाएर हेर्दा यसको स्थापना लिच्छविकालमै भएको अनुमान लगाउन सकिन्छ । मच्छेन्द्रनाथको स्थापना हुनुअघि नै कनकचैत्य महाविहार स्थापना भइसकेको थियो ।
मच्छेन्द्रनाथको रूप सेतो भएकाले श्वेतवर्ण आर्यावलोकितेश्वर भन्ने गरिएको हो । सेतो मच्छेन्द्रनाथको मूर्ति पूर्वामुखी भई साना साना आँखा भई दाहिने हातले अभय वरदान दिएको छ भने बायाँ हातले करुणाका प्रतीक कमलको फूल लिई ध्यान मुद्रामा रही मत्र्यमण्डलमा हेरिरहेको छ । पौराणिक बौद्ध ग्रन्थ गुणकारण्ड ब्युहमा आर्यावलोकितेश्वरको उत्पत्तिबारे उल्लेख छ । भनिन्छ, सेतो मच्छेन्द्रनाथले आफूले निर्वाण वा बुद्धत्व प्राप्त गर्न सुमार्ग देखाए पनि जबसम्म समस्त प्राणीको उद्धार हुँदैन, तबसम्म यस जगत्मा सम्पूर्ण प्राणी आँखाले देख्न नसकिने कीटपतङ्गहरूको समेत निर्वाण लाभ भयबाट मुक्त नभएसम्म आफूले बुद्धत्व प्राप्त गर्दिनँ भनी मत्र्यमण्डलमा हेरिरहेको भनिन्छ ।
यो सेतो मच्छेन्द्रनाथको मूर्तिका शिरमा अभिताभ बुद्धको मूर्ति पनि रहेको छ । दायाँबायाँ दुईवटा ससाना हरियो आर्यतारा र सेतो पद्मतारा मूर्तिहरू राखिएका छन् । ताराको प्रतीक भएकाले तिब्बती लामाहरू आर्यावलोकितेश्वरलाई ‘जामन कार्पोभ’ सेतो ताराका रूपमा मान्दछन् । हिन्दुहरूले पनि सेतो मन्छेन्द्रनाथलाई विष्णु र शिवको अवतारका रूपमा पुज्दै आएको पाइन्छ । लिच्छविकालीन राजा नरेन्द्रदेवको पालामा कनकमुनि बुद्धको सम्झनामा स्थापना गरेको कनकचैत्य ने.सं. २५६ सालको हस्तलिखित अभिलेखमा उल्लेख छ । यही विहारस्थित सेतो मच्छेन्द्रनाथको मूर्तिलाई परापूर्वकालदेखि नै रथमा राखी प्रत्येक वर्ष जात्रा गर्नेछ ।
देशमा हुने रोगव्याधी र भयमुक्त तथा आयु आरोग्य र दीर्घायु कामनार्थ काठमाडौँवासीहरू मच्छेन्द्रनाथको दर्शन गर्न जाने गथ्र्यो तर अति अशक्त बिरामी र बूढाबूढीले मन्छेन्द्रनाथको दर्शन गर्न नपाएकाले वर्षको एक पटक यसको रथजात्रा चलाएको भन्ने गरिन्छ । काठमाडौँमा हुने विभिन्न रमाइला जात्रामा सेतो मच्छेन्द्रनाथको रथजात्रा पनि निकै महìवपूर्ण छ । चैत्रशुक्ल अष्टमी, नवमी र दशमी तीन दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकमा रहेको देवदेवताहरू देखाउन रथ जात्रा गरिएको भनिन्छ । जात्राका लागि रथ बनाउने जिम्मा गुठी संस्थानले लिएको छ ।
जमलमा एक हप्ता लगाएर विशेष प्राचीन परम्परामा ३२ हाते रथ बनाइन्छ । रथ चारपाङ्ग्रामा बनाइएको हुन्छ; जुन पाङ्ग्राहरूलाई भैरवको प्रतीक मानिन्छ । पाङ्ग्रामा तीनवटा नेत्र लेखी सजाइएको हुन्छ । यस्तै लामो काठको घःमाः रहेको हुन्छ, जसलाई नागको प्रतीक मानिन्छ र घःमा अघि ठूलो तामाका आधा कदको मूर्ति राखिएको हुन्छ; जसलार्ई भैरव हयग्रीव भन्दछन् । रथ शिखरशैलीमा रही माथि चुचो बन्दै जान्छ । रथको दस तलामा इन्द्र, वरुण, कुवेर, अग्नि, नैऋत्य, वायुव्य, ब्रह्मा र महादेव नारायणको प्रतीक मानिन्छ । रथको मूल भाग पाङ्ग्रादेखि माथि चार कुना परेको बार्दलीजस्तो बस्ने हुन्छ । यस्तै सुनको जलप लगाएको आँखीझ्याल हुन्छ ।
भित्र सानो कोठामा सेतो मच्छेन्द्रनाथको मूर्तिलाई विराजमान गरिन्छ । उक्त कोठाको माझमा सहस्रभूज लोकेश्वरको पित्तलको तोरण रहेको छ । यसको दायाँबायाँ छवटा हात भएका ताराका मूर्तिहरू छन् । तोरणलाई गरुड, नाग र मकर आदिले सजाएको हुन्छ । मूल ढोकामा पञ्चबुद्धको मूर्ति सजाएका हुन्छ । रथको माथिदेखि तलसम्म पित्तलको लामो ध्वजापताका झुन्ड्याइएको हुन्छ । यस्तै रथको दायाँबायाँ चन्द्र र सूर्यको आकृति भएको मुकुण्डो पनि रहेको हुन्छ । माथि रथको शिरमा बाय्मो भनी पित्तलको गजुर हुन्छ । यसरी रथलाई राम्ररी आकर्षित तुल्याएर भएपछि जात्राका लागि निश्चित तिथिमा जात्रा सुरु गरिन्छ ।
सेतो मच्छेन्द्रनाथको जात्रा प्रत्येक वर्षको चैत्र शुक्ल चउलाथ्व अष्टमी चैत्र दशैँदेखि सुरुवात हुन्छ । सर्वप्रथम सेतो मच्छेन्द्रनाथलाई दिउँसो जनबहालको मूल आसनबाट उठाएर खटमा राखी चार जना पुजारीले बोकी असन, कमलाक्षी हुँदै जमलमा बाजागाजा, गुरुज्युको पल्टनसहित ल्याइन्छ । सेतो मच्छेन्द्रनाथको मूर्तिलाई रथमा विराजमान गराएपछि यसमा रहेका जनबहालका वज्राचार्य थकालीबाट सेतो चमर हम्काई जात्रा सुरु गरिन्छ । यस्तै हनुमानढोकाबाट विशेष खड्ग ल्याई मूर्तिको सुरक्षा दिइन्छ । बाजागाजा र लावालस्करका साथ हर्ष बढाइँ गरेर जात्रालाई जमलबाट शुभारम्भ गरिन्छ । रथलाई भक्तजनबाट तानेर असन पु¥याइन्छ । यस सफलताका अवसरमा गुरुजू पल्टनले तीन पटक हर्षबढाइँ गरिन्छ ।
असनको अन्नपूर्ण अगाडि रथलाई विराजमान गराएपछि यहाँ राति भक्तजनद्वारा पूजाआजा गरी १०८ बत्ती बाल्छन् । सो राति राष्ट्रपति पनि दर्शनार्थ आउने परम्परा छ । सोही दिन सेतो मच्छेन्द्रनाथ गोरखनाथको पनि गुरु भएकाले रथ अगाडि मृगस्थलीका कनफट्टा जोगीले विशेष चक्रपूजा चलाउँछ । यस्तै भोलिपल्टको बिहान बौद्धमार्गी सप्तविधानुत्तर र समाधि पूजा गरिन्छ । दोस्रो दिन सेतो मच्छेन्द्रनाथको रथलाई दिउँसो जनबहाल, इन्द्र्रचोक भई हनुमानढोकाको कालभैरवमा विराजमान गराउन रथलाई तानेर लैजान्छ । बाटोमा जनबहालमा पुग्दा आफ्नो निवास अगाडि रङ्गीचङ्गी ध्वजापताका चढाइन्छ धलिं लुइगु भनी योमरी, चतांमरी चढाई सबैलाई प्रसाद बाँडिन्छ । रथलाई हनुमानढोका पु¥याई हर्ष बढाइँ गरिन्छ ।
सो दिन पनि स्थानीय बासिन्दाहरू पूजाआजा गरी १०८ बत्ती बाल्ने गर्छन् । तेस्रो दिन हनुमानढोकाबाट अलि लामो बाटो गरी मरु, जैसीदेवल, ज्याबहाल हुँदै लगनमा लगिन्छ । यहाँ ‘मां सेवा’ भनी यहाँ रहेको मन्दिर सेतो मच्छेन्द्रनाथको आमा भएकाले तीन पटक घुमाउनु पर्दछ । यसरी घुमाउन सकिएपछि भोलिपल्ट सेतो मच्छेन्द्रनाथको मूर्तिलाई खटमा राखी भक्तजनका साथ जनबहालमा फर्काइन्छ । यसरी त्यस वर्षको सेतो मच्छेन्द्रनाथको जात्रा भव्य रूपले सकिन्छ । अचेल सेतो मच्छेन्द्रनाथ व्यवस्थापन समितिको व्यवस्थाले गर्दा रथजात्रा निकै सभ्य, भव्य र अनुशासित तरिकाले व्यवस्थापन भई जात्रा सञ्चालन हुन गएको छ ।
सेतो मच्छेन्द्रनाथ उपत्यकाको आदर्श र शक्तिशाली देवता हो । यसले आयु, आरोग्य र दीर्घायु प्रदान गर्ने र देशको परिस्थितिलाई चिनाउने देवताका रूपमा पूजा गरिन्छ । सेतो मच्छेन्द्रनाथको रथजात्रामा कहिलेकाहीँ बिध्नबाधा आउन सक्छ । रथ तान्ने बेलामा रथ बिग्रेमा रथको माथिलो टुप्पामा रहेको बाय्मो गजुर खसिएमा, रथमा आगो लागेमा देशका ठूलाठूला राष्ट्राध्यक्ष, नेताहरू र नागरिकमा ठूलो आपत्ति र सङ्कट आउन सक्नेछ भन्ने जनश्रुति छ । यस्तो ऐतिहासिक घटना भएको विवरण यस मन्दिरमा रहेको ‘शान्तिस्वस्ति’ पुस्तकमा अभिलेखको रूपमा उल्लेख गर्ने चलन छ ।
नेपालमा रहेका अनेकौँ जात्राहरूमा सेतो मच्छेन्द्रनाथको जात्रा पनि उत्साह, उमङ्ग र आस्थाका साथ समस्त नेपालीले मनाउँदै आएका छन् । मानिस मात्रको कल्याण गर्ने सहकालका देवतामा आर्यावलोकितेश्वर सेतो मच्छेन्द्रनाथ पनि भएकाले यस सेतो मच्छेन्द्रनाथको रथ जात्रा मनाई राष्ट्रियताको संरक्षण गर्दै आएका छन् । संस्कृति देशको अभिन्न अङ्गका रूपमा रहेकाले यस्ता चाडपर्व जात्राहरूको महत्वलाई जीवित राख्नु सरकारको पनि दायित्व रहेको छ । यस जात्राको निरन्तरताका लागि सबै जनसमुदायको सहभागिता हुनुु अत्यन्त जरुरी भएको छ ।
लेखक त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुनुहुन्छ ।