• २१ पुस २०८१, आइतबार

जिल्ला अदालतको नियमित सुनुवाइ प्रभावित

blog

सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ जिल्ला अदालत कार्यालय । तस्बिर: चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर ९ गते । ताप्लेजुङ जिल्ला अदालतबाट प्रवाह हुने नियमित सुनुवाइ लगायतका सेवा प्रभावित भएको छ । यही मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका कारण जिल्ला अदालतले गर्ने नियमित लगायतका सेवा प्रभावित भएको हो ।

जिल्लाको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा रिक्त रहेको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । उक्त उपनिर्वाचन गराउनलाई जिल्ला न्यायाधीश विकास श्रेष्ठ मुख्य निर्वाचन अधिकृत भएर जानुपर्ने भएपछि अदालतको सेवा प्रभावित बनेको हो । हाल जिल्ला न्यायाधीशको उपस्थितिमा हुने नियमित सुनुवाइ लगायतका सेवा प्रभावित बनेको जिल्ला अदालतका सूचना अधिकारी विष्णुकुमार राईले बताउनुभयो ।

राईका अनुसार न्यायाधीशको प्रत्यक्ष उपस्थितिमा हुने मुद्दाको फैसला, कोर्ट म्यारिज (अदालती विवाह), सम्बन्ध विच्छेद र मिलापत्रसम्बन्धी सेवा अहिले ठप्प भएको छ । यस्तै न्यायाधीश नहुँदा मृत्युको न्यायिक घोषणा र अधिकृत वारेससम्बन्धी सेवा प्रभावित भएको छ । जिल्ला न्यायाधीशको प्रत्यक्ष उपस्थितिमा हुनुपर्ने बाहेकका सेवा प्रवाह भने नियमित भइरहेको सूचना अधिकारी राईले जानकारी दिनुभयो ।

उपनिर्वाचन हुने क्षेत्रमा निर्वाचन गराउन सरकारले जिल्ला न्यायाधीशलाई खटाएपछि जिल्ला अदालतबाट हुने सुनुवाइसम्बन्धी सेवा प्रभावित भएको नेपाल बार एसोसिएसन ताप्लेजुङका अध्यक्ष बलराम भट्टराईले बताउनुभयो । उहाँका अनुसार अदालतमा न्यायाधीश अनुपस्थित रहँदा मिलापत्रसम्बन्धी सेवा लिन चाहने सेवाग्राही बढी प्रभावित बनेका छन् ।

त्यस्तै नेपाल बार एसोसिएसनका जिल्ला सचिव ठाकुर साम्सोहाङले पनि एकजना मात्र न्यायाधीश अर्थात् जिल्ला न्यायाधीश रहने जिल्ला भएकाले सुनुवाइ लगायतका सेवा प्रभावित बन्न पुगेको हो । जिल्ला न्यायाधीश नहुँदा अहिले जिल्ला अदालत सुनसानजस्तै बनेको अधिवक्ता साम्सोहाङले बताउनुभयो । गत कात्तिक ३० गते उपनिर्वाचन हुने स्थल सिकैँचामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्ला न्यायाधीश श्रेष्ठ सिकैँचा जानुभएको र अब निर्वाचन सम्पन्न भएपछि मात्र जिल्ला अदालतमा फर्कनुहुने छ ।