भक्तपुर, मङ्सिर ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बुद्धले दिनुभएको ज्ञानलाई आफ्नो जीवनपद्धतिमा अनुसरण गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभएको छ । आइतबार सम्पन्न बुद्ध दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘धम्म डिस्कसन’ बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।
मन्त्री पाण्डेले भन्नुभयो, ‘‘बुद्ध नेपालमा जन्मेकोमा गर्व गर्नु भन्दा पनि बुद्धको ज्ञानलाई आफ्नो जीवनमा अनुसरण नगर्ने हो भने त्यो गर्व गरेको कुनै अर्थ छैन ।’’ देशको वर्तमान शिक्षा पद्धतिलाई सैद्धान्तिक भन्दा व्यवहारिक र सदाचारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री पाण्डेले शिक्षा पद्धति आध्यात्मिक र व्यक्तिको चेतनास्तर बढाउने किसिमको हुनु पर्नेमा जोड दिनुभयो ।
विभिन्न देशका बुद्ध धर्मका आध्येताहरुलाई नेपालको धर्म संस्कृति र प्रकृतिको अध्ययनका लागि आउन आग्रह गर्दै मन्त्री पाण्डेले लुम्बिनीको भ्रमणका लागि भैरहवा विमानस्थलले सहजता प्रदान गर्ने समेत विश्वास दिलाउनुभयो । बुद्ध नेपालमा जन्मिएको भए पनि बुद्धको सन्देश विश्वभरि फैलाउन योगदान गरेकोमा मन्त्री पाण्डेले बुद्ध धर्मकी व्याख्याता आचार्य सुजिन लगायतको समूहलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कोटेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष तथा पूर्व परराष्ट्र मन्त्री एवम् राजदूत महेन्द्रबहादुर पाण्डेले अहिले पनि कतै तेस्रो विश्व युद्ध त हुँदैन ? भन्ने त्रास रहेको बेला बुद्ध जन्मेको देशका मानिस र बुद्ध धर्मलाई जीवनमा अनुसरण गरिरहेका देशका विद्घानहरु एक थलोमा बसेर छलफल गरेर शान्तिको सन्देश दिनु महत्त्वपूर्ण भएको बताउनुभयो ।
सम्मेलनमा थाइल्यान्डबाट आएकी ९८ वर्षीय आचार्य सुजिनले भगवान् बुद्धलाई कसरी चिन्ने ? भन्ने विषयमा प्रवचन दिनुभएको थियो । कार्यक्रम कोटेश्वर बहुमुखी क्याम्पस र सारिपुत्र फाउन्डेसन तथा धम्म लर्निङ एण्ड सपोर्टिङ सेन्टरको संयुक्त आयोजनामा भक्तपुरका जर्मन होम्समा भएको थियो । ‘डिस्कसन विद् आचार्य सुजिन’ नामक सम्मेलनमा बुद्ध धर्मका विद्वान, अनुसन्धानकर्ता, प्रचारक, अध्यापक गरी थाइल्यान्डसहित विभिन्न देशबाट ६० जना सहभागीमध्ये नेपालबाट चार सयभन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा विश्व विद्यालय अनुदान आयोगका प्रा.डा. बाशुदव काफ्ले, पूर्व उपकुलपति प्रा.डा.उपेन्द्र कोइराला, प्रा.डा. दयाराम श्रेष्ठ, बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, विभिन्न क्याम्पसका क्याम्पस प्रमुख, बुद्धधर्मका अनुसन्धानकर्ता र शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।