मेसोपोटामियाबाट मनाउन थालिएको इस्वी संवत् २०२५ मा विश्व प्रवेश गरेको छ । पोप गेग्रोरीले जुलियन पात्रोलाई प्रतिस्थापन गरी इस्वी संवत् सुरुवात भएको मानिन्छ । त्यसैले इस्वी संवत्लाई गेग्रोरी पात्रो अनुसारको नयाँ वर्षसमेत भनिन्छ । जुलियस सिजरले जुलियन पात्रो प्रचलनमा ल्याएका थिए ।
पुरानो क्यालेन्डर सन् २०२४ लाई फर्केर हेर्दा अवसर, आशा, सङ्कट र अन्वेषणको वर्षका रूपमा लिन सकिन्छ । यो वर्ष धेरै ठुला राजनीतिक घटना र प्राकृतिक प्रकोप भए । यसको प्रभाव सम्भवतः लामो समयसम्म रहने छ ।
सन् २०२३ देखि सुरु भएको इजरायल र प्यालेस्टाइन युद्ध सन् २०२४ मा चरम उत्कर्षमा पुग्यो । गाजा क्षेत्र पूर्ण रूपमा ध्वस्त भयो । सुडानको गृहयुद्ध यस वर्ष पनि जारी रह्यो । विश्वको शक्तिशाली मुलुक अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटकका लागि राष्ट्रपतिमा चयन भए । विश्वले सन् २०२४ को अन्त्यतिर शताब्दीपुरुष अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर (जेम्स अर्ल कार्टर जुनियर) र भारतका अर्थ सुधारक नेताका रूपमा विश्वचर्चित अर्थशास्त्री डा. मनमोहन सिंहलाई गुमायो । फ्रान्सले ग्रीष्मकालीन ओलम्पिक सफलतापूर्वक सम्पन्न गर्यो । यस वर्ष सूचना प्रविधि, अन्तरिक्ष अन्वेषणलगायत क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि भए । विश्वका ८० भन्दा बढी देशमा चुनाव सम्पन्न भयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदमा ‘ह्याट्रिक’ गर्नुभयो भने बङ्गलादेशकी प्रधानमन्त्री सेख हसिना सहरी जनविद्रोहका कारण बहिर्गमन हुनुभएको घटनाले बितेको वर्ष निकै चर्चा पाएको थियो ।
अशान्त दक्षिण एसिया
विभिन्न राजनीतिक घटनाका कारण सन् २०२४ मा दक्षिण एसिया अशान्त बन्यो । दक्षिण एसियाली मुलुक विशेष गरी श्रीलङ्का र बङ्गलादेशमा अप्रत्याशित घटना भए । प्रमुख प्रतिपक्षीको निर्वाचन बहिष्कारले कम मतदाताको उपस्थितिबिच बङ्गलादेशकी सेख हसिनाको पार्टी अवामी लिगले तीन सय संसदीय सिटमध्ये २२४ सिट जित्दा हसिनाले लगातार चौथो पटकका लागि सत्ताको नेतृत्व समाल्नुभयो । २०२४ जुलाईमा कोटा प्रणाली सुधारको समर्थनमा विद्यार्थीबाट सुरु भएको विरोध प्रदर्शनमा प्रहरी, सशस्त्र बल र अवामी लिग, छात्र लिग र जुबो लिगका सदस्यहरू संलग्न भएपछि हिंसात्मक गतिविधि अघि बढ्यो । परिणामस्वरूप दुई सयभन्दा बढीको मृत्यु भयो । २० हजारभन्दा बढी घाइते भए । ३ अगस्टमा आन्दोलन आयोजकले एउटै माग हसिना र उहाँको मन्त्रीपरिषद्को राजीनामा माग गर्दै असहयोग आन्दोलन घोषणा गर्यो । त्यसको दुई दिनपछि अगस्ट ५ मा आफ्नो निवासबाट सेनाको शिविरमा पुगी हेलिकोप्टरमार्फत भारतमा शरण लिन पुग्नुभयो ।
यस्तै भारतका परराष्ट्रमन्त्री डा. सुब्रह्मण्यम् जयशङ्करको पाकिस्तान भ्रमण यस वर्षकै चर्चित घटना बन्यो । साङ्घाई कोअपरेसनको सम्मेलनमा सहभागी हुन पाकिस्तान पुग्नुभएका जयशङ्करको यस भ्रमणले भारत र पाकिस्तानको सम्बन्ध सुधार हुन लागेको अड्कलबाजी कूटनीतिक वृत्तमा भयो तर उहाँको यो भ्रमणले भारत–पाकिस्तान सम्बन्धमा खासै सुधार हुन सकेको पाइएन ।
मध्यपूर्व द्वन्द्व
सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा सुरु गरेको आक्रमणपछिका घटनाहरू सन् २०२४ मा झनै तीव्र बन्यो । इजरायलले त्यसको प्रतिरोध गर्ने क्रममा धेरै जनधनको क्षति हुन पुगेको छ । युद्धका क्रममा ४५ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । उत्तरी गाजामा भोकमरीको स्थिति उत्पन्न भएको छ । अप्रिलमा इजरायलले दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा बम प्रहार गरेपछि इरानले इजरायलमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो ।
तेहरानमा जुलाईमा हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्या भएको थियो । यसको जवाफमा दुई महिनापछि इरानले इजरायलमाथि अर्को क्षेप्यास्त्र आक्रमण गर्यो । अक्टोबरको अन्त्यमा इजरायलले जवाफी हवाई आक्रमणद्वारा इरानको क्षेप्यास्त्र उत्पादन प्रणालीलाई कमजोर बनायो र हवाई सुरक्षा ध्वस्त गर्यो । सेप्टेम्बरको मध्यमा इजरायलले उत्तरी इजरायलमा मिसाइल र रकेट आक्रमण गरिरहेको हिजबुल्लाहलाई गोप्य अपरेसनद्वारा सजाय दियो । दुई हप्तापछि इजरायली हवाई आक्रमणमा हिजबुल्लाहका नेता हसन नसरल्लाह मारिए । हमास र हिजबुल्लाहको कमजोर अवस्थाले टर्कीसमर्थित सेनाहरूलाई सिरियामा बसर अल–असदको सरकार अपदस्थ गर्ने अवसर जुर्यो । त्यसको दुई महिनाको युद्धपछि लेबनानमा नोभेम्बर २७ मा एउटा नाजुक युद्धविराम लागु भयो ।
बसर अल–असदको पतन
सिरियामा २४ वर्षदेखि सत्तामा रहेका बसर अल–असदको सरकार अपदस्थ भयो । इस्लामवादी विद्रोही समूह हयात ताहरिर अल साम (एचटीएस) ले नोभेम्बर २७ मा सुरु गरेको ११ दिनको अप्रत्याशित आक्रमणपछि राष्ट्रपति बसर अल–असद देशबाट मस्को भाग्न बाध्य हुनुभयो । असदको निष्कासनपछि देशको हतियार अन्तरिम सरकारको हातमा पर्नबाट रोक्न चाहेको भन्दै इजरायलले सिरियाका सैन्य स्थलहरूमा सयौँ आक्रमण गर्यो । इजरायलले गोलान हाइट्समा संयुक्त राष्ट्र नियन्त्रित बफर जोन पनि कब्जा गरेको थियो ।
रुस–युक्रेन द्वन्द्व
सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सो क्षेत्रमा तनावकै अवस्था उत्पन्न भएको छ । यसले सन् २०१४ देखि जारी रुस–युक्रेन युद्धलाई ठुलो रूपमा बढायो । यस आक्रमणले दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा ठुलो र घातक द्वन्द्व निम्त्याएको छ । फलस्वरूप सयौँ हजार सैन्य मारिए र १० औँ हजार युक्रेनी नागरिक हताहत भए । सन् २०२४ सम्म रुसी सेनाले युक्रेनको करिब २० प्रतिशत भूभाग कब्जा गर्यो । चार करोड १० लाख जनसङ्ख्या रहेको युक्रेनबाट करिब ८० लाख मानिस आन्तरिक रूपमा विस्थापित भए, ८२ लाखभन्दा बढी मानिसले २०२३ को अप्रिलसम्म देश छाडेका छन् । यसले दोस्रो विश्वयुद्धपछि युरोपमा सबैभन्दा ठुलो शरणार्थी सङ्कट ल्याएको छ ।
युक्रेन युद्धमा उत्तर कोरियाली उपस्थिति
रुसको पक्षबाट युक्रेनविरुद्ध लड्न उत्तर कोरियाली सेनाहरू सामेल भएयता डिसेम्बरको सुरुसम्ममा कम्तीमा एक सय उत्तर कोरियाली सैनिक मारिएका दक्षिण कोरियाका सांसद ली सुङ–क्वानले सोलको गुप्तचर निकायलाई उद्धृत गर्दै बताउनुभएको थियो । मध्य डिसेम्बरमा कुस्र्क क्षेत्रमा भएको लडाइँमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिक मारिएका वा घाइते भएका युक्रेनी गुप्तचरहरूले जनाएका बताइएको छ । सन् २०२४ मा ११ हजारभन्दा बढी उत्तर कोरियाली सैनिकको तैनाथीले रुस–युक्रेन युद्धलाई एक वैश्विक सङ्घर्षको स्वरूप प्रदान गर्यो । वर्षको अन्त्यतिर कुस्र्क प्रान्तमा युक्रेनी फौजलाई पछाडि धकेल्ने प्रयासका क्रममा ती सैनिक सक्रिय रूपमा युद्धमा सहभागी भए । युक्रेन र अमेरिकी अधिकारीको दाबी अनुसार यो भिडन्तमा सयौँ उत्तर कोरियाली सैनिक मारिएका वा घाइते भएका छन् ।
सुडान गृहयुद्ध
सन् २०२३ अप्रिल १५ मा रमजानको समयमा सुडानमा सैन्य सरकारका दुई ठुला प्रतिद्वन्द्वी समूहबिच गृहयुद्ध सुरु भयो । यो सन् २०२४ मा पनि जारी रह्यो । एक पक्ष सुडानी सशस्त्र बल (एसएएफ) थियो; जसलाई अब्देल फताह अल–बुरहानले नेतृत्व गर्नुहुन्थ्यो । अर्को पक्ष अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) र यसको सहयोगी समूह (सामूहिक रूपमा जनजाविद गठबन्धन) थियो । यसलाई जनजाविद नेता हेमेद्तीले नेतृत्व गर्नुभयो । यो द्वन्द्वमा तीन साना (तटस्थ) पक्षको पनि संलग्नता छ– दारफुर संयुक्त सुरक्षा बल, एसएलएम (अल–नुर), अब्दुल वाहिद अल–नुरको नेतृत्वमा एसपिएलएम–एन, अब्दुलअजिज अल–हिलुको नेतृत्वमा ।
सन् २०२३ देखि सुरु भएको इजरायल र प्यालेस्टाइन युद्ध सन् २०२४ मा चरम उत्कर्षमा पुग्यो । गाजा क्षेत्र पूर्ण रूपमा ध्वस्त भयो । सुडानको गृहयुद्ध यस वर्ष पनि जारी रह्यो । विश्वको शक्तिशाली मुलुक अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटकका लागि राष्ट्रपतिमा चयन भए । विश्वले सन् २०२४ को अन्त्यतिर शताब्दीपुरुष अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर (जेम्स अर्ल कार्टर जुनियर) र भारतका अर्थ सुधारक नेताका रूपमा विश्वचर्चित अर्थशास्त्री डा. मनमोहन सिंहलाई गुमायो । फ्रान्सले ग्रीष्मकालीन ओलम्पिक सफलतापूर्वक सम्पन्न गर्यो ।
यो युद्ध मुख्य रूपमा राजधानी खार्तुम (यो युद्धको सबैभन्दा ठुलो र प्रारम्भिक लडाइँ) र डार्फर क्षेत्रमा केन्द्रित छ । लडाइँ सुरु भएपछि सुडानी जनताले दुःख भोगेका छन् । मृत्युको सही सङ्ख्या अज्ञात छ । सन् २०२४ नोभेम्बर १४ सम्म खार्तुम राज्यमा मात्रै कम्तीमा ६१ हजार मानिसको मृत्यु भएको जनाइएको छ । यसमा २६ हजार जनाको मृत्यु प्रत्यक्ष हिंसाका कारण भएको छ । सन् २०२४ जुलाई ५ सम्म ७७ लाख मिलियनभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने २१ लाखभन्दा बढी देश छाडेर शरणार्थी बनेका छन् । डार्फर क्षेत्रमा विशेष गरी मसालित समुदायमाथि भएको नरसंहारका कारण ठुलो सङ्ख्यामा नागरिकको मृत्यु भएको छ । यो द्वन्द्वले क्षेत्रीय अस्थिरता मात्र होइन, मानवीय सङ्कटलाई पनि गहिरो बनाएकोप्रति विश्व समुदाय चिन्तित छ ।
ट्रम्पको पुनरागमन
डोनाल्ड जोन ट्रम्प संयुक्त राज्य अमेरिकाको ४५ औँ राष्ट्रपतिका रूपमा निर्वाचित बन्नुभयो । अमेरिकी राष्ट्रपति चुनाव जित्न धेरै कडा दौडको प्रक्षेपणलाई गलत साबित गर्दै उहाँ दोस्रो कार्यकालका लागि पुनः अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभयो । गत नोभेम्बरमा भएको चुनावमा डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औँ राष्ट्रपति बन्नुभएको हो । सन् २०२५ जनवरी २० सोमबार राष्ट्रपति पदको शपथग्रहण समारोहबाट ट्रम्पले राष्ट्रपतिको कार्यभार समाल्नुहुने छ । डोनाल्ड जोन ट्रम्पको जन्म १९४६ जुन १४ मा भएको हो । उहाँले हालसम्म २०१७ देखि २०२१ सम्म संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको रूपमा सेवा गर्नुभएको छ ।
दिसानायकेको उदय
श्रीलङ्कामा वामपन्थी नेता अनुरा कुमारा दिसानायके सन् २०२४ मा भएको निर्वाचनबाट श्रीलङ्काका १० औँ नयाँ राष्ट्रपतिका रूपमा चुनिनुभएको छ । ५५ वर्षीय दिसानायके नेसनल पिपुल्स पावर (एनपिपी) गठबन्धनका प्रमुख हुनुहुन्छ । दिसानायकेको जन्म सन् १९७० नोभेम्बर २४ मा भएको हो । उहाँलाई सामान्यतया नामको प्रारम्भिक अक्षर एकेडीबाट चिनिन्छ । उहाँ दोस्रो चरणको मतगणनाबाट निर्वाचित हुने श्रीलङ्काका पहिलो राष्ट्रपति हुनुहुन्छ । आर्थिक सङ्कटबाट बाहिरिन सङ्घर्षरत श्रीलङ्कामा वामपन्थी नेता दिसानायके पहिलो पटक दोस्रो चरणको मतगणनामा पुग्नुभएको चुनावमा उहाँले सजिथ प्रेमदासालाई पराजित गर्नुभएको हो । योसँगै श्रीलङ्काको राजनीतिमा राजापाक्ष परिवारको हालीमुहाली सकिएको छ । यसअघि दिसानायक सन् १९९९ र २००५ को राष्ट्रपतीय चुनावमा पनि पराजित हुनुभएको थियो ।
खेलकुद
खेलजगत्कै प्रमुख प्रतियोगिता ग्रीष्मकालीन ओलम्पिक यसै वर्ष फ्रान्समा सफलतापूर्वक सम्पन्न भयो । सन् २०२४ मा फ्रान्सले पेरिस ओलम्पिक सफलतापूर्वक आयोजना ग¥यो । साथै अमेरिकाले वेस्ट इन्डिजसँग मिलेर पहिलो पटक आइसिसी टी–२० विश्वकप आयोजना गर्यो । नेपालले आइसिसी टी–२० विश्वकप प्रतियोगितामा १० वर्षपछि खेल्ने अवसर पाएको थियो । यस पटकको विश्वकपको उपाधि नेपाललाई पछि पार्दै भारतले जित्यो । यसै वर्ष युरो तथा कोपा अमेरिका फुटबल प्रतियोगिता आयोजना भयो । स्पेनले युरो कप र अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि हात पार्यो । टेनिसका दिग्गज राफेल नाडालले पनि यसै वर्ष सन्न्यास लिनुभयो । बक्सिङका पूर्वहेभिवेट च्याम्पियन माइक टाइसन १९ वर्षपछि रिङमा फर्किनुभयो । यी घटनाले यो वर्ष अन्तर्राष्ट्रिय खेलकुद चर्चामा रह्यो ।
जलवायु प्रकोप र विपत्ति
संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनले सन् २०२४ मा चरम मौसम र रेकर्ड तापक्रम ल्याएको भन्दै विश्वलाई ‘विनाशको बाटोबाट’ पछि हट्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय मौसम विज्ञानसम्बन्धी एजेन्सी (डब्लुएमओ) ले एक दशकको अभूतपूर्व गर्मीलाई समेट्दै सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा रेकर्ड भएको बताएको छ । डब्लुएमओका अनुसार हरितगृह ग्यासको उत्सर्जन नयाँ रेकर्ड उचाइमा पुगेको छ र यसले भविष्यका लागि अझै बढी गर्मी सुनिश्चित गरेको छ । डब्लुएमओका महासचिव सेलेस्टे साउलोले भन्नुभएको छ, “मौसमी बढ्दो घटना र प्रभावका रूपमा दैनिक रूपमा जलवायु परिवर्तन हाम्रो आँखाअगाडि देखा परिरहेको छ । यस वर्ष (२०२४) हामीले रेकर्ड तोड्ने वर्षा र बाढीका घटना र धेरै देशमा भयानक जनधनको क्षति देख्यौँ । यसले हरेक महादेशका समुदायलाई हृदयविदारक बनायो ।”
सन् २०२४ को सुरुवात प्राकृतिक विपत्बाट भयो । नयाँ वर्षको पहिलो दिनमा जापानको नोतो प्रायद्वीपमा विनाशकारी भूकम्प गयो । यस भूकम्पमा परी २५० जनाको ज्यान गयो । मार्च र अप्रिलमा अचानक आएको बाढी र बेमौसमी वर्षाका कारण अफगानिस्तान र पाकिस्तानमा एक हजार जनाभन्दा धेरैको ज्यान गयो । ब्राजिल, इन्डोनेसिया, स्पेन र केन्यामा विनाशकारी बाढी आयो । पपुवा न्युगिनीमा गएको पहिरोमा परेर छ सय जनाभन्दा धेरैले ज्यान गुमाए । यस वर्षको पहिलो १० महिनामा अमेरिकामा मौसमसम्बन्धी आएका २४ वटा प्राकृतिक प्रकोपले कम्तीमा एक अर्ब डलर बराबरको क्षति पुर्यायो । यस्तै खडेरीले उत्तरी दक्षिण अमेरिकालाई तहसनहस पार्यो । सेप्टेम्बरमा हेलेन नामको आँधीले दक्षिणपूर्वी अमेरिकामा प्रहार गर्यो ।
सूचना प्रविधि
सन् २०२४ मा प्रविधिले नयाँ उचाइ हासिल गर्यो । यस वर्ष धेरै यस्ता आविष्कार भए, जुन कल्पनाभन्दा बाहिर छन् । स्टियरिङबिनाको ट्याक्सी होस् वा चीनमा बनेको एआई अस्पताल, यस वर्ष प्रविधिले ठुलो फड्को मारेको छ । इतिहासकै सबैभन्दा ठुलो सटडाउन (क्राउडस्ट्राइक) पनि यसै वर्ष देखियो । सन् २०२४ का प्रमुख आविष्कारहरूको चर्चा गर्दा न्युरालिङ्कको नाम उल्लेख गर्नै पर्छ । यस वर्ष मानिसको दिमागमा चिप, रोबोटले गर्ने उपचार, एप्पल भिजन प्रो, सबैभन्दा पातलो फोल्डेबल फोन, एआई शिक्षक, डिजिटल एरेस्ट अर्थात् स्क्यामरहरूले निर्दोष मानिसलाई झुक्याएर ठगी गर्ने घटनालगायतका केही सकारात्मक त केही नकारात्मक विषयवस्तु यस क्षेत्रमा देखिए ।
सन् २०२४ मा सूचना प्रविधिका क्षेत्रमा एआईको प्रभाव, विस्तार र खगोल तथा जीव विज्ञानको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको वर्षका रूपमा हेरिएको छ । यसबिचमा दूरसञ्चार तथा मोबाइल प्रविधि, अन्तरिक्ष तथा स्पेससम्बन्धी खोज, क्वान्टम कम्प्युटिङ, हरित प्रविधिलगायतका क्षेत्रमा थुपै्र विकास तथा अन्वेषणका प्रयास भए । विश्व बजारमा स्मार्टफोनदेखि सैन्य अस्त्रको निर्माणमा समेत निकै महत्व बोकेको सेमिकन्डक्टर उद्योगमा चीन र अमेरिकाबिच यस वर्ष पनि तीव्र प्रतिस्पर्धा जारी रह्यो । सन् २०२४ मा सूचना प्रविधिको अर्को उल्लेख्य विषयका रूपमा नेपालसहित विश्वका अन्य देशमा टिकटकमाथिको प्रतिबन्ध लगाउने÷हटाउने भन्ने बहस जारी रह्यो । यस्तै अङ्ग्रेजी भाषाको एउटा मानक शब्दकोश प्रकाशक अक्सफोर्ड युनिभर्सिटी प्रेसले ‘वर्ष शब्द’ का रूपमा ‘ब्रेन रट’ शब्द प्रचलनमा ल्यायो । यस शब्दले विशेष गरी सामाजिक सञ्जालमा निम्न गुणस्तरी अर्थात् हल्काफुल्का सामग्री अत्यधिक हेर्दा मानव स्वास्थ्यमा यसले पार्ने असरबारेको चिन्तालाई जनाउँछ । ‘ब्रेन रट’ लाई व्यक्तिको मानसिक वा बौद्धिक अवस्थामा ह्रास आउने अवस्थाका रूपमा व्याख्या गरिएको छ । यस्तै सन् २०२४ को अन्त्यसम्म आइपुग्दा क्रिप्टोकरेन्सीको मूल्यले ऐतिहासिक विन्दु कायम गर्यो । यस वर्ष बिटक्वाइनको मूल्य एक लाख अमेरिकी डलर नाघ्यो । गत वर्षको तुलनामा बिटक्वाइनको मूल्य १२० प्रतिशत र इथरको मूल्य ५५ प्रतिशतभन्दा बढीले वृद्धि भयो ।
अन्तरिक्ष अन्वेषण
अन्तरिक्षको दौडले विगतमा जस्तै सन् २०२४ मा पनि निरन्तरता पायो । यस वर्ष अन्तरिक्ष अन्वेषणमा जापानले जनवरीमा चन्द्रमाको क्रेटरमा स्लिम (स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेसन दी मुन) अवतरण गरेर तीन महिनासम्म पृथ्वीमा तथ्याङ्क पठाउन सफल भयो । यस्तै चीनको एउटा अन्तरिक्ष अभियान चन्द्रमाको सबैभन्दा टाढा (सुदूर क्षेत्र) बाट माटोको नमुना लिएर फिर्ता भयो । मे ३ मा प्रक्षेपण गरिएको चाङ्गुअ सिक्स नाम दिइएको चिनियाँ अभियानले चन्द्रमाको ‘क्रेटर’ अर्थात् विशाल खाडलमा रहेका पुराना चट्टान र माटो सङ्कलन गर्यो । यस्तै नासाको पर्सिभेरेन्स रोभरले मङ्गल ग्रहमा सूक्ष्मजीवी (माइक्रोबियल) जीवनको सम्भावित प्रमाण फेला पार्यो । इयु–जापान अन्तरिक्ष अभियानले बुध ग्रहको दक्षिणी ध्रुवको तस्बिर लिन सफल भयो ।
एआईको विकास
सन् २०२४ को ठुलो फड्को कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास हो । सन् २०२२ बाट यात्रा सुरु गरेको एआई यस वर्ष कन्टेन्ट जेनेरेसन प्लाटफर्महरूमा मात्र सीमित रहेन; एआईको दैनिक प्रयोग बढ्दै जाँदा यो प्रविधिको नियमन, नियन्त्रण र विकासमा विश्व एक भयो । साथै च्याटजिपिटी जस्ता च्याटबट र मिड्जर्नी जस्ता इमेज जेनरेटरलगायतका विभिन्न क्षेत्रमा एआईको विकास भएको छ । सन् २०२४ को अन्त्यमा आइपुग्दा सूचना प्रविधि क्षेत्रका दिग्गज कम्पनी एप्पल, मेटा, गुगल, एक्स, अमेजनलगायतले पनि बिस्तारै आफ्ना उत्पादन र प्लाटफर्ममा एआईको प्रयोग, विकास र शोधलाई अघि बढाएका छन् । एआईको विश्व बजार सन् २०२४ मा आइपुग्दा १८४ अर्ब अमेरिकी डलर नाघ्यो । सन् २०२५ मा एआईको विश्व बजार २३६ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
निर्वाचन वर्ष
सन् २०२४ निर्वाचन वर्षका रूपमा परिचय बनायो । यस वर्ष विश्वका ६० भन्दा बढी देशका जनता प्रत्यक्ष रूपमा निर्वाचनमा भाग लिए । सन् २०२४ को सबैभन्दा चर्चित निर्वाचन अमेरिकाको भयो । यस निर्वाचनमा डोनाल्ड जोन ट्रम्प दोस्रो पटक पुनः अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभयो । बेलायतमा कन्जरभेटिभ पार्टीको १४ वर्ष लामो शासन अन्त्य गर्दै लेबर पार्टीले संसदमा सर्वाधिक विजय हासिल गर्यो । दक्षिण अफ्रिकी देश बोत्स्वानामा झन्डै ६० वर्षदेखि सत्तामा रहँदै आएको बोत्स्वाना डेमोक्रयाटिक पार्टीले पहिलो पटक सत्ता गुमायो । दक्षिण कोरियामा डेमोक्रयाटिक पार्टीले बहुमत पायो । यस्तै घाना, पनामा, पोर्चुगल, उरुग्वेलगायतका देशमा सत्तासीन दललाई पराजित गर्दै विपक्षी सत्तामा पुगे । साथै छिमेकी देश भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले निरन्तर तेस्रो कार्यकालका लागि विजय प्राप्त गरे पनि संसद्मा एकल बहुमत भने गुमायो ।