• २२ पुस २०८१, सोमबार

‘लेफ्ट साइड वाइडनिङ कन्सेप्ट’ कस्तो बन्दैछ गोरुसिङ्गे चन्द्रौटा सडक

blog

चन्द्रौटामा निर्माण हुने भियुपीको डिजाइन ।

जानु पाण्डे
कपिलवस्तु, पुस २० गते ।
सडक निर्माण गर्दा जनताले सास्ती नपाउन भन्ने उद्देश्यले गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड “लेफ्ट साइड वाइडनिङ कन्सेप्ट” मा डिजाइन गरिएको छ । बुटवल नारायणगढ सडक निर्माणमा स्थानीय जनता र यात्रुहरूले पाएको सास्ती हटाउन नेपालमा पहिलो पटक नयाँ कन्सेप्ट प्रयोग गरिने भएको छ । बुटवल गोरुसिङ्गे सडक खण्डमा पनि यही कन्सेप्ट प्रयोग गर्ने सोच रहेको छ ।

पहिला सबै भत्काएर सडक निर्माण गरिन्थ्याे । “लेफ्ट साइड वाइडनिङ कन्सेप्ट” मा हाल प्रयोगमा आएको सडकको वायाँ छेउ तर्फको सडक विस्तार हुनेछ । नयाँ बन्ने पुल पनि बायाँ तर्फ निर्माण हुने छ । बायाँ तर्फको निर्माण सकिए पछि हाल प्रयोगमा आएको सडक निर्माणको काम सञ्चालन हुने छ । सडक निर्माण अवधीमा हाल प्रयोग भएको सडकमा यातायात चल्ने छ । बायाँ साइडको सडक तयार भए पछि प्रयोग गरी दाँया तर्फ निर्माण हुने छ । जसले गर्दा सडक प्रयोगकर्तालाई सहज हुने विश्वास गरिएको छ ।

१९ किलोमिटर सडक स्तरोन्नती गर्न १० अर्ब लाग्ने अनुमान
पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुमा पर्ने सडक निर्माणमा १० अर्ब लागत लाग्ने अनुमान गरिएको छ । बुद्धभूमि नगरपालिका ९ पुलचोकदेखि शिवराज वडा नम्बर ६ उमरी चोकसम्मको १९ किलोमिटर सडक विश्व बैङ्कको ऋण सहयोगमा निर्माण हुन लागेको हो । उक्त सडकअन्तर्गत बजार क्षेत्रका ५ किमी सडक ६ लेन र अन्य क्षेत्र ४ लेनको हुने सडक आयोजना कार्यालयका इन्जिनियर जिगेश चौधरीले बताउनुभयो । सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइको बन्ने छ । सडक विस्तारका क्रममा १२ नयाँ पुल निर्माण हुने छ । ६० कल्भर्ट र ११ स्थानमा पाईप कल्भर्ट निर्माण हुने छ । सडकका दुवै छेउमा २.५ मिटरका पैदल मार्ग हुने छन् ।

ट्राफिक कन्ट्रोलका लागि मुख्य चोकमा भेइकुलर अन्डर पास
सवारी साधन र यात्रुको बढी चाप हुने स्थानमा भेइकुलर अन्डर पास निर्माण गर्ने योजना रहेको छ । यो खण्डमा शिवराज नगरपालिकाको चन्द्रौटा चोकमा २० मिटर चौडा र ८ सय मिटर लामो भियुपी निर्माण हुने छ । नेपाल भारत सिमामा पर्ने कृष्णनगर जाने सहायक मार्गमा भियुपी निर्माण गरिने छ । जसले सडकमा हुने दुर्घटना नियन्त्रण र ट्राफिक कन्ट्रोलमा सहज हुने छ ।

लामोदूरीका सवारी साधन भियुपीको माथिबाट पास गर्ने छन् । स्थानीय सवारी साधन भियुपीको भित्रबाट चल्ने छन् ।  भियुपीको दायाँ बायाँ २ ओटा प्रेडिस्टियल अन्डर पास  हुनेछ । यो मानिसहरू सडक आरपार गर्नका लागि डिजाइन गरिएको छ । ६ स्थानमा प्रेडिस्टिअल ओभर पास (आकाशे पुल) निर्माण गर्ने योजना रहेको छ ।

वन्यजन्तु र पशुचौपयाका लागि अन्डरपास निर्माण
सडक निर्माण गर्दा वन्यजन्तु र पर्यावरण मैत्री निमाण गरिने छ । वन्यजन्तु र स्थानीयले पालेका पशुचौपाया आउजाउ गर्नका लागि अन्डर पास निर्माण गरिनेछ । ठुला वन्यजन्तु पास हुनका लागि बेलगुर्दुवा र ज्वाइ खोलामा संरचना निर्माण गरिने छ । मझौला र साना वन्य जन्तु आउजाउ गर्न ६ वटा अन्डरपास निर्माण हुने छन् । सो क्षेत्रमा वन्यजन्तु र चरा चुरुङ्गीको अवस्था र विचरणको अध्ययन गरी अन्डरपास निर्माण गर्न लागिएको पन्छी विज्ञ कृष्ण भुसालले बताउनुभयो । एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारी साधन गुड्न सक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री बन्ने सार्वजनिक सुनुवाइ कार्यक्रममा जानकारी गराइएको छ । डिभाइडरमा फलफूलका बिरुवा लगाउने, सडक बत्ती जडान गर्ने तथा यात्रु प्रतीक्षालय, सवारी रोक्ने स्थल समेत निर्माण हुने छन् ।

उक्त आयोजना हाल डिजाइन फेजको चरणमा रहेको छ । प्रारम्भिक वातावरणीय प्रतिवेदनका लागि सार्वजनिक सुनुवाइ गर्ने, सडक निर्माणमा मासिने बोटबिरुवाको गणना अन्तिम चरणमा र वन्यजन्तु तथा चराचुरुङ्गीको अवस्था सर्वेको काम सकिएको वातावरणीय विज्ञ युवराज ढकालले बताउनुभयो । बुद्धभूमि र शिवराज नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

दक्षिण पूर्वी एसियामा द्रुत गतीको यातायातलाई प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको सडकले जिल्लाका उत्पादन, व्यापार, पर्यटनमा समेत टेवा पुग्ने विश्वास गरिएको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो ।