• १३ असोज २०८१, आइतबार

लिम्बुलाई शहीद घोषणा गर्न माग

blog

आज शुक्रबार विहान मृत्यु भएका बिराटनगर प्रदर्शनमा घाइते भएका पदम लिम्बु लाजेहाङ । तस्बिर : सचिन पोख्रेल

सचिन पोख्रेल

इटहरी, चैत १० गते । कोशी प्रदेश नामाङ्कन खारेजीको मागसहित पहिचानवादी समूहले गरेको विराटनगर प्रदर्शनमा घाइते भएका पदम लिम्बु लाजेहाङको शुक्रबार मृत्यु भएको छ । उहाँलाई शहीद घोषणा गर्नुपर्ने सङ्घर्ष समितिले माग गरेको छ । 

आज बिहान उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उहाँको मृत्यु भएको थियो । उहाँलाई शहीद घोषणा गरी प्रदेशको पुनः नामकरणको माग गर्ने निर्णय संयुक्त सङ्घर्ष समितिले गरेको छ । 

चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको लाठी प्रहारबाट गम्भीर घाइते हुनुभएका लिम्बुको प्रतिष्ठानको आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो । ४२ वर्षीय लिम्बु सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर हुनुहुन्थ्यो ।

आफूहरूले अगाडि सारेको माग राज्यले सम्बोधन नगरेसम्म मृतकको शव नबुझ्ने साथै आन्दोलन अगाडि बढाउने निर्णय समितिले गरेको छ । सङ्घर्ष समितिको शुक्रबार काठमाडौंमा बसेको आपतकालीन बैठकले सो निर्णय गरेको किरात याकथुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले जानकारी दिनुभयो । 

प्रदेशको नाम कोशी खारेज गरी पहिचानको आधारमा पुनः नामाङ्कनका लागि गरेको माग सम्बोधन नहुन्जेल तथा पदम लिम्बु लाजेहाङलाई राज्यले शहीद घोषणा गरी क्षतिपूर्ति नगरुन्जेल मृतकको शव जिम्मा नलिने निर्णय भएको उहाँको भनाइ छ । 

महासचिव तुम्बापोका अनुसार भोलि चैत ११ गते प्रदेशभरि केही घण्टा चक्काजाम गर्ने निर्णय पनि समितिले गरेको छ । यसैबीच, घट्नाको छानबिन गर्न आयोग गठनको मागसहित सङ्घर्ष समितिले संयुक्त राष्ट्रसङ्घ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको छ ।