• १३ साउन २०८१, आइतबार

मुख्यमन्त्री जम्कट्टेलले लिनुभयो दोस्रो पटक विश्वासको मत

blog

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रदेशसभा बैठकमा विश्वासको मत लिनुहुँदै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, चैत १० गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा नेकपा (माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

उहाँले राख्नुभएको प्रस्तावको पक्षमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले मत दिएका छन् । नेकपा (एमाले) र नेपाल मजदुर किसान पार्टीले विश्वासको मतका लागि राखिएको प्रस्तावको विपक्षमा मतदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी मतदानको क्रममा तटस्थ बसेको छ ।

यसअघि माओवादी केन्द्रको नेतृत्वमा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहित बनेको प्रदेश सरकारबाट राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुभएको हो ।

प्रदेश सरकारमा रहेका राप्रपाका तीन मन्त्रीले गत फागुन १३ गते मन्त्रीबाट राजीनामा दिएका थिए । प्रदेश सभाबाट बुधबार नै विश्वासको मत लिने समयसमेत निर्धारण भएकोमा नयाँ गठबन्धनमा रहेका दलबीचको असमझारीका कारण अन्तिम समयमा आएर मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रोकिएर आज शुक्रबारका लागि तय भएको थियो ।

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ६७ मत र विपक्षमा १७ मत परेको प्रदेश सभाका सभामुख भुवन पाठकले जानकारी दिनुभयो । यस्तै सात जना प्रदेश सभा सदस्य तटस्थ रहनुभयो । 

विश्वासको मत माथिको छलफलमा कांग्रेस संसदीय दलका नेता बहादुरसिह लामा तामाङ, एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धब थापा, नेकपा एकीकृत समाजवादीका राजेन्द्रमान श्रेष्ठ, नेमकिपाका सुरेद्रराज गोसाई र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले धारणा राख्नुभएको थियो ।

साथै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतको प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुभयो । मुख्यमन्त्री जम्कट्टेलले यसअघि गत माघ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो ।