• १३ असोज २०८१, आइतबार

सुरक्षित आप्रवासनबारे प्रहरीलाई अभिमुखीकरण

blog

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र प्रहरी कार्यालय सुनसरी प्रहरीहरु । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, चैत १० गते । वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने उद्देश्यले सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरीसँग अभिमुखीकरण कार्यक्रम गरेको छ । 

वैदेशिक रोजगारीसम्बन्धी समस्या, ठगी र उजुरीका विषयमा प्रहरीको भूमिकाबारे अन्तरक्रियासहित अभिमुखीकरण गरेको हो । अभिमुखीकरणमा सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी नायव उपरीक्षक राजकुमार राई, इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, सामीका प्रदेश कार्यक्रम अधिकृत देवनारायण चौधरी, सुनसरी संयोजक धिरज भट्टराई लगायतले प्रशिक्षण दिनुभयो ।

सुनसरीमा धरान र इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा सामी कार्यक्रम सञ्चालनमा रहेको सुनसरी संयोजक धिरज भट्टराईले जानकारी दिनुभयो । वैदेशिक रोजगारीसम्बन्धी समस्या, ठगी र उजुरीका विषयमा नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेकाले अभिमुखीकरण गरिएको बताउनुभयो ।

अभिमुखीकरणमा वैदेशिक रोजगारीको अवसर, चुनौतीसहित सामी कार्यक्रमको उपलब्धि, समस्या र समाधानका प्रयासबारे जानकारी गराएको थियो । प्रमुख जिल्ला अधिकारी पाण्डेले वैदेशिक रोजगारीसम्बन्धी थुप्रै समस्या रहेको बताउनुहुँदै सुनसरीबाट खाडीमुलुक मलेसिया, साउदी कतार जाने मानिसको सङ्ख्या तुलनात्मक रूपमा बढी रहेको बताउनुभयो ।