• १३ साउन २०८१, आइतबार

तुलसीपुर–नेपालगञ्जमा विद्युतीय गाडी सञ्चालन

blog

तुलसीपुर–नेपालगञ्ज चल्ने विद्युतीय गाडी । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, चैत १० गते ।
दाङको तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा विद्युतीय गाडी सञ्चालनमा आएको छ । जिल्लाको सबैभन्दा ठूलो र पुरानो त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले पहिलो पटक विद्युतीय गाडी पनि सञ्चालनमा ल्याएको हो ।

त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सरेश हमालले सार्वजनिक यातायातका क्षेत्रमा पहिलो पटक शुक्रबारदेखि विद्युतीय गाडीले सेवा दिन थालेको जानकारी दिनुभएको छ । अध्यक्ष हमालका अनुसार पहिलो चरणमा तुलसीपुरदेखि नेपालगञ्जसम्म सेवा प्रदान गर्नेछ ।

‘‘अहिले एउटा मात्रै गाडीबाट सेवा सुरुवात गरेका छौं,’’ अध्यक्ष हमालले भन्नुभयो, ‘‘यात्रुको चाहना अनुसार आगामी दिनमा गाडी थप गरेर सेवा दिनेछौ ।’’

१३ जना यात्रु क्षमता भएको उक्त गाडी वातावरणमैत्री छ । उक्त गाडीको भाडा पाँच सय रुपियाँ तय गरिएको छ । प्रालिले पहिलो पटक विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो । उक्त गाडी तुलसीपुरबाट बिहान ९ बजेर ५० मिनेटमा नेपालगञ्ज छुट्ने छ भने दिउँसो ३ बजे नेपालगञ्जबाट फर्किनेछ । गाडी धनी विमल पौडेलले धुवा मुक्त र इन्धन बचन हुने भएपछि उक्त गाडी सञ्चालनमा ल्याएको जानकारी दिनुभएको छ ।

‘‘इन्धन बाहिरबाट आउने भएकाले महँगी बढिरहन्छ । त्यसैमा कहिलेकाहीँ झन् नपाइने समस्या हुन्छ,’’उहाँले भन्नुभयो, ‘‘यी समस्यालाई मध्यनजर गर्दै विद्युतीय गाडी ल्याएका छौँ ।’’ व्यक्तिगत रुपमा विद्युतीय गाडी सञ्चालन भइरहे पनि सार्वजनिक गाडी भने जिल्लामा पहिलो पटक हो ।