• १३ असोज २०८१, आइतबार

हिमपातले चौँरीलाई सकस

blog

पाँचथरको फालेलुङ गाउँपालिका ४ फालौट क्षेत्रमा परेको हिउँ र चरिरहेका चौँरी । तस्बिर: गोरखापत्र

राधा लुइँटेल

फिदिम, चैत १० गते । लगातारको पानीसँगै परेको हिउँका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा याक, चौँरीलाई सकस भएको छ । सिक्किम र वेस्ट बङ्गालसँग सिमाना जोड्ने पाँचथरका उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । 

विगत वर्ष पुसदेखि फागुनभित्रै पर्याप्त हिउँ पर्ने गरे पनि यस वर्ष भने यहाँको फालौट, चारराते, सन्दकपुर, आहाल र नेपालटार लगायतका क्षेत्रमा ढिला गरी हिमपात भएको हो । चैत ६ गतेदेखि सुरु भएको हिमपात बिहीवार रातीसम्म पनि जारी रहेको फालेलुङका चौँरी पालक प्रमोद नेपालले बताउनुभयो ।

किसानले यो सिजनमा पर्ने हिउँलाई बेसिजन अर्थात् बेमौसमी भन्ने गरेका छन् । चौँरी गाईहरू ब्याउने र जमिन तात्न थाल्ने भएकाले फागुन १५ गते पछिको सिजनलाई बेसिजन भनिएको हो । हिमालमा परेको हिउँ पग्लने क्रम पनि जारी रहेकाले सीमावर्ती क्षेत्रमा उद्गम भएका हेँवा र इवा लगायतका खोलामा पानीको बहाव पनि बढेको छ । हिउँका कारण गोठ फर्किन नसकेका चौँरी खर्कमै ब्याउन थालेको पनि नेपालले बताउनुभयो ।