काठमाडौँ, चैत १० गते । दस वर्षयता नेपालमा डढेलो र मानवीय कारणले भएको आगलागीको क्षति अत्यधिक देखिएको छ। डढेलो र गैरप्राकृतिक आगलागीको बढ्दो घटनासँगै मानिसको ज्यान गएको मात्र होइन २०७२ सालको भूकम्पले पु-याएको क्षतिपछिको दोस्रो लहरको आर्थिक क्षति भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो।
२०७० सालयता १० वर्षको अवधिको डढेलो र गैरप्राकृतिक आगलागीको तुलनात्मक विश्लेषण गर्दै पोखरेलले भन्नुभयो, “२०७५ सालदेखि यताको क्षति अघिल्लो पाँच वर्षभन्दा झन्डै दोब्बरले बढेको छ।” यस वर्षको ११ महिनामा गैरप्राकृतिक आगलागीबाट १०२ जनाको ज्यान गएको छ भने ३५२ जना घाइते भएका छन्। २०७० सालमा आगलागीबाट ६० जनाको ज्यान गुमेको थियो। १० वर्षको अन्तरालमा मृत्यु हुनेको सङ्ख्या दोब्बर हुन लागेको अहिलेको तथ्याङ्कले देखाउँछ।
कुल दुई हजार ६१३ आगलागी भएका घटनाबाट झन्डै साढे २३ करोड रुपियाँ बराबरको आर्थिक नोक्सानी भएको छ। १० वर्षअघि करिब आठ सयवटा आगलागीका घटना हुने गरेका थिए। त्यस्तै डढेलोको १३४ घटना भएका छन्। जसमा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भए। डढेलोका कारण एक करोड ३५ लाख रुपियाँ बराबरको आर्थिक नोक्सानी भएको छ। डढेलोविज्ञ सुन्दर शर्माले भन्नुभयो, “बाहिरबाट देखिएको भौतिक क्षतिको विवरण यकिन भए पनि वनभित्र अमूल्य निधिका रूपमा रहेका वन्यजन्तु र पन्छीको कति विनाश भयो त्यसको लेखाजोखा छैन।”
सन् २००८ ताका एक हजार छ सय हाराहारी रहेको डढेलोका घटना दोब्बरले वृद्धि हुँदै सन् २०१२ मा साढे तीन हजारमाथि पुगेको थियो। त्यसपछि सन् २०१८ मा तीन हजार आसपासको डढेलो रेकर्ड भएको प्राधिकरणले उल्लेख गरेको छ। यस वर्ष डढेलोका घटनामा व्यापक वृद्धि भएको छ। लामो खडेरीका कारण बढेको डढेलोमा केही दिनको वर्षाले राहत दिए पनि अझै जेठसम्मको अवधि खतरायुक्त रहेको शर्माले बताउनुभयो।
दमकल कुर्नु पर्दैन
डढेलो र आगलागीका समस्या दिनानुदिन बढ्दै गर्दा निराकरणको चिन्ता पनि बढ्दो छ। आगलागी भएपछि हरेक मानिसले सम्झने पहिलो साधन दमकल नै हो तर त्यो समयमा र जहाँतहीँ उपलब्ध नहुने भएकाले क्षति उच्च हुने गरेको छ। बुद्धिमत्तापूर्वक प्रयोग गर्न जाने सामान्य पम्पको सहायताले पनि आगो निभाउन सकिने अभ्यास बिहीबार राजधानीमा गरियो। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको परिसरमा अग्निरक्षक समूहले सामान्य पम्पबाट डढेलो र गैरप्राकृतिक आगलागी कसरी नियन्त्रण गर्ने भनेर अभ्यास गरेरै देखाए।
पम्पले तानेको पानी फोहरायुक्त पाइपबाट करिब तीन तला माथिसम्म लागेको आगो निभाउन सक्ने अभ्यास गरेर प्राविधिकले देखाएका हुन्। प्रमुख पोखरेलले भन्नुभयो, “वनको डढेलो मात्र होइन, गुजुमुज्ज सहरका साँघुरा गल्लीका घरमा लागेको आगो पनि पम्पको सहायताले निभाउन सकिन्छ तर त्यसका लागि पानीको स्रोत नजिकै हुनुपर्छ।” घर वरपर रहेको ट्याङ्की र पोखरीको पानी पम्पबाट तानेर आगो निभाउन सकिने प्राधिकरणका सहसचिव अनिता निरौलाले जानकारी दिनुभयो।
उहाँका अनुसार ९० हजार रुपियाँको पम्प स्थानीय सरकारले सहजै जोहो गर्न सकिने भएकाले पनि यो सहज पहुँचमा छ। अझ यसमा सानो गल्ली र पहाडको भिरालो ठाउँसम्म एक किलोमिटरको दूरीसम्म पाइप लगेर आगो निभाउन सक्ने क्षमता रहने डढेलो विज्ञ शर्मा औँल्याउनुहुन्छ तर त्यसका लागि अग्निनियन्त्रक र स्वयंसेवकलाई आवश्यक प्रशिक्षण दिनुपर्ने हुन्छ।
यति बेला हावाहुरी, सुक्खा मौसमसँगै आगलागीको उच्च जोखिम छ। त्यस्ता क्षेत्र र त्यहाँका सामुदायिक वनका रक्षकलाई पम्प र अन्य सामान्य सामग्रीले आगो निभाउने कला सिकाउने सुरुवात प्राधिकरणले गरेको जनाएको छ। प्राधिकरणले उच्च प्रविधियुक्त फायर फाइटर हेलिकोप्टर र निजी हेलिकोप्टरबाट आगो निभाउन प्रयोग हुने प्रविधियुक्त सामग्री खरिद गर्न सरकारका उच्च निकायसँग पहल जारी राखेको छ।