संवेग जन्मजात आउने मानवीय गुण हो। संवेग भनेको खुसी, दुःख, डर, रिस, घृणा, आश्चर्य आदि मनोभावबाट उत्पन्न भएको प्रतिक्रिया हो। यो मुख्य गरेर मन र मस्तिष्कसँग सम्बन्धित हुन्छ । उदाहरणका लागि खुसी हुँदा मानिसले प्रसन्न मुद्रामा हाँसेर प्रतिक्रिया दिन्छ भने दुःखी हुँदा आँखाबाट आँसु खसालेर । यसैले डर, रिस, घृणा, आश्चर्य आदिको भावलाई मानिसले अवस्थाअनुसार प्रकट गर्छन् । यसर्थ, यी सबै मनोभाव संवेग हुन् ।
यसैगरी मानव जीवनको बाल्यावस्था र वयस्कबीचको एउटा सङ्क्रमणकालीन अवस्थालाई किशोरावस्था भनिन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार १० वर्षदेखि १९ वर्षसम्मको उमेरलाई किशोरावस्था भनिएको छ। यो उमेर समूहमा पर्ने बालबालिकामा बाल्य तथा वयस्क दुवै अवस्थामा हुने विशेषता पाइन्छ। यसैले शारीरिक रूपले वयस्कजस्तै देखिने र बानी व्यवहारमा बालापन रहिरहने भएकाले यस अवस्थाका संवेग पनि मिश्रित खालका हुन्छन्।
संवेगको आधारभूत तत्व
संवेगलाई विभिन्न विद्वान्ले धेरै प्रकारले विभाजन तथा परिभाषा गरेको पाइन्छ। यसै सन्दर्भमा प्रसिद्ध मनोवैज्ञानिक पावल इक्मेनले मानवीय संवेगलाई देहायका छ वटा आधारभूत तत्वमा विभाजन गरेको पाइन्छ –
खुसी : संवेगको सबैभन्दा महत्वपूर्ण भाग खुसी हो। सुखद अवसरबाट खुसीको भाव उत्पन्न हुन्छ। मुस्कान, हाँसो, अनुहारको भाव, हातको चाल, मधुर बोलीद्वारा खुसीको संवेगलाई देख्न सकिन्छ।
दुःख : दुःखको संवेग सबैभन्दा पीडादायी हुन्छ। आँसु निरासा पीडादायी अवस्था गम्भीर भावद्वारा दुःखको संवेगलाई बुझ्न सकिन्छ।
डर : युद्ध प्रकोप, आक्रमण, अमानवीय कार्यबाट डरको संवेग उत्पन्न हुन्छ। मुटु ढुकढुक हुनु, शरीर काँप्नु, स्वाँ स्वाँ हुनु, आँखा ठूलाठूला हुनु आदि डरसँग सम्बन्धित संवेग हुन्।
रिस : आफ्ना इच्छाविपरीतका क्रियाकलापबाट रिस उत्पन्न हुन्छ। रिसलाई हानिकारक संवेगका रूपमा लिइन्छ। चिच्याउनु, दाह्रा किट्नु, आँखा राता राता पार्नु, अश्लील शब्द बोल्नु आदि रिसँग सम्बन्धित संवेग हुन्।
घृणा : अरूले आफूप्रति नकारात्मक व्यवहार गर्दा घृणाको संवेग प्रकट हुन्छ। थुक्ने, गाली गर्ने, आँखा तर्ने, मुठ्ठी बटार्ने आदि सङ्केतद्वारा घृणाको भाव व्यक्त भएको पाइन्छ।
आश्चर्य : मन अचम्मित हुँदा आश्चर्यको संवेग उत्पन्न हुन्छ। खुसी दुःख तथा अचम्म पर्दा यस्तो संवेग देखा पर्छ।
किशोरावस्था भनेको शारीरिक तथा मानसिक रूपले परिवर्तन हुने उमेर हो। किशोरावस्थामा शरीरको उचाइ बढ्छ। यसैगरी शरीरका केही अङ्गमा परिवर्तनको लक्षण देखिन्छ। मन तथा मस्तिष्क पनि परिवर्तन हुन्छ। यो शारीरिक तथा मानसिक रूपमा व्यापक परिवर्तन आउने भएकाले यो उमेरलाई ‘आँधी वा तुफान’ को अवस्था भनेर पनि चिनिन्छ।
संवेगका किसिम
किशोरावस्थाको संवेगलाई मूलतः दुई भागमा बाँड्न सकिन्छ। सकारात्मक र नकारात्मक संवेग। सकारात्मक संवेगमा हर्ष, खुसी, आश्चर्य, सन्तुष्टि, मुस्कान, प्रशंसा आदि हुन्छ भने नकारात्मक संवेगमा रिस, ईश्र्या, घमण्ड, डर, चिन्ता, असन्तुष्टि, लज्जा, निरासाजस्ता कार्य रहेका छन्।
सकारात्मक संवेगले जीवनमा असल परिवर्तन ल्याउँछ भने नकारात्मक संवेगले मानव जीवनमा खराब असर गर्छ। अभिभावकको तुलनामा किशोर किशोरीमा सकारात्मक तथा नकारात्मक दुवै संवेग उच्चतम तहमा रहेका हुन्छन्। किशोरावस्थामा पहिलो चरणमा बढी नकारात्मक संवेग देखापर्ने भए पनि उमेर बढ्दै जाँदा यस्ता संवेग कम भएर जान्छ। किशोर किशोरीले संवेग व्यवस्थापनका लागि एउटा स्थायी प्रकारको सहपाठी बनाउने गर्छन्। यस्ता सहपाठी समूहले अस्वीकार गरेमा किशोर किशोरीले विद्यालय छाड्ने, खराब कार्य गर्ने जस्तो कि कुलतमा फस्ने सम्भावना पनि बढी हुन्छ। यस्ता व्यवहारलाई नकारात्मक संवेग भनिन्छ। यसैले सकारात्मक प्रकारको सहपाठीको सम्बन्धले मात्र किशोर किशोरीको संवेगात्मक स्वास्थ्य विकास गर्न सहयोग पु¥याउँछ। यसर्थ, अभिभावकले सकारात्मक कार्यतर्फ प्रेरित गर्न जोड दिनुपर्छ।
किशोरावस्थामा संवेग नियन्त्रणका लागि अभिभावक तथा शिक्षकको पनि महìवपूर्ण भूमिका रहेको हुन्छ। किशोर किशोरीलाई राम्ररी सम्झाउने उचित परामर्श दिने गर्नुपर्छ। यसैगरी अभिभावक तथा शिक्षक शिक्षिकाले उनीहरूको उज्वल भविष्यका लागि कार्य गर्ने हुनाले उनीहरूसँग समधुर सम्बन्ध राख्नुपर्छ। किशोर किशोरीले अभिभावक तथा शिक्षकसँग आफ्ना समस्या तथा संवेग आदानप्रदान गर्दा आवश्यक परामर्श र सल्लाह सुझाव दिने गर्नुपर्छ।
संवेग व्यवस्थापन
संक्षेपमा कुरा गर्दा संवेग व्यवस्थापन भनेको आफ्नो उत्तेजक गतिविधिलाई नियन्त्रण गर्नु हो। रिस, घमण्ड, ईश्र्या, लोभ, डर, चिन्ता, निरासाजस्ता नकारात्मक संवेगलाई हटाउने प्रयास नै संवेग व्यवस्थापन हो। किशोरावस्थाको संवेग व्यवस्थापन अरू कसैले गरिदिएर हुँदैन। यसका लागि किशोर किशोरी आफैँ सचेत भई विभिन्न उपाय अपनाउनुपर्छ। ती उपाय निम्न रहेका छन्–
भावना साटासाट गर्ने : कुनै कारणले आफ्नो मनमा डर, चिन्ताजस्ता संवेग उत्पन्न हुन्छन्। यस्ता संवेग समाधान गर्न परिवारका सदस्य, शिक्षक, आफन्त र आफ्ना मिल्ने साथीसँग आफ्नो समस्या व्यक्त गर्नुपर्छ।
सिर्जनात्मक कार्यमा व्यस्त रहने : फुर्सदको समयलाई खेलकुद, साहित्य, सङ्गीतजस्ता कुरामा लगाउनुपर्छ। सिर्जनात्मक कार्यमा व्यस्त रहँदा मनमा खराब भावनाले बास गर्न पाउँदैन र सिर्जनात्मक कार्यले आफ्नो सफलतामा ऊर्जा भर्ने काम गरेको हुन्छ।
योग तथा ध्यान गर्ने : योग तथा ध्यान गर्ने बानीले हाम्रो शरीरमा सकारात्मक ऊर्जा पैदा हुन्छ। यस्तो कार्यले असल सोचमा वृद्धि हुनुका साथै दिमाग ताजा र मन ऊर्जावान् हुन्छ।
समूहमा घुलमिल हुने : नकारात्मक संवेग उत्पन्न भएको समयमा एक्लै बस्न मन लाग्छ, यस्तो कार्य स्वास्थ्यका लागि हानिकारक मानिन्छ। त्यसैले परिवार, आफन्त तथा साथीभाइको समूहमा बस्ने बानी बसाउनुपर्छ। समूहमा बस्ने, सामूहिक कार्यमा जुट्ने, गफ गर्ने, सिर्जनात्मक कार्य गर्ने कुरामा विशेष ध्यान दिनुपर्छ।
सत्य र न्यायको पक्षमा आवास उठाउने : हेपाइ, भेदभाव तथा यौनजन्य क्रियाकलाप गर्न वाध्य बनाएको अवस्थामा यस्ता अमानवीय कार्य सहेर बस्नु हुँदैन। यस्ता अमानवीय कार्य आफू तथा अरूमाथि पर्न गएमा त्यसको विरुद्ध सत्य र न्यायको पक्षमा आवाज उठाउनुपर्छ। किशोरावस्थामा हुने संवेग र व्यवस्थापनका लागि सरोकारवाला सबैले ध्यान दिनुपर्छ। यसमा पनि मुख्य गरेर घर–परिवारका सदस्य, अभिभावक, शिक्षक र समुदायले समेत उचित ध्यान दिनुपर्ने अवस्था रहन्छ । साथै, किशोर किशोरीले पनि अरूको कुरा तथा लहलहैमा लाग्ने बानीलाई छोडी आफ्नो भविष्यको निमित्त परिवार, अभिभावक तथा शिक्षकका कुरालाई आत्मासात् गर्नुपर्छ। यसो गरेमा सबैको हित हुने अवस्था एकतर्फ रहन्छ भने अर्कोतर्फ आफ्नो भविष्य पनि उज्ज्वल बनाउन सकिन्छ।
– लेखक रत्नराज्य माध्यमिक विद्यालय बानेश्वरमा शिक्षिका हुनुहुन्छ।