काठमाडौँ, चैत ७ गते । नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’को १५ दिनको कार्यशाला सोमबार सकिएको छ । कार्यशालामा दयाहाङ राई, कार्म, मिरुना मगर, शिशिर वाङ्देल, बुद्धि तामाङ, अङ्कित खड्का, रवीन्द्र झालगायतका कलाकारले भाग लिनुभएको थियो ।
सो क्रममा निर्देशन, उत्पादन, छायाङ्कन र वेशभूषा समूहका प्राविधिक/कलाकारसँग अलग–अलग रूपमा कार्यशाला गरिएको थियो । कलाकारलाई पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य तथ्य संरचनाका विषयमा जानकारी गराउन कार्यशाला गरिएको सो चलचित्रका निर्देशक दीपेन्द्र लामाले बताउनुभयो ।
यसअघि तीनवटा चलचित्रको निर्देशन गरिसक्नुभएका निर्देशक लामाले घनीभूत रूपमा गरिएको कार्यशालाबाट सबै पक्षलाई फाइदा पुग्ने विश्वास आफूले लिएको बताउनुभयो । हिमाल शर्माको निर्माणमा बन्न लागेको चलचित्र चैत १० गतेबाट छायाङ्कनमा जाँदैछ ।