• १३ असोज २०८१, आइतबार

इलामका चार क्याम्पसमा स्ववियु अध्यक्षमा अनेरास्ववियु निर्वाचित

blog

निर्वाचित भएपछि मरव क्याम्पस इलाममा अध्यक्ष दर्शनलाई अबिर लगाउँदै ।

कोकिला ढकाल 

इलाम, चैत ६ गते । हिजो सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा इलामका चार क्याम्पसमा नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष निर्वाचित भएका छन् । त्रिविअन्तर्गत रहेका इलामस्थित महेन्द्ररत्न बहुुमुखी क्याम्पस अनेरास्ववियुका दर्शन राई र देउमाई नगरपालिकास्थित मङ्गलबारे बहुमुखी क्याम्पसमा फुर्वा तामाङ अध्यक्ष निर्वाचित अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यस्तै, फाकफोकथुमको एकतप्पा बहुमुखी क्याम्पस अनेरास्ववियुकी प्रतीक्षा खनाल र माई नगरपालिकाको गरुवा बहुमुखी क्याम्पसमा भने अनेरास्ववियुका गोपाल आचार्य निर्विरोध निर्वाचित हुनुभयो ।

महेन्द्ररत्नमा अनेरास्ववियु, नेकपा (माओवादी केन्द्र)निकट अनेरास्ववियु (क्रान्तिकारी) र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको स्वतन्त्र प्यानल नै विजयी भएको छ । अध्यक्षमा अनेरास्ववियुका राईसँगै सचिवमा अनेरास्ववियु (क्रान्तिकारी)का राजेन्द्र लोहार र कोषाध्यक्षमा अनेरास्ववियुका विशाल कार्की निर्वाचित हुनुभएको छ । सदस्यहरूमा शम्भु राई, मनीषा दुलाल, गोपीराज लिम्बू, ज्ञानेन्द्र चापागाईं, पुष्कर बोहोरा, उज्ज्वल पौडेल र बबिता खनाल निर्वाचित हुनुभएको छ ।

मङ्गलबारे क्याम्पसमा अनेरास्ववियुका अध्यक्ष तामाङसहित सचिवमा पनि अनेरास्ववियुकै रुद्रप्रसाद पौडेल र कोषाध्यक्षमा अनेरास्ववियु (क्रान्तिकारी)का विशाल तामाङ निर्वाचित हुनुभयो । सदस्यहरूमा केशव निरौला, सलिना श्रेष्ठ, मनीषा बमजन,  प्रकाश चौलागाईं र प्रवीण बाँस्तोला  विजयी हुनुभएको छ  । 

यस्तै, एकतप्पा बहुमुखी क्याम्पसमा भने विद्यार्थी सङ्गठनबीच सहमतिमा नेतृत्व टुङ्गो लागेको छ । स्ववियु अध्यक्षमा अनेरास्ववियुकी प्रतीक्षा खनाल, उपाध्यक्षमा नेविसङ्घकी आइस्मा खड्का, सचिवमा नेविसङ्घका भविन्द्र श्रेष्ठ, सहसचिवमा नेविसङ्घकै निशा बजगाईं तथा कोषाध्यक्षमा नेविसङ्घकी डम्बरकुमारी श्रेष्ठ चयन हुनुभएको छ  । सदस्यहरूमा राम शर्मा, रञ्जना थापा, इन्दिरा बस्नेत, रोहन परियार र सरु दियाली चयन भएको बताइएको छ । 

उता माई नगरस्थित गरुवा क्याम्पसको स्ववियुमा आचार्य अध्यक्षसहित उपाध्यक्षमा अनेरास्ववियुकै सुमन पाण्डे चयन हुनुभयो भने सचिवमा नेविसङ्घका चेतन कार्की चयन हुनुभएको छ । यस क्याम्पसमा पनि विद्यार्थी सङ्गठनबीच भएको सहमति अनुसार सहसचिवमा क्रान्तिकारीकी जेनिका राई र कोषाध्यक्षमा नेविसङ्घकी शान्ता गिरी चुनिनुभयो । 

सदस्यहरूमा छत्रकुमारी लिम्बू, मनिमाया तामाङ, मनोज थापा, अञ्जना सिन्च्युरी, समीक्षा भारती, मिलन लिम्बू चयन भएको बताइएको छ ।