• १३ साउन २०८१, आइतबार

मर्मत अभावले लघु जलविद्युत् आयोजना कवाडी बन्दै

blog

छायाँनाथ रारा नगरपालिका वडा नं ६ खिरिँया खोला जलविद्युत् मर्मत अभावमा प्रयोगविहीन । तस्बिर: हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, चैत ६ गते । कुनै समय मुगुलाई उज्यालो बनाएकोलघु जलविद्युत् आयोजना पेल्ट्रिक सेट मर्मत अभावले कवाडी बन्दै गएको छ । जिल्लामा विद्युतकाे माग थेगेको यहाँका चार वटै आयोजना अहिले काम दिने अवस्थामा छैन । 

टर्वाइन बिग्रिएपछि मर्मत सम्भार र पुनः निर्माण हुन सकेको छैन । तत्कालीन जिल्ला विकास समितिको कार्यालय मातहत पर्ने दुर्गम विकास क्षेत्रले निर्माण गरेको आयोजना हाल मर्मतमा कसैले पनि चासो देखाएका छैनन् । 

२०५४ सालमा साबिकको पिना गाविस वडा नं ६ कोटिला गाउँमा, रोवा गाविस वडा नं ३ जिउँला गाउँमा, खत्याडखोलाको गम्था गाबिस वडा नं ७ त्यसै गरी कराँनखोलाको माँग्री गाविस वडा नं ४ मा निर्माण भएको थियो । हाल कुनै पनि काम लाग्ने अवस्थामा छैन । 

२०५५ सालबाट सञ्चालनमा आएको यो लघु जलविद्युत पेल्ट्रिक सेट(टर्वाइन) हाल काम मर्मत अभावले चल्न सकेको छैन तर थोरै लगानी गरे अझै अन्य संरचना काम लाग्ने  प्राविधिक विष्णुभक्त हितानले बताउनुभयो ।  

जिल्लाका यी  चार वटा जलविद्युत् योजनामध्ये तीन वटा योजना कोटिला खिरिँया जलविद्युत , रोवाखोला जलविद्युत र गम्था जलविद्युत  एक वर्षसम्म उपभोक्ताले उपयोग गरे पनि संरक्षण गर्न नसक्दा बन्द भएको छ । साबिकको काराँन भेगको मह र माँग्री गाउँको  च्याप्ने गाड जलविद्युत् आयोजनाको बर्सातको समयमा हरेक वर्ष मुहान बाढीले बगाउने भएकाले उक्त योजना सञ्चालनमा नआएको हितानको भनाइ छ । यता साबिकको रोवा गाविस वडा नं १० का स्थानीय जिपबहादुर बुढाले जलविद्युत् पेल्ट्रिक सेटबाट उत्पादन राम्रो नहँदा बेलाबखत समस्या आउने गरेको र बनाउन प्राविधिक आउजाउमा धेरै समस्या आउने भएकाले मर्मत सम्भारमा कठिनाइ भएपछि सञ्चालनमा नआएको बताउनुहुन्छ । 

२० लाख लगानीमा खिरिया खोला जलविद्युतकाे २५ किलोवाट, ३० लाख लगानीमा रोवा गाविस वडा नं ३ को रोवा जलविद्युत, ३० लाख लगानीमा ३० किलोवाट र गम्थाखोला जलविद्युतमा २० लाख लगानीमा  १८ किलोवाट विद्युत् उत्पादन भएको थियो ।