• ९ पुस २०८१, मङ्गलबार

वडाका बालबालिका विद्यालयभित्रै

blog

जुम्ला समाचारदाता

जुम्ला, चैत ५ गते । यहाँको हिमा गाउँपालिका–५ मा सबै बालबालिका विद्यालयको पहुँचमा पुगेका छन्। वडाले घरधुरी सर्वेक्षण गरेर सबै घरमा रहेका बालबालिका विद्यालयको पहुँचमा पुगेका र कोही पनि पढ्ने उमेरका बालबालिका विद्यालयबाहिर नरहेको भन्दै ‘विद्यालयबाहिर बालबालिकाविहीन वडा’ घोषणा गरेको हो। 

शुक्रबार यहाँको रूपाकोट आधारभूत विद्यालयमा बृहत् घोषणा कार्यक्रम गरेर वडा नं. ५ मा कोही पनि बालबालिका विद्यालयबाहिर नरहेको घोषणा गरिएको छ। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले वडाका ३३५ घरधुरीका ९१३ बालबालिका विद्यालयको पहुँचमा पुगेको तथ्याङ्कसहितको प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। 

उहाँले चार वर्षदेखि १६ वर्षका विद्यालयको पहुँचमा रहेका बालबालिकालाई अब कसरी टिकाइराख्ने सो विषयमा जोड दिइने जनाउनुभयो। 

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले हिमा गाउँपालिकाको सो वडाले जिल्लाकै नमुनायोग्य काम गरेकोले अन्य पनि सिक्न आवश्यक रहेको बताउनुभयो। उहाँले अहिले पनि बालबालिका विद्यालयबाहिर रहनुहुँदैन भन्ने सन्देश वडा नं. ५ ले दिएको र दिगो रूपमा टिकाइराख्न सबैको पहल हुनुपर्नेमा जोड दिनुभयो। 

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले पालिकाले जिल्लालाई नै सन्देश दिएको बताउनुभयो। गाउँपालिका शिक्षा शाखा प्रमुख दन्तबहादुर रावतका अनुसार यस वडामा रहेका ३३५ घरधुरीका ९१३ बालबालिका अहिले विद्यालयको पहुँचमा छन्। उहाँले बुअ गाउँका २१० घरधुरीका ६३० बालबालिका र बाजागाडा गाउँका १२५ घरधुरीका २८३ बालबालिका विद्यालयको पहुँचमा पुगेको बताउनुभयो। विद्यालयमा भर्ना भएका ९१३ बालबालिकामध्ये ५४० जना छात्रा छन्।