• २५ वैशाख २०८१, मङ्गलबार

रोड रेसमा मुकेश र राजपुरा पहिलो

blog

दौडको खुलातर्फ पहिलो भएका मुकेशबहादुर पाल (बायाँ) र राजपुरा पछाईं । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत ४ गते । नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राजपुरा पछाईं तेस्रो मदन भण्डारी स्मृति ५ किमी रोड रेसमा शनिबार पहिलो हुनुभएको छ । खुलातर्फ पुरुषमा मुकेश र महिलामा राजपुरा पहिलो हुनुभएको हो । 

रन क्लब नेपालद्वारा आयोजित दौडमा मुकेशले निर्धारित दूरी १५ मिनेट २२.९ सेकेन्डमा पूरा गर्नुभयो । आर्मीकै सञ्जय श्रेष्ठ दोस्रो तथा गजेन्द्र राई तेस्रो हुनुभयो । निर्धारित दूरी तय गर्न सञ्जयले १५ मिनेट २७.५ सेकेन्ड तथा गजेन्द्रले १५ मिनेट ३१.९ सेकेन्ड समय खर्चे ।

राजपुराले शीर्ष स्थान हात पार्ने क्रममा १८ मिनेट १६.२ सेकेन्ड समय निकालिन् । दोस्रो भएकी प्रहरीकै राममाया बुढाले १८ मिनेट १६.५१ सेकेन्डमा दौड सकाइन् । तेस्रो स्थानकी आर्मीकी पुरनलक्ष्मी न्यौपानेको टाइमिङ १८ मिनेट १७.०५ सेकेन्ड रह्यो । पुरुष÷महिलामा शीर्षतीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र आड हजार रुपियाँ पुरस्कार पाए । 

स्कुलतर्फ छात्रमा विकेश घिमिरे पहिलो तथा नवराज गुरुङ दोस्रो हुनुभयो । सो स्पर्धाको छात्रामा सोनु घतानीले स्वर्ण, पूर्णिमा श्रेष्ठले रजत तथा जेशिका महर्जनले कांस्य जित्नुभयो । छात्र/छात्रामा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । दौडमा २ सय प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।