युवराज नयाँघरे
“हाउ, धान पो काट्नु थियो मेरो त दाजु !” भाइ कान्छाले यसै भने ।
उनका कुरा ठीकै थिए । तर यै समयको मेलो मिलाएर चुलाचुलीको फेदी आइपुगेथेँ म । दमकको तातो घामसँगै धान खुर्रिन थालेको थियो । हप्ता दिनभित्रै नकाटे बाला झर्ने तम्तयारीमा थिए– धानका ।
“भोलिलाई चैँ मैले एक दिन मागेँ । जाम्–जाम् भाइ । मास्तिर पुगेर आउँदा पाक्न बाँकी धान पनि पाकिसक्छ,” खनखन गर्न छोडिनँ ।
त्यसपछि अर्को दिनको बिहानै लागेथ्यौँ धनकुटे कान्छा र म ।
भाइ र म भाङबारीबाट पूर्वतिर लाग्दा पहेँलपुर धानले स्वागत गरिहाल्यो । गरासमेत छोपिएका धानबारीको उज्यालोमा एकछिन आँखा धोएँ, मुख धोएँ, मन धोएँ । धुकधुकीका पत्रपत्रमा अल्झेका कसिङ्गर पखालेर सुकिल्याएँ ।
रतुवा पुल बनेको रहेछ भर्खरै । कुनै बेला यो भेग हरेक कुराले सेपमा परेथ्यो । हिजोआज निकै परिवर्तन भएको लाग्दै छ मलाई ।
इमानसिंह चेम्जोङको सालिक देखियो । आदर र सम्मानका भाव उदाए छातीभरि । साहित्य र संस्कृतिका निम्ति उनको असिनपसिन निकै श्रद्धा गर्नलायक छ । सालिक नाघिसक्दा शिरिजङ्घा चोक टुप्लुकियो । यी दुवै किराँत सभ्यतालाई उचाइ दिने तपस्वी हुन् ।
त्यसपछि पूर्वतिर बेगियौँ हामी । बाटोका दायाँबायाँ एकनासे घर र धानबारीसँग जोडिन्छ मन । फेरि चुँडिएको मन लिएर वेग घटेको छैन । झन्–झन् बढेको छ हाम्रो ।
०००
दमक मास्तिरको पहाडको सोतो तल–तल आएको छ । हरिया चुलीहरूमा धाँजा फाटेको देख्न पाइन्छ । चुचुरा धसिएर बीच–बीचमा सेता धर्सा जताततै देखिन्थे ।
“हामी कता पो जाँदै छौँ भाइ ?”
“पेल्टीमारी दाइ,” कान्छाको उत्तर आयो ।
सुपारीका सुरिला रुख बाटो तल र माथि बाक्लै देख्छु । नरिवलका अग्ला रुखहरूले गाउँ सितलु लाग्छ । आँखाले नभ्याउने धानबारीले मनभरि अन्नको ऐश्वर्य थपक्क–थपक्क सजाएको लाग्दै छ ।
“अनि झापा छोडियो त ?” उत्तर लागेको बाटो मोडिएर सानो गोरेटोतिर बेगिँदा सोधेँ ।
घ्याच्च रोके भटभटे र बोले कान्छा, “इलाम टेकिसक्यौँ हामीले ।”
घाँसे गोरेटो थियो । गोरेटोका देब्रे–दाहिने सिमल तरुलका सुरिला बोट झरिझट्टै थिए हरिया पातैपातले । ओहो ! राम्रै खेती पो रहेछ– सिमल तरुलको ।
“जरा खाए बाँचिने, पात खाए मरिने । के गजबको यो फल है,” मैले सिमल तरुलका बोट देखाएर भनेँ ।
बाटो नापिरहँदा कोदोका बाला हरियोबाट पहेँलिन थालेथे । घामको किरण बालामा छरिएर बचेको रूप भुइँतिर पोखिएको देखिन्थ्यो । यी रूपौला छायाँ नियालिरहेको थिएँ ।
घरहरू फाट्टफुट्ट आइरहेथे । आँगनमा बसेर गुन्द्रुक हाल्ने, सिन्की खाँद्ने र रायोका पात धोएर सुकाउने गाउँलेहरूको ध्यान भङ्ग पाथ्र्यौं बेला–बेलामा हामी ।
“मास्तिर जान खोजेको काका ! ठीक त छ नि बाटो ?” भाइले सोधे ।
“हाउ, ठीकै पो होला । तीन बर्खअघि यतैबाट गाकी म । अहिले सुन्छु, अर्को बाटो पनि बनेको छ रे,” बूढीले भनिन् ।
एकछिन उभियौँ हामी । मैले अलिक तलसम्म फैलिएको पेल्टीमारी हेरेँ । कुनै बेलाको अत्यन्तै काँठ, विकट र पहाडमुन्तिरको कछाड भनेर चिनिएको थियो– पेल्टीमारी । अहिले उन्नत खेती, बाटोघाटो र उज्याला घरका ताँती देख्दा अचम्मले आँखा कुदिरहेथे फरफर ।
“पेल्टीमारी फेरिएको छ । अहिले त आइतबारे नाउँ पायो यसले,” बाक्ला घरहरूमा सहकारी, बैङ्क, स्कुल, साना किसान, क्याफे र रेस्टुराँका बोर्ड देखाए भाइले ।
“कान्छा भाइ, खास पेल्टीमारी यै हो त ?”
“हो दाइ । यै हो । रङरोगन घसेर बसेको पेल्टीमारी यै हो,” कान्छा यति भनेर मस्तले हाँसे ।
कुनै बेला खुबै पानीको दुःख थियो यहाँ । माटोका काम गर्ने कुमालहरूको बस्तीका रूपमा परिचित थियो– पेल्टीमारी । पछि राई, लिम्बूको समाज खुबै बढ्यो । तल दमकतिरकाले भीडभाड खप्न नसकेपछि पेल्टीमारीको खुला, चकमन्न र हरियाली मन पराउन यतातिर पाइला सारेको सुनिन्थ्यो । अचेल त दमकभन्दा पनि पेल्टीमारी उकुसमुकुसिएको पो हुन थालेछ ।
०००
पुराना नाम फेरिने क्रम चर्को छ यता पनि । त्यसको छनक मैले पाएँ । ‘सेल्फी बार’को सूचना पाटीले बिझाएको आँखा फन्कियो । नरेन्द्र केरुङको घरमा भटभटे थन्क्यायौँ ।
“हाउ, के कसो छ नि बोजू ?” कान्छाले खै–खबरी गरे पानी खुवाउने बूढीआमालाई ।
“जाती । एकदमै जाती । घुनपुतली लागेको छैन । अहिलेसम्म आँतले मागेर, दाँतले टोकेर दिइरहेकै छु म परानलाई ।”
बज्यैले चस्मा मास्तिर सारेर भनिन्, “चिन्दुम् न हौ हामी त ।”
“उहाँ साइँलो, म कान्छो,” उनी बोले । “अहिले त दुवै दमके,” अनि मस्तले हाँसे ।
कान्छाले फकाएर बोजूलाई भने, “साकेला सिली गाउनु न ।”
बोजूलाई मैले नि जोस्याएँ । उनले गाइन्–
निनाम्मा हेन्खामस ढोगेर
सुप्लुलुङ, सम्खा ढोगेर
बेछुक, दी, आराखा चढायौँ
सोइ–सोइला है हुर्रा हा हा ।
सुम्निमा, पारुहाङ सेवामुना
हेछाकुपा, तायामा, खियामा सेवामुना
रङरिवा, तावा बानानिन
आन्काओ निनाम्मा खानामिन
सोइ–सोइला है हुर्रा हा हा
सिन्कौली सेउली सेलेले
नाचिमा जाऔँन पेलेले
सोइ–सोइला है हुर्रा हा हा ।
वरपरका जङ्गलको पवित्र वायु उनका फोक्सोभरि कुद्यो । म पनि शिव ओरकको चोखो हावाले ज्यानमा जोस, आँट र ऊर्जा भरिरहेथेँ ।
शिव ओरकमा पानीको व्यवस्था भएको भर्खर–भर्खर हो रे । लिम्बूहरू पानीलाई ओरक भन्छन् । भगवान् शिवले यो भेगमा जपतप गरेको र जल संसार बनाएको एउटा अटल विश्वास हरेकका मुखमा रहेछ ।
छ÷सातवटा पानीका रसिला दह रहेछन् यहाँ । भगवान् शिवलाई किरातहरू पारुहाङ भन्छन् । त्यही पारुहाङकै कृपाले यो भेगमा पानी रसाएको मान्नेहरू पनि भेटिए ।
०००
बाटो चुलाचुलीतिर उक्लियो । हरियो जङ्गलभित्र भित्रिन पाउँदा शरीरमा एकाएक चम्कियो बिजुली । पलाँस, कटुस, राजवृक्ष, भलायो, कुटमिरो, चिमालका पोथ्रासँग भेट हुँदा मनभरि हरियाली पोतियो ।
“यो थाकल हो नि दाइ,” मैले सुपारीपाते पोथ्रा देखाउँदा कान्छाले चिनाए । “आमबारीका सन्थालले चकटी बुन्ने पात यै हो,” केदार काकाले भनेको सम्झिएँ ।
बाटो जङ्गलतिर रमाई–रमाई गयो । बाँस, निगालो र थाकलका घारी मनग्गे देखिए । साल, भलायो र टाँकीका बुट्यान पनि खुबै देखिए ।
भाइले भोर्लाका बडे–बडे पात गाँसेर टपरे टोपी बनाइदिए । “सिन्का गतिला भएनन् दाइ । केही छिनको घाम छेल्छ ।” टपरे टोपी लगाएँ ।
०००
बाटो घुमेर वनैवन गयो । हामी सुस्तायौँ चौरमा लमतन्निएर ।
जङ्गलमा फाट्टफुट्ट मुजुर देखिए । एक दुई ठाउँमा प्वाँख भेटेपछि मैले सोधेँ, “कति जति होलान् ?”
“यकिन तथ्याङ्क त नहोला तर मनग्गे छन् मुजुर,” भाइको उत्तर सुनेँ ।
अघि तलको खोल्सो नाघेर मास्तिर लाग्दा धानका बिटा कसिरहेका कृष्ण राईले भनेथे, “हाऊ, धान खाएर सखापै पार्छ नि मयूरले यतातिर त ।”
“आजु, चाइनो जो दुःखैदुःखमा पो छुम् हामी त,” राईले भनेको यतिखेर सम्झेँ ।
सिम र दह नाघेर हामी पारि उक्लेका थियौँ । बाटो सोध्दै खोज्दै पुगिएछ– गोपीचन्द्र राईको घरमा । आँगनमा मुडा, भकारी र डोको बुनिरहेका गोपी र उनकी परान थिइन्– सुकरानी राई । हामीले पानी माग्यौँ र तिर्सना मेट्यौँ । केही गफगाफ भए । कुराले तान्दै–तान्दै अलिक पर पु¥याएछ ।
“हाउ, काँसम्म नि ?” गोपीले सोधे ।
“झन्डे डाँडासम्म,” उत्तर थियो भाइको ।
बाँदरले निकै दुःख दिने सुकरानीले बताइन् । लुइँचे र कालिजले बाटै छेकेको कुरा नि सुनाइन् । “हाम्रा भुराले लुइँचेका डिम्मा कति ल्याउँछन् कति ?” सुकरानीका कुरा सुनिरहेँ ।
मास्तिरको जङ्गलतिर पस्नै लाग्दा फर्केर आँगनमा उभिएँ ।
“कति घर छन् यहाँ ?” सोधेँ ।
गोपीचन्द्रले औँला भाँचे, “जन्तरे, काइँला, सानु, आइता, भुन्टी, साधु माइला । जम्मा छ घर छुम हामेरु ।”
०००
त्यसपछि भाइ र म उकालो लाग्यौँ । फस्के माटो र पोथ्रैपोथ्राले गोरेटो ढाकिएथ्यो । ठाउँ–ठाउँमा काँडे लहराले अल्झाउँथ्यो । बाँस, सिरु र बन्सोका घारी देख्दा मुजुरका जोडी छन् कि भनेर ख्याल गर्थें । भर्खरका नयाँ दुलहादुलहीजस्तै देखिन्थे । ती किराती जोडीले गाएका सुनेँ मैले–
सिन्कौली सेउली सेलेले
नाचिमा जाऔँ है पेलेले ।
बहरै गोरु दाउनुस्
रहरे जति आउनुस् ।
टेम्के र सेल्मे हाराहारी
चेली र माइती बराबरी ।
लहरा भुइँमा पूmल रुखमा
लाइएछ माया भूलचुकमा
सोइ–सोइला है सोइ–सोइला
हुर्रा हा हा ।
बाँसेघारी, पैरो, झन्डे डाँडा, बाङ्गे, मुजुर बस्ने डाँडा छन् रे यता । हामी कहाँसम्म पुगिरहेका छौँ थाहा छैन । जङ्गल बाक्लिएको छ । पहाड उक्लिएको छ । डाँडाहरू अझै ठडिएर अग्लिएका छन् ।
उकालो निकै हिँडिएछ– पसिनाले निधार, काछ, कन्चट र ढाडतिर सल्बलाएको ज्ञात भयो । एकछिन सुस्ताएर सास फेरेँ । भाइले रुमाल झिकेर मुख पुछे । ढुङ्गेनी भित्तो ठडिएर अलिक फाँटिलो भएर फैलिएथ्यो । ककारो नाघेर मास्तिर उक्लियौँ हामी ।
ओहो ! चुलाचुलीको हरियाली चारैतिर पैmलिएथ्यो । थुम्के डाँडाहरू पूर्वदेखि पश्चिमसम्म थपक्क–थपक्क बसेथे । बाक्ला रुख र घना बुट्यानले चुलाचुली छपक्कै छोपिएथ्यो । पाथी घोप्टेका डाँडाहरू चारैतिर थिए । पूर्वदेखि पश्चिमसम्म सयौँ थुम्का बसेका थिए थपक्क–थपक्क ।
मैले दक्षिणतिर सरर्र हेरेँ । पहेँलपुर धानको फाँटले तराईको सुन्दरता दिव्य र रुपौलो भएर फैलिएथ्यो । ठाउँ–ठाउँमा अनेकौँ खोलाले सेता रेखा कोरेजस्तो देखिएको दमकको झकिझकाउ सेरोफेरोले मधेशको लमतन्ने सौन्दर्य अद्भुतसँग फिँजारिएको थियो । मन तानिरहेथ्यो पहेँला धानबारी र तोरीबारीले । समथर खेत र गरैगराका चक्ले बारीले आँखालाई लोभ्याइरहेथ्यो ।
रतुवा र मावा खोला बीचको फाँट अथाह र अपार अन्नभण्डार भएर सामुन्ने उभिएथ्यो ।
भाइ देखाइरहेथे, “ऊ त्यो बुकुवा, त्यो पेल्टीमारी, त्यो चाँजु ।”
म त हेरिरहेथेँ– उनले देखाएका सबै ठाउँ र गाउँ ।
अघि सुकरानीले भनेका ठाउँहरू सानो चाँजु, ठूलो चाँजु, कमल झोडा, लछिमी खोला, पुतली, सोक्तिम, दानाबारी, गरुवा, गोलखर्कलाई धेरैथोर देखेँ हुला । त्यसो त भान्सेचुली, मैनाचुली, पालमहरू यतै होलान् । मेरा आँखाले नठम्याए पनि ढुकढुकीले पक्कै ठम्याउन सके होलान् ।
“दाजु, यो चैँ झन्डे डाँडा ।”
माथि आठ–नौ लिङ्गामा च्यातिएका झन्डा फिर्फिराइरहेथे । त्यतै औँल्याएथे उनले । अडेसिएर च्यात्थ्ला झन्डाको हावाले मुख पुछपाछ गरेँ । लिङ्गोमा ढेसिएर तल सापमारा, पाणिनि, ठूलो बारघरे, धर्धरे र सिंहदेवीसम्म आँखा तन्काएँ । बेतिनी, मावा र बक्राहा खोलासम्म मन हुत्याएर पु¥याएँ । नीलापूmल चुलाचुलीभरि फुलिरहेथे । पहेँला बुकी पूmल हावामा लहलहराइरहेथे ।
“भाइ, जेठी–मधु यता पाउनुपर्ने,” मैले केटाकेटीमा यताबाट खोजखाज गरेर लैजाने साथीको कोसेली सम्झिएँ । कान्छा भाइले भीरतिर आँखा लगे पनि भेट्न सकेनन् । झन्डे डाँडामा एकछिन मन बिसायौँ । त्यति बिसाउँदा इलामको पश्चिमी पहाडमा पुग्न पाएको खुसी, आनन्द र रमाइलोले छातीभरि ग्वाम्लाङ्ग अँगालो मा¥यो ।
अलिक अघि आङमाया आङदेम्बेले भनेको सम्झिएँ, “हाउ, यो त उठान क्षेत्र नि । भरे उठाऊ, भोलि उठाऊ भनेर एक झाङ पनि रोपिएन । बल्लतल्ल सुपारी रोप्न थालेऊँ हामेरले ।”
पेल्टीमारीबाट मास्तिर उकालिएको चुलाचुलीको तीनतले चुचुरो देखिन्छ । पाथीभरा, महाभारत र चुलाचुली बसेको टुप्लुकिन्छ । पहाडका तह–तहमा परेको कान्छो चुली भएको अनुभव गरेँ– चुलाचुलीलाई । झन्डे डाँडाको हावा र चुलीको हरियालीमा मन विचित्रसँग फुर्कियो । दङ्ग प¥यो, रमायो, हर्क बढाइँमा प¥यो ।
०००
फेरि एक घण्टाजस्तो लाएर हामी आयौँ सुकरानीको आँगनमा । आँगनैभरि चोया, बाता र बाँसका गिद्राका रास देखेँ । पानी मागेर फेरि खाएँ ।
सुकरानीले चुल्हो बाल्न थालिन् । “बिदा होऊँ अब, है त,” मैले हात जोडेँ । “हाउ, कहाँ भोकै जाने ? हुँदैन, हुँदै–हुँदैन,” सुकरानी च्याँट्ठिइन् । चस्मा पुछेर हिँड्ने मेसो मिलाएँ । भाइ कान्छा पनि भाँच्चिएको लट्ठी फेरेर अर्को दरिलो लट्ठी मुठीमा कस्तै थिए ।
“म त फाक्सा हालेर चाउचाउ पकाउँदै थिएँ,” सुकरानीले एक रास पहेँलपुर थुक्पा कराईमा ओइरिन ठिक्क पारेको देखाइन् । हामी डाँडातिर निक्लिँदा उनले छोराछोरीलाई तल पठाएर चाउचाउको डङ्गुर ल्याउन लगाएकी रहिछन् । उनको आदर र प्रेम देखेर खुम्चिरहेको थिएँ ।
“हामीलाई हतार भो । खाजा खाइरहने समय मिलेन । पछि खाउँला नि,” कान्छा यति भनेर अघि लागे । मै पनि जरकमरक गर्न थालेँ । “हाउ, यो त भएन नि !” गोपीचन्द्रले खिन्न माने । अनि पचासको नोट हातमा थमाएर सुकरानीले भनिन्, “बाटाको खाजापानी यसैले टार्नु !”
म पग्लिएँ, म माट्टिएँ, म झन्–झन् बामपुड्किएँ सुकरानीको श्रद्धा, प्रेम र सत्कारले । जङ्गलमा बसेका यिनको मन कति ठूलो, कति हरियो, कति सुग्घर । ओरालो झर्दा हामी सुकरानी सम्झेर अवाक् भइरहेथ्यौँ । आज फेरि अग्लियो चुलाचुलीको उचाइ !