दार्शनिक अरस्तुले भनेका छन् “शिक्षाको कार्य स्वस्थ्य शरीरमा स्वस्थ्य मनको निर्माण गर्नु हो” यसैलाई टेवा पुग्ने गरी दार्शनिक जोन लकले थपेका छन्, “जसरी बोटबिरुवाको विकास गोडमेलद्वारा हुन्छ, ठीक त्यसैगरी मानिसको विकास शिक्षाद्वारा हुन्छ” सृष्टिको प्रारम्भदेखि शिक्षा समाज एवं मानव जीवनसँग जोडिएको छ । किनभने शिक्षाको सम्बन्ध जीवनसँग छ । जबसम्म विश्वमा जीवको अस्तित्व रहिरहन्छ तबसम्म शिक्षाको प्रक्रिया चलिरहन्छ । यसर्थ किताबका पानामा छापिएर रटाइएको ज्ञान मात्रै शिक्षा र सर्टिफिकेटमा अङ्कधारी मान्छे मात्र शिक्षित भन्ने सोचले समाजको विकासक्रम पछाडि परेको स्पष्ट देख्न सकिन्छ । व्यक्तिका जीवनकालमा आइपर्ने सिकाइ र अनुभव विश्वविद्यालयको ज्ञानभन्दा फरक छ ।
नेपालको शिक्षाको विकासक्रम हेर्ने हो शिक्षा भनेको औपचारिक शिक्षा मात्र हो भन्ने सोचाइबाट ग्रसित छ । नीति निर्माताले पनि त्यसैलाई प्रश्रय दिने खालका नीति निर्माण गरिरहेका छन् । हाम्रो शिक्षाले कतिपय अवस्थामा धेरै विभेद जन्माएको छ । औद्योगिक क्रान्तिपछि बेलायतले विज्ञान र प्रविधिमा ठूलो फड्को मार्ने कोसिस गरे पनि उदार शिक्षाको पृष्ठपोषण केही शिक्षण संस्थाले परिस्थितिको आकलन गर्ने नसकेको कारणले प्राविधिक शिक्षा पछि पर्न गएको इतिहास साक्षी छ ।
नेपालको हकमा दशौँ योजना वि,सं २०५९, २०६४ ले प्राथमिक शिक्षालाई अनिवार्य गर्न महिला शिक्षालाई अनिवार्य गर्दै लैजाने माध्यमिक तहसम्मको शिक्षा सञ्चालन गर्न शैक्षिक गुणस्तरमा फड्को मार्ने रोजगारमूलक शिक्षा प्रवद्र्धन गर्ने प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिँदै क्रमशः उच्च शिक्षालाई विश्वपरिवेशको औपचारिक रूपमा व्यावसायिक शिक्षामा परिवर्तन गरिएको थियो । नेपालमा प्राविधिक शिक्षाको महìव छ भन्ने कुराको अगुवाइ राणा कालदेखि नै नभएको होइन । राणा प्रधानमन्त्री वीरशमशेरले आफ्ना छोरा गेहेन्द्रशमशेरसहित पाँच जनालाई जापानमा प्राविधिक शिक्षा अध्ययन गर्न जापान पठाएका थिए भने वि.सं. १९४२ ताका नै नेपालमा प्राविधिक शिक्षाको बहसको सुरुवात राणा प्रधानमन्त्री वीरशमशेरले गरेका थिए ।
पछिल्लो समय नेपालमा शिक्षाको साधारण र प्राविधिक धारमध्ये प्राविधिक धारमा जोड दिने सरकारी नीति कागजबाट बाहिर उम्किन सकेको छैन । नेपालका हरेक प्राविधिक पेसामा संलग्न व्यक्तिको सङ्ख्या आकलन गर्ने हो भने नेपाली श्रमिकको सङ्ख्या र विदेशी श्रमिकको सङ्ख्या अनुपात २३:७७ रहेको अध्ययनले देखाएका छन् । नेपालमा प्राविधिक शिक्षा कागजमा बलियो बनेको शिक्षा पद्धति हो तर व्यवहारमा यसलाई कार्यान्वयन गर्न हाम्रो मानसिकता बाधक बनेको छ ।
कोइला र हीरा दुवै कार्बन
मैले यहाँ एउटा एउटा सामाजिक परिवेश जोड्न खोजेको छु, जसले भनौँ वा जुन चिन्तनले प्राविधिक शिक्षा अझै पनि व्यावहारिक शिक्षा बन्न सकेन । राज्यका हरेक निकायले शिक्षालाइ जीवनउपयोगी, व्यावहारिक, गुणस्तरीय र प्राविधिक सीपसहितको काम गरी खान सक्ने काममा सम्मान गर्न सक्ने जनशक्ति उत्पादनको नीति र कार्यक्रम देशव्यापी ल्याउँदा पनि किन हामी अलमलमा नै रह्यौँ ? आजको मूल प्रश्न यही हो, प्राविधिक शिक्षाको सवालमा ।
आज अस्ट्रेलियाको सिड्नीमा नेपाली भाइको कपाल काट्ने दोकान चलाउन सक्षम नेपाली दाजुभाइ किन नेपालमा कैंची चलाउन हिम्मत गर्न सकेनन् ? कतारमा जिप्सम फिटिङको जिम्मा लिने नेपालीले किन नेपालमा जिप्समको काम गर्ने हिम्मत गर्न
सकेनन् ? खाडीमा बेल्चा चलाउने नेपालीले नेपालमा सडक कालोपत्रेको काममा आफूलाई उभ्याउन किन र केले रोक्यो ? यस्ता हजारौँ प्रश्नको एउटै जवाफ हो, हामीलाई हाम्रो शिक्षाले जागिरे बन्न प्रेरित गरेको छ ।
जागिर खाने एक जना भन्दा जागिर दिन सक्ने व्यक्तिको देशको अर्थतन्त्रमा हुने योगदान हाम्रो शिक्षा प्रणालीले कतै सिकाउने प्रयास नै गरेन । दुर्भाग्य हामीलाई कवाडी सङ्कलनको काम गर्न लाज मान्नुपर्ने बनाइदियो । गाडीको मर्मत गर्ने मिस्त्रीलाई तल्लो दर्जाको रूपमा स्थापित गराउन सभ्यताको आवरणमा ढोगी समाज लागिरह्यो । शिक्षितको परिभाषा नै मार्कसिटको आधारमा ठह-याउँदै सम्मान गर्ने परिपाटीमा समाज पल्क्यो ।
यसर्थ प्राविधिक ज्ञान भएका मानिससमेत प्राविधिक पेसामा ढुक्क भएर खुलेर काम गर्न सक्ने वातावरण देशभित्र बन्न सकेन । सीप, कला र गला हुनेहरू कहिले पनि छाती फुलाउन सकेनन्, फलस्वरूप नेपाली श्रम बजार ७७ प्रतिशत विदेशी श्रमिकमा निर्भर रह्यो । जसले हामीलाई उत्पादनमै आत्मनिर्भर बन्न प्रेरित गर्न नै सकेन । प्राविधिक शिक्षाको ब्यानर झुन्ड्याएका शैक्षिक संस्थासमेत प्राविधिक ज्ञान होइन, साधारण शिक्षामै केन्द्रित रहँदै सर्टिफिकेट वितरण केन्द्रको रूपमा मात्रै रहे ।
हाम्रो प्राविधिक शिक्षाले फेरि पनि कार्बन नै सिकायो । कार्बन मलिक्युलको स्थानको आधारमा त्यसको कोइलाको मूल्य र हीराको मूल्य बुझाउनतर्फ हामीहरू लाग्न सकेनौँ । जसको परिणाम नेपालको प्राविधिक शिक्षा चर्को स्वरको हुँकार त बन्यो तर अगाडि बढ्ने हिम्मत गर्न सकेन । विद्यालयले प्राविधिक शिक्षा चलाउन हिम्मत त गरे तर त्यहाँ पाठ्यक्रम प्राविधिक सीप सिकाउन सक्नेभन्दा पनि भोलि साधारण शिक्षाका अनुसन्धानमा लाग्ने विद्यार्थीसँग प्रतिस्पर्धी बन्न सक्ने शिक्षासँगै जोडियो ।
प्राविधिक धार र साधारण धार
हाल प्राविधिक शिक्षाको महत्वअनुरूप सीपवान जनशक्ति उत्पादन हुन नसक्नुमा नेपालको शिक्षा प्रारूप नै दोषी देखिन्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा तीन वर्ष इन्जिनियरिङ पढेको विद्यार्थीको क्षमता उसको काम गर्न सक्ने सीपको क्षमताभन्दा पनि विश्वविद्यालयले लिने स्नातकको प्रवेश परीक्षाको आधारमा गर्ने गरिन्छ । दुई वर्ष विज्ञान पढेको विद्यार्थीसँग प्राविधिक सीप सिकेको व्यक्तिलाई प्रतिस्पर्धा गर्न लगाउने विभेदकारी व्यवस्थाले प्राविधिक उत्पादनमा असहयोग गरेको छ । प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीको लागि थप उच्च शिक्षा अध्ययनको प्राविधिक विश्वविद्यालय खोल्नुपर्छ भन्ने चेत १३ वटा विश्वविद्यालय सञ्चालन गराउन पहल गरेको राज्यसँग छैन । प्रतिस्पर्धा आफ्नो तहकोसँग गराएर सफल असफल छुट्याउनुको सट्टा प्राविधिक सीप र ज्ञानबारे घुमाउरो पारामा गलत सन्देशको प्रवाह रोकिन नसक्दा नेपालमा प्राविधिक शिक्षा कागजी बन्दै गएको छ ।
प्राविधिक शिक्षाका विषयमा विश्वविद्यालयको प्रवेश परीक्षामा उत्तीर्ण गराउने पाठ्यक्रम बनाउनुको सट्टा व्यक्तिको रुचिअनुरूप क्रेडिटको व्यवस्था गराउँदै पढ्दै कमाउँदै योजना अगाडि सार्नु जरुरी छ । विश्वविद्यालय शिक्षामा सोही विषयबाट स्नातक गरेको व्यक्तिसँग हुने प्राविधिक ज्ञान, प्राविधिक धार अध्ययन गरेको प्रमाणपत्र तह उत्तीर्ण व्यक्तिसँग बढी हुन सक्छ । फेरि विश्वविद्यालय शिक्षामा सोही विषयबाट स्नातक गरेको व्यक्तिसँग हुने विषय वस्तुगत सैद्धान्तिक ज्ञान र बुझाइ, प्राविधिक धार अध्ययन गरेको प्रमाणपत्र तह उत्तीर्ण व्यक्तिसँग निकै कम हुन सक्छ । यसर्थ प्राविधिक शिक्षाभित्र पनि दुई धार रहेको कुरा पाठ्यक्रम, शिक्षा मोड्युल बनाउनेले बुझ्न जरुरी छ । जो व्यक्ति प्राविधिक ज्ञानमा दक्ष छ तर सैद्धान्तिक ज्ञानमा कमजोर छ भने उसलाई उसको सीपको तह निर्धारण गर्न कहिलेसम्म राज्यले कन्ज्युस्याइँ गरिरहने ?
अब दुई वर्ष विज्ञान पढेको विद्यार्थीले चार वर्षे स्नातक गरिरहँदा, तीनवर्ष डिप्लोमा गरेको विद्यार्थीका लागि प्राविधिक सीप ज्ञानको थप दक्षताका लागि तीन वर्षसम्मको स्नातक कोर्स त्यसमा पनि फिल्ड प्रयोगात्मक कार्य आधा समयभन्दा बढी रहने र उसको क्षमता प्रदर्शनको आधारमा मूल्याङ्कन गर्ने पद्धतिको विकास गर्नु आजको आवश्यकता हो । जसले गर्दा प्राविधिक शिक्षामा विद्यार्थीकोे आकर्षण बढ्नुको साथै देशभित्र प्राविधिक जनशक्तिको विकासमा सहयोग पुग्नेछ । यसले देशभित्र रोजगारीको अवसरमा नेपाली जनशक्तिलाई खपत गर्नुको साथै विश्व बजारमा हाम्रा जनशक्ति प्रतिस्पर्धा गर्न सक्ने हैसियतमा पुग्ने छन् ।
लेखक गण्डकी बहुप्राविधिक शिक्षालय पोखराका निर्देशक हुनुहुन्छ ।