• २० वैशाख २०८१, बिहिबार

विमर्शको खुसी

blog

सधैँ अबेलासम्म सुत्ने विमर्श आज भने बिहानै उठेको छ । कोठाको एक कुनाको भुइँतिर ढल्किएर झोक्राइरहेको देखेपछि बाबु विनोदले मायालु पारामा सोधे, “मेरो बाबुलाई के भएको छ ? आज बिहानै पो उठेछ त” तर विमर्शले बोल्ने छाँट देखाएन । बाबुले कपाल सुम्सुम्याउँदै फेरि भने, “मेरो नानालाई के किनिदिनुपर्ने भयो फेरि, ला भन त मैले किनिदिन्छु नि” ऊ केही पनि चलमल गरेन । बरु उल्टै बाबुको हात आफ्नो टाउकोबाट हटाएर कुनातिर स-यो । 

विमर्श रिसाएको यो पहिलो पटक भने पक्कै थिएन । कक्षा ३ मा पढ्ने उसलाई चाहेको र मागेको कुरा नकिनिदिए सधैँ यसरी नै रिसाउने गरेको थियो । आवश्यक कुरा भएको खण्डमा बाबाममीले उसले भनेको कुरा किनिदिन्थे भने अनावश्यक कुरामा उसलाई मायालु पारामा सम्झाएर सन्तुष्ट बनाउँथे । यस पटक रिसाउनुमा उसको कुनै माग भने थिएन । केही समय अगाडि बाबुले साइकल किनिदिएका थिए । साइकल पाएपछि उसका अनेक मागमा लिस्टहरू एकाएक गायब भएका थिए । बिनाकारण छोरा रिसाएको देखेर बाबु तिनछक परेका थिए तर उनलाई कलेज जाने हतारोका कारण धेरै सम्झाउने फुर्सद भने थिएन । 

मायालु पाराले सम्झाएर बुझाउँदा पनि 

नमानेपछि बाबु बिहानी नित्यकर्मतिर लागे । अब सम्झाउने पालो थियो, मम्मी अर्थात मायाको । भनेको नमान्दा पिट्ने र गाली गर्ने भएको हुँदा विमर्श ममीसँग भने डराउथ्यो । ममीले एकपटक चर्को स्वरमा भनेपछि जस्तोसुकै कुरा पनि उसले मान्ने गथ्र्यो । आज भने रिसाउनुका कारण जतिसुकै सोधे पनि ऊ केही बोलेन । ‘नाई’ सूचक टाउको दायाँबायाँ मात्रै हल्लाइरह्यो । अलि बढी नै केरकार गर्न थालेपछि भने त्यहाँबाट उठेर अर्को कोठामा गयो । 

बाबुलाई कलेज जाने चटारो थियो भने ममीलाई भने खाना पकाउने । सामान्य कुराले रिसाएको होला भनेर दुवैले उसलाई थप केरकार गर्न चाहेनन् । खाना पकाउँदै गर्दा ममीले अर्को कोठामा कागजमा केही लेखिरहेको देखिन् । पक्कै पनि गृहकार्य गरिरहेको होला भन्ने ठानेर उनले केही पनि मतलब गरिनन् । विमर्शले खाना पनि निकै कम खायो । अनुहार पनि उस्तै अँध्यारो थियो । ममी अफिस जाने चटारोमा थिइन् । उनले खासै वास्ता पनि गरिनन् । बाबुचाहिँ बिहानै कलेज गइसकेका थिए । झोला लिएर विमर्श स्कुल बस चढ्नका लागि बाटोमा गयो । ममीचाहिँ सधैँजसो स्कुटरमा कार्यालय गइन् । 

कार्यालयबाट फर्केपछि मायाले लुगा फेर्ने क्रममा बेडमा एउटा कागजको चिर्कटो देखिन् । चिर्कटोमा लेखिएका अक्षर हेर्दा त्यो विमर्शले नै लेखेको हो भन्ने थाहा हुन्थ्यो । उनले सरसर्ती  चिर्कटोमा लेखिएको कुरा पढिन् ।

बाबा मामु, हजुरहरू किन सधैँ झगडा गर्नुहुन्छ ? सानोसानो कुरामा पनि हजुरहरू झगडा गरेको मलाई मन पर्दैन । अरूका बाबाममी कस्तो मिलेका हुन्छन् । हजुरहरू भने सधैँ भेटिने बित्तिकै झगडा मात्रै गर्नुहुन्छ । मलाई हजुरहरू झगडा गरेको देखेर घरमा आउनै मन लाग्दैन । अरू साथीहरू स्कुल बिदा भएपछि घरमा जान पाइयो भनेर निकै रमाइरहेका हुन्छन् मलाई भने स्कुलमै बस्न पाए हुन्थ्यो भन्ने मात्रै लाग्छ । स्कुलबाट जाँदा दिनभरिका कुरा हजुरहरूलाई सुनाउन निकै मन लागेको हुन्छ तर केही न केही निहुँ पारेर हजुरहरू झगडा गरिरहनुहुन्छ । मलाई साह्र्रै नरमाइलो लाग्छ । बिन्ति बाबाममी हजुरहरू यस्तै झगडा गर्ने हो भने म कहिल्यै घर आउँदिन, अब मामाघरबाटै स्कुल आउँछु । आजबाट म मामाघरतिर जाने स्कुल बसमा उतै जान्छु । हजुरहरू झगडा नगर्ने भए मात्रै म घरमा आउँछु । नत्र मलाई घरमा बस्नै मन लाग्दैन ”

मायाले छोराको चिठी पढिरहँदा आँखा एकाएक आँसुले भरिए । घरबाट निस्केर बाहिर बाटोमा हेरिन् । स्कुल बस गइसकेको थियो तर विमर्श भने घर आएको थिएन । उनलाई के गरु के गरु भइरहेको थियो । त्यसै बेलामा विनोद पनि आइपुगे । मायाको आँखामा आँसु देखेर उनलाई आश्चर्य लाग्यो । मायाले समातिराखेको कागजको टुक्रोमा लेखेको कुरा पढेपछि उनका पनि आँखा भरिएर आए, अनुहारमा त्रास दौडियो । 

“माया हामीले छोरालाई साह्रै अन्याय गरेका रहेछौँ, साना–साना कुरामा पनि झगडा गरेर हामीले छोराको भावनामाथि नै खेलबाड गरेका रहे छौँ । अब यस्तो गर्न हुन्न,” विनोदले यति भन्दै बाइक स्टार्ट गरे । माया पनि पछाडि बसिन् । छोराको भावनामाथि चोट पु¥याएकोमा दुवैलाई आत्मग्लानि भइरहेको थियो । उनीहरू विमर्शलाई लिन ससुरालतिर लागे । घरको आँगनमा विमर्श निकै रमाइलोसँग खेलिरहेको थियो । हजुरआमासँग कुरा गरिरहेको थियो । हजुरबाको कपाल तान्दै दोडिरहेको थियो । विमर्शको खुसी देखेर दुवैका आँखा खुसीले भरिए । गलत गरेकोमा माफी माग्दै कहिल्यै नरिसाउने वाचा गरेर विमर्शलाई लिई घरमा गए ।