त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जति चाँडो विदेशिन सक्यो, त्यसलाई नै मूल उपलब्धिका रूपमा हामीले लिने गरेका छौँ । पीआर पाइयोस्, विदेशी नागरिक भइयोस्, त्यसैमा वीरता ठान्दै संसार जितेको महसुस गर्ने अभ्यासमा नेपाली अभ्यस्त भएका छन् । हो, देशमा रेमिट्यान्स भित्रिएको छ । नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदानकर्ता बनेको छ । मानिसलाई बसाइँ सर्ने अधिकार छ, यो नैतिक मुद्दा हुनु हुँदैन । हामी सबै व्यक्ति हौँ, आफ्ना लागि कहाँ जाने भनेर छनोट गर्न हामी स्वतन्त्र पनि छौँ तर त्यसो भनेर देश छाड्दैमा सबैथोक प्राप्त हुन्छ भन्नु गलत हो । विदेशमा पनि कठोर सङ्घर्ष गर्नैपर्छ ।
नेपालमा श्रम आप्रवासनको लामो इतिहास छ । नेपाली रोजगारीका लागि आफ्नो घर छाडेर विदेशमा करिब २०० वर्षदेखि बस्दै आएका छन् । नेपाल–ब्रिटिस भारत युद्धपछि श्रम, बसाइँसराइको इतिहास १८१४–१८१६ मा सुरु हुन्छ । वैदेशिक रोजगारलाई आफू बसेको देशको जन्मस्थलभन्दा बाहिर काम गर्ने प्रक्रियालाई परिभाषित गर्न सकिन्छ । वैदेशिक रोजगार ऐनअनुसार ‘वैदेशिक रोजगार’ भन्नाले कामदारले वैदेशिक रोजगारीमा पाउने रोजगार सम्झनुपर्छ । वैदेशिक रोजगार भनेको अर्को देशमा रहेको कम्पनीका लागि काम गर्ने हो । अन्तर्राष्ट्रिय रोजगारीले धेरै देशमा काम गरिरहेको छ र प्रायः आफ्नै देश तीमध्ये एक हो ।
मानिस निम्न कारणले रोजगारीका लागि विदेश जान्छन्– रोजगारीको अवसरको अभाव, आफ्नो परिश्रमअनुसार धेरै तलब कमाउन, विदेशी काम गर्ने वातावरण सिक्न र अनुभव गर्न, जीवनस्तर र जीवनको गुणस्तर माथि उठाउन विदेश जाने गरिन्छ । गुणस्तरीय र उचित शिक्षाको अभाव, विद्यमान गरिबी, सीमित रोजगारीका अवसर, खस्कँदै गएको कृषि उत्पादकत्व र विगतको सशस्त्र द्वन्द्व वैदेशिक रोजगारीका केही कारण हुन् । देशमा राजनीतिक अस्थिरता र असुरक्षा पनि प्रमुख कारक हो ।
नेपालबाट दक्ष, पेसागत र श्रमिकको विदेशमा बढ्दो पलायनले देश विकासमा ठूलो समस्या उत्पन्न गरेको छ । के हामी आफ्नो सीप आफैँलाई प्रयोग गर्न सक्दैनौँ ? के हामी आफैँलाई राम्रो बनाउन सिक्दैछौँ ? मुलुकको विकासको गतिलाई त्यस्ता अभ्यासले बाधा पु¥याएकाले अब ‘ब्रेन ड्रेन’सँग लड्ने प्रभावकारी उपाय खोज्ने समय आएको छ । मानिससँग धेरै क्यारियर विकल्प छन् । तिनीहरूले आफ्नो देश छोड्नेबारे सोच्न सक्दैनन् । स्मार्ट कमाइ खोज्छन्, कम पारिश्रमिक कसैलाई मन पर्दैन । उनीहरू आफ्नो तलब आफ्नो जागिर ‘प्रोफाइल’सँग मिल्दोजुल्दो होस् भन्ने चाहन्छन् ता कि उनीहरू खुसी, सम्मानजनक जीवन बिताउन सकून् ।
नेपालमा बेलाबखत सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्नेबारे सार्वजनिक बहसको विषय बनाउँछ तर व्यवहारतः लागू हुँदैन । खासगरी २०६२/६३ पछिका सबै सरकारले रोजगारी दिने घोषणा गरे पनि रोजगारी दिन नसकेको बताउँछन् । अघिल्ला सरकारहरूले समेत स्वदेशमै रोजगारीमा प्राथमिकता दिने घोषणा गरेका थिए तर रोजगारी दिन सकेनन् । वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै सरकारले रोजगारी सिर्जनामा प्राथमिकता दिने उद्घोष गरे पनि सरकारको कार्यक्रमको पाना भर्नेबाहेक अरू केही नहुने देखिन्छ ।
नेपालमा बर्सेनि श्रम बजारमा पाँच लाख आउँछन् । त्यसमध्ये स्वदेशमा रोजगारी नपाएर तीनचौथाइ वैदेशिक रोजगारीमा जान बाध्य छन् । यसअघिका सरकारले बाध्यात्मक रूपमा वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्ने घोषणा गरेको थियो तर अहिलेसम्म बाध्यतात्मक वैदेशिक रोजगार अन्त्य गर्न सकेको छैन । सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्दा थोरै पारिश्रमिकमा श्रमिक वैदेशिक रोजगारीमा जान बाध्य छन् । सरकारले स्वदेशमा उद्यम गर्न चाहने तथा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीपमूलक तालिम दिन सकेको छैन । जसले गर्दा अदक्ष कामदार वैदेशिक रोजगारीमा जान बाध्य छन् ।
स्वदेशमा विदेशी नागरिकले अवसर पाइरहेका छन् । सरकारले हरेक दिन आर्थिक समृद्धिको रटान लगाइरहँदा नेपालका गाउँ खाली हुने क्रम बढिरहेको छ । दुःखका साथ भन्नुपर्छ, कतिपय गाउँ महिलाका भरमा चलेको छ । गाउँमा विपत्ति हुँदा र मान्छे मर्दा पुरुष मलामी पनि नपाइने अवस्था सिर्जना भइसकेको छ । सरकारलाई मात्रै होइन, हरेक नेपालीलाई थाहा छ कि विदेशमा श्रम बेच्ने कामदार मात्रै भइन्छ तर स्वदेशमै पसिना बगाए आफैँ मालिक बन्न सकिन्छ । दुर्भाग्य नेपालमा बसेर केही हुँदैन भन्ने मान्यता अझै पनि हाबी भएको छ ।
एसईई उत्तीर्ण गरेका युवाको प्लस टु पनि नपढ्दै विदेशको सपना देख्न थाल्ने मानसिकता छ । देखासिकी होस् वा बाध्यता, अभिभावक नै युवा पुस्तालाई विदेश जान प्रोत्साहित गरिरहेको कटु वास्तविकता हाम्रोसामु छ । वैदेशिक रोजगारीको सपनाले मनमा जरो गाडेपछि युवा पुस्ता गाउँसहरमा अडिनै नसक्नेजस्ता भएका छन् । सरकार र युवाशक्तिको सोचमै परिवर्तन नआएसम्म न समृद्धि सम्भव छ न त वैदेशिक पलायन रोक्न सकिनेछ । मुलुकले आर्थिक र सामाजिक रूपमा फड्को मार्न पहिले श्रममा विश्वास गर्न सक्नुपर्छ । काम सानो वा ठूलोभन्दा श्रमको सम्मान गर्ने र स्वदेशमा उत्पादन बढाउन लाग्नुपर्छ ।
विदेशमा पनि तलब नपाएर बिचल्लीमा परेका, चर्को श्रम शोषणमा परेका, विदेशमोहले परिवार नै बिगारेका सामाजिक विकृति रहेको दृष्टान्त विदेश पलायनले निम्त्याएका परिणाम हुन् । सरकारले नेपाली श्रमशक्तिलाई स्वदेशमै परिचालन गर्न तत्काल, मध्यम काल र दीर्घ कालको नीति एवं कार्यक्रम ल्याउन जरुरी छ । तपाईं थप अध्ययन गर्न जाँदै हुनुहुन्छ भने हामीले भन्न सक्नुपर्छ, जानुहोस् तर पछि स्वदेश फर्कनुहोस् । किनकि तपाईं आफ्नो देशमा मालिक हुनुहुन्छ, अरू कतै तपाईं सधैँ दोस्रो नम्बर हुनुहुन्छ, तपाईं जतिसुकै स्मार्ट भए पनि । रुखमा पैसा फल्दैन । जहाँ गए पनि काम गर्नुपर्छ । तपाईं खाडी देशमा जानुहुन्छ भने यो प्रायः श्रमका लागि हो; जुन पीडादायी छ ।
तपाईंलाई युरोप/अमेरिका जाने अनुमति दिइएको छ भने प्रोफाइलभन्दा तलको काममा जान बाध्य पारिनेछ । किनभने कुनै पनि देशले विदेशीलाई आफ्नो मूल काम गर्न अनुमति दिँदैन; जबसम्म तिनीहरूले गर्न सक्दैनन् । नेपालमा धेरै अवसर छन् । युवा विदेशमा काम गर्न जाँदैछन्, धेरैजसो शिक्षित व्यक्तिले गैरनाफामुखी वा सरकारी वा निजी क्षेत्रको ‘नोकरी’ रोज्छन्, जसको मतलब तपाईंका लागि कम प्रतिस्पर्धा हो । जानुहोस् र कम्पनी खोल्नुहोस् । गरिबको बजार ठूलो छ । उच्च बेरोजगारी दरको अर्थ तपाईंले उत्प्रेरित युवाको वरिपरि एउटा टोली निर्माण गर्न सक्नुहुन्छ; जो रोजगारीमा रहन उत्सुकतापूर्वक खोजिरहेको छ । साथै तपाईंमा तिनीहरूको सद्भावना र आशा छ कि दीर्घकालीन रूपमा दिगो कम्पनी निर्माण गर्न वफादारी पाउनुहुनेछ ।
विदेशमा रहेकाहरू भविष्यमा फर्कन लागेका छन् र के गर्दैछन् थाहा छ ? एउटा कम्पनी सुरु गर्नुहोस् वा जागिर खोज्नुहोस्, जुन तपाईंले अहिले गर्न सक्नुहुन्छ र जब तिनीहरू फिर्ता आउँछन्, तब तपाईं नेता हुनुहुनेछ । तपाईं यस सुन्दर देशका लागि केही ऋणी हुनुहुन्छ, जुन तपार्इंलाई सधैँ गर्व थियो । तपाईंसँग अहिले एउटा विकल्प छ, या त आफ्नै सपना साकार बनाउनुहोस् वा ‘कसैको सपना साकार पार्न तपाईंलाई काममा लगाइनेछ ।’ नेपाललाई युवाका लागि अवसरको देश बनाऔंँ । वाणिज्य र विकासलाई प्रोत्साहन गर्ने स्थायी सरकार सुनिश्चित गरी नेपालका उद्यमीलाई सफल बनाउनुहोस् ।
नेपालले धेरै आयात गर्ने भएकाले अत्यावश्यक विदेशी मुद्राका अन्य स्रोत बढाएर नेपाललाई पर्यटनमा कम निर्भर बनाउनुहोस् । नेपालका युवाले यत्रो कठिनाइको सामना गर्नुपर्दैन, आफूलाई शिक्षित गर्न र त्यो सबै शिक्षापछि विदेशमा अवसर खोज्नु पर्दैन भने यसले ठूलो मद्दत गर्न सक्छ । नेपालले आफ्नो पूर्वाधारमा ठूलो लगानी गर्नुपर्छ, औद्योगिकीकरण गर्नुपर्छ । त्यसैले यति धेरै आयात गर्नुपर्दैन र आफ्नो केन्द्रीय कोषमा पैसाको स्थिर प्रवाह सुनिश्चित गर्नुपर्छ ।
नेपालमा काम गर्ने उर्वर उमेर २० देखि ५० वर्षसम्मलाई मान्ने हो भने नेपालमा १५ देखि ६४ वर्षसम्मको उर्वर काम गर्ने उमेरलाई विचार गर्ने हो भने २०२१ मा १५–६४ उमेर समूहमा ६६.०२ प्रतिशत र ६५ वर्षभन्दा माथिका ५.९१ प्रतिशत थिए । उता वैदेशिक रोजगारीमा जाने युवा यसै उमेरका छन् । आठ–दस वर्षयता रोजगारीका लागि विदेश जानेहरूको लर्काे त्रिभुवन विमानस्थलमा एकदमै बढेको छ । अर्कोतर्फ गोङ्गबु बस पार्क खाली छ । हरेक वर्ष ठूलो सङ्ख्यामा देशका श्रमशील र मेधावी युवा विदेश पलायन हुनु भनेको बाढीले जमिनको माथिल्लो उर्वर माटो बगाएर लैजानुजस्तै हो ।
युवा पलायनको भयावह अवस्था आउनुमा मुख्य जिम्मेवार देशमा विगतमा हुने गरेका बन्द, हडताल, तथा उच्च शिक्षा हासिल गरेकाहरूलाई देशमै उचित रोजगारी नपाउने अवस्था हो । जसमा अहिले थोरै सुधार देखिए पनि धेरैजसो समस्या हटेका छैनन् । यसरी युवा विदेश जाने बढ्दो क्रम रोक्न स्वदेशमै रोजगारीको ग्यारेन्टी, सबै खालका श्रमको सम्मान र समाजिक सुरक्षाअन्तर्गत बेरोजगारलाई बाँच्न पुग्ने भत्ताको व्यवस्था गर्नु आवश्यक छ । भारतमा काम गर्नेहरू (जहाँ श्रम स्वीकृति आवश्यक छैन) वा अनौपचारिक माध्यममार्फत विदेशमा काम गर्न छोड्नेहरूलाई समात्ने अन्य तथ्याङ्कले विदेशमा कुल श्रमशक्तिको १२ प्रतिशतभन्दा बढी महिला आप्रवासन हुन सक्ने सङ्केत गर्छ । रेमिट्यान्स घरायसी आय र राष्ट्रिय जीडीपीमा वृद्धि गर्न प्रमुख योगदान कारक बनेको छ ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को हिसाबले सबैभन्दा धेरै रेमिट्यान्स प्राप्त गर्ने देशमा नेपाल तेस्रो स्थानमा पुगेको छ । देशको विकास र सुनौलो भविष्यका लागि युवालाई ठूलो महìवका साथ हेरिन्छ । त्यसैले देशमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक आदि विभिन्न क्षेत्रमा नयाँ परिवर्तन ल्याउन युवाको भूमिका महìवपूर्ण हुन्छ । युवालाई उद्यमशील, सिर्जनशील र जिम्मेवार नागरिक बनाउनु राज्यको विशेष दायित्व हुनुपर्छ । हाम्रो सन्दर्भमा राज्य विकास र युवालाई नेतृत्वमा ल्याउन असफल भएको देखिन्छ । देशभित्रै राष्ट्र निर्माणमा युवाले महìवपूर्ण भूमिका निर्वाह गर्न सक्ने वातावरण सिर्जना गर्न राज्यले युवामैत्री नीति बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक छ ।
युवालाई लक्षित गरी राष्ट्रिय युवा नीति बनेको देखिन्छ । त्यसमा रहेका विभिन्न कमजोरीका कारण यसले युवालाई पनि छुन सकेको छैन । कतिपय अपवादबाहेक अरूलाई हेर्दा युवा विकासको सट्टा विनाशतर्फ गएको देखिन्छ । हाम्रो शिक्षा अव्यावहारिक भएको, युवा उन्मुख कार्यक्रमको अभाव र नेतृत्व तहमा युवा पुस्ताको सहभागिता नहुनुको कारण यो हो । नेतृत्वमा युवा सहभागिताबारे धेरै चर्चा र बहस भइरहेको छ । अन्त्यमा युवालाई नेतृत्व तहमा ल्याउने कुरा भए पनि व्यवहारमा साकार पार्न युवा नेतृत्वको अभावका कारण त्यो क्षेत्रमा प्रदूषण भएको सर्वविदितै छ ।
सूचना प्रविधिको विकास र प्रयोगबाट नेपाली युवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउन सफल भएका छन् । यो काम युवाका लागि गौरवको विषय पनि हो । जसरी राजनीतिक परिवर्तनमा युवाको योगदान अतुलनीय छ, त्यसैगरी देशको आर्थिक विकासमा पनि उपयोग गरिनुपर्छ । तब मात्र देशले नयाँ ढङ्गले विकास गर्ने अवसर पाउन सक्छ ।
लेखक अर्थ राजनीतिक विषयमा कलम चलाउनुहुन्छ ।