• १३ असोज २०८१, आइतबार

पाथीभरा याङ्वरकलाई गाउँपालिका अध्यक्ष कप उपाधि

blog

ट्रफीका साथ उपाधि विजेता पाथीभरा याङ्वरकको टोली । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा सम्पन्न अन्तरपालिकास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरकले जितेको छ । बिहीबार सम्पन्न फाइनलमा फुङ्लिङ नगरपालिकालाई ३–१ को सेटमा हराउँदै पाथीभरा याङ्वरक गाउँपालिकाले उपाधि जितेको हो ।

पाथीभरा याङ्वरकले फुङ्लिङविरुद्ध २५–१५, २५–१९, २१–२५ र २५–१६ को जित निकाल्न सफल भएको थियो । उपाधि विजेता पाथीभरा याङ्वरकले २९६ तोला चाँदी जडित ट्रफीसहित दुई लाख ५५ हजार ५५५ रुपियाँ नगद पुरस्कारका साथ मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको फुङ्लिङ नगरपालिकाले नगद एक लाख ३३ हजार ३३३ रुपियाँसहित मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुप¥यो ।

यस्तै, मेरिङ्देन गाउँपालिका र आयोजक सिरिजङ्घा गाउँपालिकाले नगद ४४ हजार ४४४ रुपियाँका दरले सान्त्वना पुरस्कार पाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी पाथीभरा याङ्वरकका गिरीराज श्रेष्ठ, उत्कृष्ट ब्लकरमा फुङ्लिङका भवानी भट्टराई, लिप्टरमा पाथीभराका विनोद कार्की, सर्भरमा फुङ्लिङका अभिषेक भट्टराई, अलराउण्डरमा फुङ्लिङकै अभिषेश राई घोषित हुनुभयो । 

उहाँहरूलाई विधागत पुरस्कारद्वारा सम्मान गरिएको सिरिजङ्घा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले जानकारी दिनुभयो ।