• १३ साउन २०८१, आइतबार

लुम्बिनीको दानपात्रमा एक करोड तीन लाख

blog

मायादेवी मन्दिरको दान रकम गणना। तस्बिर : कपिल ज्ञवाली।

कपिल ज्ञवाली

सिद्धार्थनगर,चैत्र २ गते। बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा दानबापत १ करोड ३ लाख ७ हजार रुपियाँ सङ्कलन भएको छ। बुधबार सकिएको गणनामा यो पटक कोभिडपछि धेरै रकम भेटी बापत सङ्कलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिनुभयो। 

कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा आइतबारदेखि दानपात्रको रकम गणना सुरु गरिएको थियो। आइतबार ११ लाख ८२ हजार, सोमबार ३६ लाख २८ हजार मङ्गलबार ३२ लाख ५० हजार, बुधबार २२ लाख ४७ हजार रुपियाँ सङ्कलन भएको राजस्व शाखाका विकास लामाले जानकारी दिनुभयो। 

फागुन २८ गतेदेखि बुधबारसम्म चार दिनसम्म लगातार ४० जना गणकबाट सङ्कलित रकम गणना गरिएको थियो। अघिल्लो पटक मङ्सिर २८ देखि पुस १ गतेसम्म चार दिन लगाएर दानपात्र खोलेर रकम गणना गरिएको थियो। 

अहिले विदेशी पर्यटकको सङ्ख्या बढेकाले पनि दानबापतको रकम वृद्धि भएको कोषले जनाएको छ। कोषले आन्तरिक आम्दानीबाटै कर्मचारी र अन्य व्यवस्थापन गर्दै आएको छ।

सो दान रकम गणनालाई पारदर्शी बनाउन सिसिटिभी जोडेर कोषका पदाधिकारी, लुम्बिनीका सुरक्षा प्रतिनिधिको रोहबरमा गणना गरिएको हो। गणना सुरु भएपछि हरेक दिनको गणना गरिएको दान रकम मुचुल्का उठाएर बैङ्कमा जम्मा गरिएको छ।

लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रूपमा दानलाई लिने गरिएको छ।