• १३ साउन २०८१, आइतबार

कोइलाबास भन्सारबाट लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन

blog

दाङको नेपाल–भारत सीमा अन्तर्गत रहेको कोइलाबास नाका । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, चैत २ गते । लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न चुनौती भइरहेको सयममा  दाङ जिल्लाको मुख्य नाकाका रुपमा रहेको काेइलाबास भन्सार कार्यालयले वार्षिक लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन गरेको जनाएको हो । 

कार्यालयले चालु आर्थिक वर्षमा २१ लाख ३९ राजस्व उठाउने लक्ष्य लिएको थियो । तर कार्यालयले फागुन २५ गतेसम्म ५२ लाख ४६ हजार ४ सय ७ रूपियाँ राजस्व सङ्कलन गरेको कोइलाबास भन्सार कार्यालयका प्रमुख दीपक शर्माले जानकारी दिनुभयो । आर्थिक वर्ष सकिन अझै चार महिना बाँकी रहेकाले राजस्व थप बढ्ने उहाँले बताउनुभयो ।  

कोइलाबास नाका सञ्चालनमा आएपछि राजस्व स वृद्धि हुँदैगएको छ । नाका खुलेपछि सामग्री आयात, निर्यात तथा नागरिक एवं सवारी साधनको आवतजावत गर्न थालेपछि राजस्व वृद्धि भएको कार्यालय प्रमुख शर्माले बताउनुभयोे । नेपाल आउने यात्रुले प्रयोग गर्ने सवारी साधनबाट लिने राजस्व धेरै रहेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । ‘अस्थायी पैठारीबाट धेरै राजस्व सङ्कलन हुने गरेको छ’ प्रमुख शर्माले भने, ‘जसमा धेरै सवारीसाधनका रुपमा कार, जिप, मोटरसाइकल लगायत छन् ।’ 

त्यसैगरी नागरिकले भारतबाट ल्याउने सामग्रीबाट लिइने राजस्व पनि पछिल्लो समय बढ्दै गएकोे छ । कोइलाबास नाकाबाट नेपालमा धार्मिक पर्यटक धेरै आउनेगरेको भन्सार कार्यालयका प्रमुख शर्माले बताउनुभयो । भारतबाट कोइलाबासस्थित रामजानकी मन्दिरमा दर्शनसँगै नेपालतिरको पहाड हेर्न भनेर धेरै मानिसहरु घुम्न आउनेगरेका छन् । 

जिल्लाको प्रमुख नाकाका रुपमा रहेको कोइलाबास भन्सार कार्यालयमा अनलाइन गर्नेे तयारी गरिए पनि अझैसम्म हुन सकेको छैन । जसले गर्दा अहिले भन्सार कार्यालयले लिखित रूपमै राजस्व सङ्कलनको काम गर्दैैआएकोे छ । नेटको समस्याका कारण अनलाइनबाट काम गर्न नसकेको कोइलाबास भन्सार कार्यालयका प्रमुख शर्माले बताउनुभयो । 

‘नेट जोडेर काम सुरु गर्न थालिए पनि सिस्टम चल्न नसक्दा अनलाइनमार्फत बिल काट्ने काम भएको छैन’ प्रमुख शर्माले भन्नुभयो, ‘जसले गर्दा अहिले लिखित रूपमै राजस्व लिनेगरेका छौ ।’ भन्सारबाट अहिले व्यक्तिगत रूपमा घरायसी सामग्री ल्याउनेगरेका छन् भने व्यवसायीले पनि थोरै मात्रामा सामान ल्याउने गरेका छन् । 

लामो समयको प्रयासपछि गत वर्षदेखि मात्र कोइलाबास नाका सञ्चालनमा आएको थियो । नेपालमा भन्सार भए पनि भारतमा कस्टम नहुँदा नाका सञ्चालन हुनसकेको थिएन । साउनको दोस्रो सातापछि भारततर्फ कस्टम स्थापना गरेसँगै नाका सञ्चालनमा आएको थियो । नाका खुलेसँगै अहिले कोइलाबासबाट नै आयात तथा निर्यातको काम सुरु भएको छ । अहिले नेपालबाट अदुवा तथा केही मात्रामा तरकारी भारततर्फ जानेगरेको बताइएको छ । 

दाङ जिल्लासँगै राप्तीका पहाडी जिल्लामा उत्पादन भएको तरकारी कोइलाबास नाका भएर भारत जानेगरेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । कुनै समयमा देशको दोस्रो चल्तीको भन्सारमा रहेको कोइलावास नाका पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएसँगै सुनसान भएको थियो । 

भन्सार सुनसान भएसँगै उक्त क्षेत्र खण्डहर भएको थियो । पछिल्लो समय देउखुरीको गढवादेखि कोइलाबाससम्म बाटो कालोपत्रे भएसँगै नाका सञ्चालनमा आएपछि पुनः चहलपहल बढेको छ । नाका सञ्चालनमा आएपछि सामान आयात निर्यातमा सहज हुने जिल्लाका व्यवसायीहरूले बताएका छन् । कोइलाबास नाका सञ्चालन नहुँदा जिल्लाबाट आयात निर्यात गर्दा रूपैडिया, कृष्णनगरको नाका भएर सामग्री ल्याउनु, लैजानुपर्ने बाध्यता थियो ।