• १३ असोज २०८१, आइतबार

विद्यालयमा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

blog

बाबुराम शर्मा 

दोलखा, चैत १ गते । धुलिखेल–दोलखा अस्पतालद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रम अन्तर्गत साखिने आधारभूत विद्यालयका ५५ विद्यार्थीको आँखा तथा दाँत र स्वास्थ्य परीक्षण गरिएको छ । 

विद्यालयका ४५ जनाको आँखाको उपचार, ४५ जनाको दाँतको उपचार र ५५ जनाको स्वास्थ्योपचार भएको सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रमका जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार कार्यक्रमको समन्वयमा दोलखा लायन्स आँखा केन्द्र तीलगङ्गा आँखा प्रतिष्ठान शाखा दोलखाका प्राविधिक विप्लव खडकाले ४५ जना विद्यार्थीको आँखाको उपचार गर्नुभयो । पाँच जनामा समस्या देखिएकाले उनीहरूलाई उपचारका लागि आँखा अस्पताल जना रेफर गरिएको छ । 

अस्पतालका डा. नितेष सिंह र डा. मिथिलेशसिंह कुसवाहाले ४५ जना विद्यार्थीको दन्त परीक्षण गरेकोमा ३० जनामा दाँतको समस्या देखिएकाले उनीहरूलाई उपचारका लागि अस्पताल रेफर गरिएको उहाँले बताउनुभयो । यसै अवसरमा शिक्षकहरूको पनि दाँत र आँखाको परीक्षण गरिएको थियो । 

काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत मास्टर इन पब्लिक हेल्थका विद्यार्थी विना प्रजापति र अक्षय अधिकारीले ५५ जना विद्यार्थीको स्वास्थ्योपचार गर्नुभयो । विद्यार्थीलाई हात धुने, पोषणयुक्त खाना खाने र सरसफाइ लगायतका बारेमा जानकारी दिँदै अभ्यास समेत गराइएको थियो । 

यो कार्यक्रमका लक्षित वर्ग बालबालिकालाई उपचार गराइदिन विद्यालय तथा समुदायबाट माग आएमा उपचार गरिदिने गरिएको छ । गाउँपालिका तथा वडाको समन्वय तथा आर्थिक सहयोग र कार्यक्रमको प्राविधिक सहयोगमा कालिञ्चोक गाउँपालिका –९ मा निकट भविष्यमै विशेषज्ञको टोलीसहित तीन दिने वृहत् स्वास्थ्य शिविर गर्न लागिएको पनि जनस्वास्थ्य अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।