• १३ साउन २०८१, आइतबार

राप्रपा उपराष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने

blog

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ।

काठमाडौं, चैत १ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको छ। 

राप्रपाका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता मोहन श्रेष्ठले बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने र तटस्थ बस्ने निर्णय गरेको जानकारी दिनुभयो।

यसैगरी, राप्रपा बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी एवम् अनुचित भएको औँल्याएको छ। यो निर्णय तत्काल फिर्ता लिई सुलभ ढङ्गले समयमै मलको आपूर्ति व्यवस्थापन एवम् दीर्घकालीन समस्याको समाधान गर्न रासायनिक मल कारखाना स्थापना गर्नुपर्नेमा जोड दिएको छ। 

राप्रपाले बैङ्कमा ब्याज बढ्न थालेकाले यसको साना उद्योगी, व्यवसायी र किसान लगायत सम्पूर्ण आर्थिक क्षेत्रमा ठूलो र नकारात्मक असर परेको जनाएको छ। यस विषयमा आन्दोलनरत व्यवसायीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग पनि गरेको छ।  

राप्रपाले पार्टीको सिद्धान्त राजसंस्था भएकोले फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा पनि मतदानमा सहभागी भएको थिएन।