• १३ असोज २०८१, आइतबार

स्थलगत अनुगमनपछि सडक निर्माण कार्य सुचारु

blog

स्थलगत रुपमै दुई पक्षबीच सहमति भएपछि ठेहेमा रोकिएको स्थानमा काम सुरु गरिदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, चैत १ गते । गाउँपालिका अध्यक्षको टोली स्थलगत रूपमा अनुगमनमा गएपछि रोकिएको सडकको निर्माण कार्य सुचारु भएको छ । सडक निर्माण गर्ने स्थानमा ठूलो चट्टान देखिएको भन्दै निर्माण कार्य रोकेको निर्माण कम्पनी पक्षले दुई पक्षबीच समझदारी हुँदा निर्माण कार्य अगाडि बढाएको हो ।

सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सिमकोट बरगाउँ, ठेहे र ग्याग्रुसम्मको सडक निर्माण कार्य रोकिएको निर्माण स्थलमा दुई पक्षबीच कुरा मिलेपछि काम सुचारु भएको बताउनुभयो । उहाँले सडक निर्माण स्थलमा देखिएको चट्टानलाई खनेर फाल्ने वा त्यसो नभए विस्फोटन गर्ने काम गाउँपालिकाले गरेपछि निर्माण कम्पनी पक्ष काम सुचारु गर्न सहमत भएको बताउनुभयो । 

निर्माण स्थलमा गाउँपालिका र निर्माण कम्पनीबीच रोकिएको सडक निर्माण कार्यको सुचारु गर्ने सहमति भएपछि काम सुचारु भएको छ । सो क्षेत्रमा यसअघि नै सडकको ट्र्याक खुलाउने कार्य भएको थियो । सडकको ट्र्याक खुलाएको क्षेत्रमा यातायातका साधन सञ्चालनमा आएपछि सिमकोट आउनेक्रममा यात्रु तथा सामानहरू अनलोड गर्नुपर्ने अवस्था थियो । 

खुलाएको सडक निर्माण स्थलको ग्रेड नमिलेपछि सो सडकको ठेहे ग्याग्रु खण्डमा पुनः लेवल मिलाउने काम सुरु गरेको थियो । सडक निर्माण गरिरहेको बेला ठूला चट्टान देखिएपछि निर्माण कम्पनी पक्षले काम रोकेको थियो । पछि गाउँपालिका र निर्माण कम्पनी पक्षबीच जसरी पनि उक्त चट्टान फुटाउने र विस्फोट गर्ने सहमति भएपछि काम सुचारु भएको हो । 

हाल रोकिएको खण्डको काम धमाधम भइरहेको छ । गाउँपालिकाले गत पुस महिनामा टेण्डर आव्हान गरेर हिमालय कन्स्ट्रक्सन छनौट गरी सम्झौता गरेको थियो । यसका लागि गाउँपालिकाले निर्माण कम्पनी पक्षसँग एक करोड रुपियाँमा सम्झौता गरेको छ । निर्माण कार्य रोकिएपछि गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष सुशीला रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया र प्राविधिकसहितको टोली निर्माण स्थलमा पुगेको थियो ।