• १३ असोज २०८१, आइतबार

योजना सम्पन्न गर्न सबैले प्रयास गरौँ : मन्त्री जुगजाली

blog

कार्यक्रममा धारणा राख्नुहुँदै मन्त्री जुगजाली । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, चैत १ गते । गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुगजालीले जिल्ला भित्रका रोकिएका योजनाहरू सबैले प्रयास गरेर सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

हिमाली जिल्ला म्याग्दीको बेनीमा चैत १ गतेदेखि सुरु भएको म्याग्दी कप–२०७९ आमन्त्रित म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा मन्त्री जुगजालीले सो  कुरा बताउनुभएको हो । 

लिग फुटबलको उद्घाटन गर्दै मन्त्री जुगजालीले जिल्लाभित्र रहेका साना ठूला सबै योजनाहरू सम्पन्न गर्न सबैले प्रयास गर्नुपर्ने बताउनुभयो । अलपत्र योजना सम्पन्न गर्ने हाम्रो लक्ष्य हो र त्यसमा जनताको साथ आवश्यक पर्छ । प्रदेश सरकार रोकिएका तथा अलपत्र अवस्थामा पुगेका कुनै पनि योजना सम्पन्न गर्ने ध्येयमा लागेको बताउँदै जिल्लाका सबै नागरिकले हातेमालो गरेर त्यस्ता योजनाहरू सफल बनाउन प्रयास गर्नुपर्ने बताउनुभयो ।

अर्को प्रसङ्गमा उहाँले जिल्लामा पहिलो पटक आयोजना भएको लिग फुटबलले समग्रमै केही नयाँ सन्देश दिएको बताउनुभयो । उहाँले जिल्लाभित्रैका खेलाडीको सहभागिताले गर्दा जिल्लाको फुटबल खेलाडीको पहिचान गर्न पनि सहज हुने धारणा राख्नुभयो । जिल्ला बाहिरका तीन जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिताले स्थानीयको खेल कला प्रस्फुटन गर्नुका साथै नयाँबाट सिक्ने मौका पाउने समेत बताउनुभयो ।

न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयका भाइस प्रिन्सिपल कृष्णबहादुर जिसीले सञ्चालन गर्नुभएको उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश खत्रीले धारणा राख्नुभयो । 

म्याग्दी कप–२०७९ व्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल सङ्घ म्याग्दीको सह–आयोजनामा सुरु भएको लिग फुटबल प्रतियोगिताको समूह ‘ए’ मा अर्थुङ्गे युवा क्लब, बारी मण्डली युवा क्लब, मनसुन युवा क्लब, कालिपुल युनाइटेड र मालिका एफसी रहेका छन् । समूह बी मा नव उत्साही युवा क्लब, बुद्ध युवा क्लब, एभरग्रीन युवा क्लब, जनप्रिय क्लब दरवाङ र पश्चिम म्याग्दी युवा क्लब दरवाङ रहेका छन् ।

दुवै समूहका प्रत्येक क्लबले चार–चार खेल खेलेपछि शीर्ष दुई क्लबबीचमा सेमिफाइनल  हुनेछ । सेमिफाइनलका बिजेताहरुबीच हुने फाइनल विजेता टोलीले नगद एक लाख १५ हजार र दोस्रो हुनेले ७० हजार रुपियाँ नगदसहित मेडल र ट्रफी प्राप्त गर्नेछन् । 

सात लाख रुपियाँ लागत अनुमान गरिएको प्रतियोगिता नाइन ‘ए’ साइड हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीका पूर्व अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताउनुभयो । म्याग्दीबाट विगतमा फुटबल खेलेर सक्रिय खेलजिवनबाट विश्राम लिएका खेलाडीको सक्रियतामा जिल्लामा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को शाखा ल्याउने हेतुले यो प्रतियोगिताको परिकल्पना गरिएको विश्वकर्माले बताउनुभयो ।