• ९ मंसिर २०८१, आइतबार

पूर्वप्रम खानका समर्थक र प्रहरीबीच झडप, प्रमुख शहरमा प्रदर्शन

blog

पूर्वप्रधानमन्त्री इमरान खान । फाइल तस्बिर

लाहोर, चैत १ गते । पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उहाँका समर्थकबीच यहाँस्थित खान निवास अगाडि झडप भएको छ भने प्रमुख शहरमा प्रदर्शन भएकाे छ । पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गर्नुभएको छ ।

गए राति पनि पाकिस्तान तहरीक–ए– इन्साफ (पिटिआई)का कार्यकर्ता र सुरक्षाकर्मीबीच खानको जमान पार्कस्थित घर नजिक झडप भएको थियो । प्रहरी र अर्धसैनिक बलका जवानले अश्रुग्यास प्रहार गरेपछि खानका क्रुद्ध समर्थकहरूले ढुङ्गामुढाले प्रतिकार गरेका थिए । पिटिआईका एकजना कार्यकर्ताका अनुसार पानीको फोहरा र अश्रुग्याँस प्रहार गर्दै आएका सुरक्षाकर्मीले गोलीसमेत हान्न थालेका बताएका छन् ।

गतवर्ष विश्वासको मत प्राप्त नभएपछि पदमुक्त भएका खानमाथि भ्रष्टाचारलगायत विभिन्न मुद्दा लगाइएको छ ।  सार्वजनिक रूपमा सरकारका कटु आलोचना गर्दै आएका उहाँमाथि प्रधानमन्त्री हुँदा प्राप्त उपहार बेचेको तथा प्राप्त आम्दानी सार्वजनिक नगरेको आरोप लगाइएको छ । सोही विषयमा जानकारी दिन अदालतले उहाँलाई बोलाएको छ । अदालतको आदेश पालना नगरेकाले उनलाई पक्राउ गर्न आफूहरू आएको एक जना वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई बताए ।

इस्लामावाद प्रहरीका उपमहानिरीक्षक सैयद शहजाद नदीम बुखारीले अदालतको आदेश कार्यान्वयन गर्न नेता खानको घर आएको स्पष्ट पार्नुभएको छ ।  पञ्जाबका प्रहरी प्रमुख उस्मान अन्वरले अदालतको आदेशलाई जुनसुकै मूल्यमा पनि पालना गर्नुपर्ने बाध्यता रहेको बताए ।

पिटिआईका समर्थकहरूको एक समूहले दक्षिणी बन्दरगाह शहर कराँची र उत्तरपश्चिमको पेशावरमा पनि जुलुस निकालेका छन् । उनीहरूले सडक पनि अवरुद्ध पारेका छन् । कुनै समयका क्रिकेट सुपरस्टार ७० वर्षीय खानलाई हिरासतमा राख्ने प्रयास यसअघि पनि भएको थियो । उनीमाथि ज्यान मार्ने उद्देश्यका साथ गोली प्रहारसमेत भएको थियो । प्रधानमन्त्री शेहबाज सरिफको आदेशमा आफ्नो हत्या प्रयास गरिएको आरोप खानले लगाउँदै आउनुभएको छ ।

पिटिआईका एक वरिष्ठ अधिकारीका अनुसार इस्लामाबाद उच्च अदालतमा खानको गिरफ्तारी रोक्न रिट दायर गरिएको छ । उक्त रिटमाथि आजै सुनुवाइ हुने अपेक्षा गरिएको छ । गिरफ्तारी रोक्न अदालतबाट आदेश भएमा स्थिति स्वतः साम्य हुनेछ । पार्टीका पदाधिकारीले लाहोरको अदालतमा पनि त्यस्तै रिट दायर गरेका छन् ।

राजनीतिक अस्थिरताका कारण निरन्तर शिथिल हुँदै गएको पाकिस्तानको अर्थतन्त्रलाई उकास्न अन्तर्राष्ट्रिय मुद्राकोषको प्रयास असफल भएका बेला अतिवादी समूहले बेलाबेलामा गर्ने घातक आक्रमण एवम् आत्मघाती हमालाबाट दक्षिण एसिया निरन्तर प्रताडित भइरहेको छ । कानुन कार्यान्वयनमा कठिनाइ हुँदा आपराधिक गतिविधि नियन्त्रणमा पनि असर परेको छ ।

राजनीतिक नेताले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई प्रयोग गरेर गिरफ्तारीलाई अस्वीकार गर्नुले पाकिस्तानको सबैभन्दा खराब अवस्थालाई प्रतिविम्बित गरेको लेखक, राजनीतिक विश्लेषक र मानवअधिकार कार्यकर्ता तौसिफ अहमद खान बताउनुहुन्छ । रासस/एएफपी