वेलिङ्गटन, मङ्सिर २७ गते । न्यूजिल्यान्डले सन् २०५० का लागि ‘मिथेन उत्सर्जन’ लक्ष्य घटाउने विधेयक पारित गर्दै कृषि उत्पादनशिलता र उत्सर्जन कटौतीबिच सन्तुलन कायम गर्ने प्रयास गरेको छ । शुक्रबार संसदमा पारित ‘क्लाइमेट चेन्ज रिस्पोन्स’ ९२०५ (टार्गेट एन्ड अदर म्याटर्स) एमेन्डमेन्ट बिलले नयाँ लक्ष्य सन् २०१७ को तुलनामा १४-२४ प्रतिशत मिथेन कमी निर्धारण गरेको छ, जुन पहिलेको २४-४७ प्रतिशत लक्ष्यभन्दा निकै कम हो ।
सरकारका अनुसार, अद्यावधिक लक्ष्यले जलवायुसम्बन्धी कानुनलाई समय अनुकूल बनाउने उद्देश्य राख्छ । कृषि मन्त्री टोड म्याक्लेले यो लक्ष्यले किसान र निर्यातकलाई दीर्घकालीन निश्चितता दिने बताउनुभयो । जलवायु परिवर्तन मन्त्री साइमन वाट्सका अनुसार, उत्सर्जन कटौती प्रविधि विकासमार्फत हुने हो, फार्म बन्द गरेर होइन ।
सरकार र उद्योगले संयुक्तरूपमा ४० करोड न्यूजील्यान्ड डलर लगानी गरेर मिथेन घटाउने प्रविधि विकास गरिरहेका छन् । ती मध्ये पहिलो प्रविधि सन् २०२६ बाट किसानका फार्ममा उपलब्ध हुने छ भने सन् २०३० सम्ममा करिब ११ वटा प्रविधि बजारमा आउने अपेक्षा गरिएको छ । विधेयकले लामो अवधि कायम रहने ग्यासको नेट-जिरो लक्ष्य भने यथावत राख्दै, अद्यावधिक लक्ष्यसँग तालमेल राख्न चौथो उत्सर्जन बजेटलाई पछि सारिएको छ । रासस/सिन्ह्वा