• १५ असार २०८१, शनिबार

दस वर्षयताकै लामो खडेरी अन्त्य

blog

काठमाडौँ, चैत १ गते । यस वर्षको मनसुनअघिको याम सुरु भएको छ । पूर्वमनसुन भनेर पनि चिनिने यस यामले नेपालमा मनसुन भित्र्याउने  वातावरण बनाउँछ । यससँगै नेपालमा परेको १० वर्षयताकै लामो खडेरी अन्त्य भएको छ । 

यसपालि गत असोजयता फागुनको मध्यमा मात्र वर्षा भएको थियो । त्यसयता वर्षाले केही दिनको अन्तरालमा निरन्तरता दिएको छ । 

यस वर्ष सुरुवातमै हल्कादेखि मध्यम वर्षा हुन थालेकाले मनसुनका लागि राम्रो सङ्केत गरेको छ तर यसको निरन्तरता सन्तोषजनक नरहेको अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

तथापि वर्तमान अवस्थामा मनसुनपूर्वको वर्षाले हिउँदमा नभएको वर्षाको तुलनामा राहत प्रदान गरेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार मनसुनअघिको यामको सुरुवाती अवस्थामै देशका सबै भेगमा आलोपालो गरी हल्कादेखि मध्यम वर्षाको क्रम दोहोरिएको छ । 

सोमबारयताका लागि पनि वर्षाको हिसाबले पहाडी भेगलाई सुखद रहेको उहाँले बताउनुभयो । मनसुनमा नेपालको पूर्वी भेगबाट पूर्वीय जलवाष्पयुक्त वायुका कारण वर्षायाम भित्रन्छ । त्यो वायुले पश्चिमी वायुको जलवाष्पलाई पूर्ण रूपमा निस्तेज नपारेसम्म मनसुनपूर्वमा पश्चिमी वायुकै प्रभाव कायम रहन्छ । 

अहिले त्यही क्रममा पश्चिमी वायुको प्रभाव बलियो रहेकाले पनि देशका विभिन्न स्थानमा दोहोरिएर वर्षा भइरहेको हो । यो वर्षासँगै आउने तापक्रमको सापेक्षित आद्र्रताले नेपालमा गर्मी बढाउने मौसमविद् बताउनुहुन्छ । तराईमा हावाहुरी, वर्षाअघि मेघगर्जनसहित चट्याङ पर्ने क्रम मनसुन सुरु नभएसम्म जारी रहने गर्छ ।  मौसमविद् श्रेष्ठका अनुसार कर्णालीदेखि गण्डकी, बागमती हुँदै पूर्वी पहाडी भेगमा आउँदो दुई दिन हल्कादेखि मध्यम वर्षा हुनेछ । केही स्थानमा चट्याङ, हावाहुरीसहितको वर्षा हुने भएकाले सचेत रहन भनिएको छ । 

मनसुनपूर्वको समयमा यो वर्ष कतै सरदरभन्दा कम वा बढी वर्षा हुने पूर्वआकलन गरिएको छ । विश्व मौसम सङ्गठन आबद्ध क्षेत्रीय संस्थाहरू युरोपियन सेन्टरअन्तर्गतको जापान, बेलायतलगायतका मौसम आकलन प्रारूपहरूमध्ये कुनैले सरदर, कुनैले सरदरभन्दा बढी र कुनैले सरदरभन्दा कम वर्षा हुने सम्भावना औँल्याएको विभागको जलवायु विश्लेषण शाखाले उल्लेख गरेको छ ।  सरदरभन्दा कम वर्षा भएको खण्डमा खडेरी हुने र परिणामका रूपमा डढेलो लाग्ने, पानीका मुहान सुक्ने, वायु प्रदूषण बढ्ने र पछि वर्षा हुँदा अतिवृष्टि भएर प्राकृतिक विपत् आइपर्ने सम्भावना कायम रहने भएकाले सोहीअनुसार सरोकारवाला निकायले तयारी गर्नुपर्ने सुझाव दिइएको छ । 

यो वर्ष हिउँदे खडेरी

यस वर्षको हिउँदमा करिब १० वर्षयताकै कम वर्षा भएकाले यस वर्षको हिउँदमा अत्यधिक लामो खडेरी परेको पुष्टि जल तथा मौसम विज्ञान विभागले गरेको छ। मङ्सिर १५ गतेदेखि फागुन १६ गतेसम्मको अवधिलाई यस वर्षको हिउँदे याम मानिएको छ। सो अवधिमा देशभर सरदरभन्दा कम वर्षा मापन भएको जलवायु विश्लेषक इन्दिरा कँडेलले बताउनुभयो। 

यस वर्षको हिउँदमा २० वटा केन्द्रको तथ्य विश्लेषणले १२.९ मिलिमिटर मात्र वर्षा भएको देखाएको छ। जुन हिउँद अवधिको सरदर वर्षाको २१.५ प्रतिशत हो। यसअघिका विश्लेषणको तुलनात्मक अध्ययनले हिउँदको अवधिमा कम्तीमा पनि सरदर ६०.५ मिलिमिटर वर्षा हुनुपर्ने र त्यति नै वर्षा भएको देखाएको कँडेल बताउनुहुन्छ। सरदर वर्षाको ७५ प्रतिशतभन्दा कम वर्षा भएमा खडेरी मानिन्छ। यो मापनभन्दा झन्डै तेब्बरले कम नेपालको हिउँदमा २१.५ प्रतिशत मात्र वर्षा भएकाले यो वर्ष अत्यधिक खडेरी भएको पुष्टि भएको हो। 

उहाँका अनुसार प्रशान्त महासागरमा वर्षामा पानी पार्ने प्रणाली लानिना हिउँदमा विकसित हुँदा वर्षा नभएको हो। जलवाष्पयुक्त वायुको बहावको सट्टा सुक्खा हावाको बहाव भएकाले पनि विगतका वर्षको तुलनामा यस वर्ष हिउँद न्यानो भयो। जाडोको सुरुवातमा चिसो ह्वात्तै बढे पनि वर्षा र हिमपात कम हुँदा उच्चस्तरको जाडो यस वर्ष भएन। 

हिमरेखाको माथिल्लो भेगमा हल्का हिमपात भए पनि तल्लो हिमाली भेगमा हिमपात नहुँदा लगाएका खेतीबालीमा असर प¥यो। विशेष गरी मध्य, पूर्व र तराईका जिल्लामा तीन महिना वर्षा शून्य रह्यो। भैरहवा, दाङ, सिमरा, जनकपुर, धरान, धनकुटा र विराटनगरका वर्षा मापनकेन्द्रले वर्षा शून्य रहेको औँल्याएको छ। पश्चिमी भेगका केही स्थानमा हल्कादेखि फाट्टफु्ट्ट वर्षा भए पनि सन्तोषजनक वर्षा भएन।

असोजयता धेरै स्थानमा वर्षा नभएकाले यो वर्ष नेपालले लामो खडेरीको अवस्था भोगेको जलवायु विश्लेषण शाखाले प्रक्षेपण गरेको छ।