• १३ साउन २०८१, आइतबार

फेसनका लागि ‘डर्मल पियर्सिङ’

blog

काठमाडौँ, फागुन २९ गते । युवा पुस्तामा ‘फेसनेबल’ तथा अरूभन्दा भिन्न देखिन ‘डर्मल पियर्सिङ’ निकै लोकप्रिय बनेको छ । शरीरको कुनै पनि भागको एक चिम्टी छालामा सानो प्वाल पारेर गहनालाई स्थायी रूपमा राखिन्छ । यसरी राखिएको कुनै पनि गहना सहजै फुकाल्न वा फेर्न भने सकिँदैन । काठमाडौँकी रिनी गुरुङले घाँटीमा डर्मल गराउनुभएको छ । घाँटीमा चम्किलो वस्तु देखिनु यसको विशेषता हो । 

समिता गुरुङले आफूलाई अरूभन्दा फरक देखिन यस्तो गरेको बताउँदै भन्नुभयो, “मलाई घाँटीमा चेन गहना झुड्याउन खासै मनपर्दैन तर घाँटीमा डर्मल राख्दा हीरा नै टल्केको जस्तो देखिन्छ । युवतीमाझ मात्र नभएर युवा वर्गमा लोकप्रिय बनेको ‘डर्मल’ आफूलाई कुल तथा फेसनेबल देखाउन गरेको बताउँछन् । फ्रिकस्ट्रिट स्टुडियोका ‘डर्मल’ तथा पियर्सिङ’ मास्टर प्रजिना श्रेष्ठ भन्नुहुन्छ, “डर्मल भनेको कुनै पनि शरीरको अङ्गमा धारिलो टप खोप्ने वा छेड्ने हो । जसलाई अहिले युवा पुस्ताले फेसनका रूपमा लिने गरेका छन् ।” ट्यान्टेनियम धातुको गहना शरीरमा ‘इनप्लान’ गर्ने हो । मास्टर श्रेष्ठले चिकित्सकले जस्तै शरीरको कुनै भागको मांसपेशीलाई बायोप्सी गर्न प्रयोग गर्ने औजार नै प्रयोग गर्दै मासुको एक टुक्रा निकाल्ने र त्यसैमा गहना छिराउने गर्नुहुन्छ  । 

यस्तो गराउँदा उहाँले १४ दिनमा उक्त घाउ पूरै निको हुने तथा कुनै पनि इन्फेक्सन नहुने दाबी गर्नुभयो । श्रेष्ठले थप्नुभयो, “मेलै प्रयोग गर्ने सबै सामान जर्मनीबाट आयात गर्छु । जुन सबै स्वस्थकर हुन्छ ।” बेलायतबाट विज्ञान विषयमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठले स्वास्थ्यको हिसाबमा कुनै पनि हेलचेक्र्याइँ नगर्ने जानकारी दिँदै भन्नुभयो, “मैले प्रयोग गर्ने सबै समान पूर्ण रूपमा स्ट्रेलाइड हुन्छ । एक पटक प्रयोग गरिसकेको सामान अरू व्यक्तिलाई प्रयोग गर्दा पूर्ण रूपमा स्ट्रेलाइड गरेर मात्र प्रयोग गर्छु ।’’

यसैगरी अहिलेसम्म औँठी दिएर प्रपोज गर्ने तरिकामा पनि प्रपोज गर्दा ‘डर्मल पियर्सिङ’ नै गर्ने नयाँ शैली पनि देखिन थालेको छ । केही मानिस अब आफ्नो प्रेम प्रकट गर्नका लागि स्थायी रूपमै औँला छेडेर औँठी फिट गराइरहेका छन् । यसलाई सिङ्गल प्वाइन्ट डर्मल पियर्सिङ भन्ने गरिन्छ । यसका लागि शरीरमा छालामुनि एउटा टुक्रा हालिन्छ, जसलाई एङ्कर भनिन्छ । यो एङ्कर औँठीसँग जोडिएको हुन्छ ता कि छालालाई यताउता नगरी औँठी आफ्नो स्थानमा टिकिरहोस् । यो औँठी शरीरमा खोपिएको बहुमूल्य हीरा वा पत्थरजस्तो देखिन्छ । 

श्रेष्ठले साधारणतया २२ वर्षभन्दा कमका युवा पुस्ताले ‘डर्मल’ गर्ने गरेको जानकारी दिनुभयो । उहाँले युवकको दाँजोमा युवतीले बढी ‘डर्मल’ गर्ने गरेको जानकारी दिँदै भन्नुभयो, “डर्मल लामो समयसम्म राख्दैनन् । प्रायः उमेर छिप्पिदै गएपछि यसको सोख पनि बिस्तारै हराएर जाने गरेको पाइन्छ ।” भर्खरका युवा पुस्तामा यस्तो फेसन देखिन्छ । पछि ३० वर्षमाथि भएपछि ‘डर्मल’ गर्नेहरू सुकाउने गर्छन् । उहाँले भन्नुभयो, “शरीरको अङ्गमा घाउचोट लागेपछि त्यसको उपचार त गर्नु नै पर्छ । ‘डर्मल’ गरिसकेपछि आफूले अलि रेखदेख गर्नुपर्छ । जुन ठाउँमा छेडेको हो त्यसलाई डिस्टिलपानीले सफा गर्नुपर्छ ।”