• ९ पुस २०८१, मङ्गलबार

उडान सेडुअल थप्न हुम्लावासीको माग

blog

राजन रावत

हुम्ला, फागुुन २७ गते । हाल हप्ताको दुई वटा मात्र सेडुअल उडान भर्दै आएका निजी एयरलाइन्सलाई हप्तामा चार वटा उडान भर्न हुम्लावासीहरूले माग गरेका छन् । पर्यटकीय सिजन सुरु भएको भन्दै नेपालगञ्ज र सुर्खेतबाट उडान भर्ने निजी एयरलाइन्सहरु पोखरा र काठमाडौं फर्कन थालेपछि हुम्लावासीको यातायात सेवालाई सहज बनाउन सेडुल उडान थप गर्न माग गरिएको हो । 

सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले एउटा एयरलाइन्सले हप्तामा चार वडा सेडुअल उडान भर्ने व्यवस्था गर्न हुम्लावासीको तर्फबाट माग गरिएको बताउनुभयो । जिल्ला प्रशासक कार्यालयमा हवाई यातायात सहज बनाउनका लागि बसेको समन्वय बैठकले सो माग गरेको हो । उहाँले दुई दिनयता नेपालगञ्ज र सुर्खेतबाट उडान कम भर्न थालिएपछि सेडुलअ उडान एउटा एयरलाइन्सले चार वटा भर्न बैठकले माग गरेको बताउनुभयो । 

हाल निजी एयरलाइन्स तारा, सीता, समिट एयरले हप्तामा दुई दुई सेडुअल उडान भर्दै आएका छन् भने नेपाल एइरलाईन्सले हप्तामा दुई उडान भर्ने गरेको छ । त्यतिले यात्रुहरुलाई हवाई यातायात गर्न सहज नभएपछि चार्टर उडानबाटसमेत यात्रुहरू आउने गर्दै आउनु भएको थियो । पर्यटकीय सिजन सुरु भएको भन्दै निजी एयरलाइन्सहरु पोखरा र काठामाडौं फिर्ता भएपछि चार्टर उडान नुहुने र सेडुअल उडानबाट मात्र यात्रुहरुलाई यात्रा गर्न कठिन हुने भएपछि सेडुअल उडान सङ्ख्या थप गर्न माग गरिएको हो। 

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको अध्यक्षतामा बसेको समन्वय बैठकले बिरामी, विद्यार्थी, अपर्झट काम पर्ने कर्मचारी लगायतका लागि टिकटको समस्या हुने भएको कारण प्रत्येक उडानका लागि दुई सिट स्थानीय प्रशासनका लागि आरक्षण व्यवस्थालाई निरन्तरता दिने पनि माग गरिएको छ । त्यसैगरि बैठकले उडान कम हुन थलोपछि जिल्लामा खाद्यान्न तथा विकास निर्माणका सामानहरू ढुवानीमा समस्या पर्ने भएपछि एयरलाइन्सहरुलाई उडान थप्न पनि माग गरिएको छ । 

बैठकमा सबै एयरलाइन्सका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारी र उपाध्यक्ष सुशीला रोकायाकोसमेत उपस्थिति रहेको थियो । तारा र सीता एयर फिर्ता भइसकेको छ भने समिट एयरको एउटा मात्र जहाज रहेको छ । केही दिनमा समिट एयर पनि काठमाडौं फिर्ता हुँदैछ ।