प्रतीक इच्छुक शर्मा
सल्यान, चैत २५ गते । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराम सापकोटाले सल्यानमा ठेक्काबिना गिट्टी–बालुवा उत्खनन गर्न नदिने स्पष्ट पार्नुभएको छ। अनुगमनका क्रममा सल्यान आई पुग्नुभएका सापकोटाले कानुनी प्रक्रिया पूरा नगरी प्राकृतिक स्रोतको दोहन गर्ने कार्य कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिनुभयो।
उहाँले स्थानीय तहले आवश्यक प्रक्रिया पूरा गरी विधिसम्मत रूपमा ठेक्का लगाएका खोलानालामा हुने उत्खननमा प्रहरीको अवरोध नहुने तर ठेक्का नभएका क्षेत्रबाट गिट्टी–बालुवा संकलन तथा ढुवानी गरे कडा कानुनी कारबाही गरिने बताउनुभयो। “कानुनको पालना गराउनु प्रहरीको प्रमुख दायित्व हो, त्यसैले अवैध गतिविधिमा संलग्न जो–कोहीलाई छुट दिइने छैन,” उहाँले भन्नुभयो।
प्रहरीका अनुसार हालसम्म कालिमाटी गाउँपालिकाको घुईवारीखोला तथा कालिमाटी र त्रिवेणी गाउँपालिकाले मात्र गिट्टी–बालुवा उत्खननका लागि आवश्यक प्रक्रिया पूरा गरी ठेक्का आह्वान गरेका छन्। अन्य स्थानमा भने कानुनी प्रक्रिया पूरा नगरी उत्खनन भइरहेको गुनासो बढ्दै गएको छ।
यसैबीच, केही दिनअघि प्रहरीले अवैध रूपमा गिट्टी–बालुवा उत्खननमा संलग्न रहेको आरोपमा २५ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यस विषयमा यसअघि नै जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधिहरूले खोलानालाबाट खानीजन्य तथा नदीजन्य पदार्थको सङ्कलन तथा वितरण कानुनसम्मत भए–नभएकोबारे छानबिन गर्न माग गरेका थिए। सोही सन्दर्भमा प्रहरी प्रमुख सापकोटाको यो भनाइ आएको हो। उहाँले प्राकृतिक स्रोतको दिगो उपयोगमा जोड दिँदै अवैध उत्खननले दीर्घकालीन रूपमा वातावरण र समाजमा नकारात्मक प्रभाव पार्ने बताउनुभयो।
प्रहरीले ठेक्का प्रक्रियामा सहभागी नभएको बहानामा जथाभावी रूपमा प्राकृतिक स्रोत दोहन गर्न नहुने स्पष्ट पार्दै यस कार्यमा संलग्न व्यक्ति तथा समूहविरुद्ध निगरानी कडा पारिएको जनाएको छ। साथै, स्थानीय तह, सम्बन्धित निकाय र समुदायबीच समन्वय गरेर मात्रै प्राकृतिक स्रोतको उपयोग गर्नुपर्नेमा जोड दिइएको छ।