• ९ पुस २०८१, मङ्गलबार

रैथाने बाली खरिद सुरु

blog

हुम्ला समाचारदाता

हुम्ला, फागुन २७ गते । हुम्लामा उत्पादन हुने स्थानीय रैथाने बाली सिमकोट गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालयलाई बिक्री सुरु गरेको छ । गाउँपालिकाले किसानसँग खरिद गरेका रैथाने बाली शुक्रबारदेखि औपचारिक रूपमा बिक्री सुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष विजय भण्डारीले एक महिनायता किसानसँग खरिद गरेका रैथाने बालीको उत्पादन खाद्य कम्पनीलाई बिक्री सुरु गरेको बताउनुभयो । गाउँपालिकाले शाखाको गोदाममा लगेर हस्तान्तरण गरेको हो । रैथाने बालीमा चिनो र कागुनोको चामल, सिमी र फापरको दाना बिक्री गरेको हो । 

गाउँपालिकाको कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले पहिलो दिन प्रशोधन गरेको चिनोको चामल १२ क्विन्टल, कागुनो ६० केजी, सिमी पाँच क्विन्टल र फापरका दाना १० क्विन्टल खाद्य कम्पनीको हुम्ला शाखालाई हस्तान्तरण गरिएको बताउनुभयो । 

गाउँपालिकाले किसानबाट रैथानी बाली खरिद गरिरहेको छ । हाल गाउँपालिकासँग १८ क्विन्टल कागुनो, २८ क्विन्टल चिनो, १२ क्विन्टल सिमी र १० क्विन्टल फापर सङ्कलन भएको उहाँले बताउनुभयो ।  खाद्य कम्पनीको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले खरिद गरिएको अन्न चाँडै काठमाडौँ पठाउने तयारी गरिरहेको जानकारी दिनुभयो ।