• १३ साउन २०८१, आइतबार

विषादी परीक्षणबारे छलफल गरिने

blog

काठमाडौँ, फागुन २७ गते । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

जीवनाशक विषादीको परीक्षणसम्बन्धी प्रस्ताव नेपाल राजपत्रमा प्रकाशन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भदौ १५ गते मन्त्रिपरिषद्मा पेस गरेको र भदौ २१ गते मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाइएको भए पनि त्यसपछि थप प्रक्रिया अगाडि बढ्न सकेको थिएन । 

२०७९ मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भएर नयाँ सरकार गठन भएपछि पुरानो मन्त्रिपरिषद्का निर्णय स्वतः फिर्ता जाने प्रचलनअनुरूप सो प्रस्ताव पनि फिर्ता गएको थियो । प्रधानमन्त्री प्रचण्डले नयाँ प्रस्ताव तुरुन्त ल्याउन  निर्देशन दिनुभएअनुरूप नयाँ प्रस्ताव प्राप्त भएपछि मन्त्रिपरिषद् बैठकले फाइलमाथि थप छलफलका लागि समितिमा पठाउने निर्णय गरेको हो ।

समितिमा छलफलपछि उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकमा प्रस्तुत हुने सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

कृषि तथा पशुपन्छी मन्त्रालयले तरकारीमा बढ्दो रासायनिक विषादीको प्रयोगलाई कम गर्ने उद्देश्यसाथ कालीमाटी तरकारी बजारसहित देशका सात स्थानमा प्रयोगशाला सञ्चालन गरेर परीक्षण गर्दै आएको छ । हाल केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत देशभर सातवटा र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत १५ वटा प्रयोगशालाले विषादी परीक्षण गर्दै आएका छन् । यी प्रयोगशालाबाट सीमित जनशक्तिबाट नमुना सङ्कलन गरेर परीक्षण गर्ने काम भइरहेको छ । तर ती प्रयोगशालाबाट हुँदै आएका काम त्यति सन्तोषजनक नभएको स्वयं प्रयोगशालाका प्राविधिक नै स्वीकार गर्छन् । 

केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतका प्रयोगशालाले हाल गर्दै आएको विषादी समूहको परीक्षण प्रविधि समयानुकूल बनाउन नसकेको कृषि प्राविधिक बताउँछन् । प्रयोगशालालाई आवश्यक साधन स्रोत र समयानुकूल प्रविधिको विकास गर्नेमा ध्यान नदिई अन्तर्राष्ट्रिय स्तरको गुणस्तर खोजेर सम्भव नहुने केन्द्रीय प्रयोगशालाका प्रमुख नरहरि घिमिरेले बताउनुभयो । 

प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार नेपालमा हाल १६५ प्रकारका विषादी दर्ता भएर प्रयोगमा रहेका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा ७८३ मेट्रिक टन रासायनिक विषादी भित्रिएको छ । आर्थिक वर्ष २०७७/७८ मा ६६३ मेट्रिक टन रासायनिक विषादी भित्रिएको थियो । केन्द्रका प्रमुख सावित्री बरालले देशभर व्यावसायिक तरकारी खेतीसँगै रासायनिक विषादीको प्रयोग बढेको स्वीकार्नुभयो ।