आजको विश्वमा पैसाको प्रभुत्व बढेको छ। पैसा कमाउनका लागि प्रविधि र प्रविधि प्रवद्र्धनका लागि पैसा चाहिन्छ। फलस्वरूप प्रविधिको जगत्मा कृत्रिम चैतन्यको विकास गरी त्यसबाट समेत काम लिन थालिएको छ। यसले कामको गति र पैसाको कमाइ दुवै बढे पनि त्यसको लाभको वितरण भने न्यायोचित हुनसकेको छैन, सीमित व्यक्ति र परिवारमा केन्द्रीकृत हुँदैछ। हुन त, देशको अर्थव्यवस्था उपलब्ध साधनको प्रभावकारी प्रयोग, संरक्षण, संवद्र्धन, खोज र व्यवस्थापन गरी नागरिकको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्ने विषयसँग जोडिएको हुन्छ। अर्थतन्त्र नै राजनीतिक दर्शनलाई नतिजामा बदल्ने उपयुक्त प्रणाली हो। अर्थ व्यवस्थालाई सही मार्गमा डो-याउन राज्यबाट उचित क्षेत्रमा रकम विनियोजन र निजी क्षेत्रबाट उचित अनुपातमा लगानीको आवश्यकता पर्छ। विनियोजनसमेतको लगानीबाट प्राप्त उत्पादन, आय र सम्पत्तिको न्यायोचित बाँडफाँट गर्न असल अर्थपद्धति चाहिन्छ। यसरी हेर्दा अर्थ व्यवस्था भनेको राज्यको मुटु हो। जसरी मुटु नचल्दा राम्रोगरी रक्तसञ्चार हुन नसकेर मानिस मर्छ, देशमा पनि उत्पादनशील र सामाजिक क्षेत्रमा पर्याप्त लगानी भएन भने अर्थतन्त्रका धमिनीहरू कमजोर हुन्छन्। सबै अङ्गमा साधनको प्रवाह हुन सत्तैmन, अर्थतन्त्र खुम्चेर जान्छ, नागरिकको हातमा काम हुंदैन, पाउनुपर्ने सेवा पाउँदैनन्।
राज्यका असल हकदार नागरिक हुन्। त्यसैले राज्य सञ्चालन गर्दा नागरिकको जीउ, धन, शिक्षा, स्वास्थ्य, सूचना तथा सहज दैनिकीको विषयमा विशेष ख्याल राख्नु पर्छ। यसका अतिरिक्त अर्थ व्यवस्थालाई गतिदिने कार्य प्राकृतिक स्रोत, तिनको दिगो उपयोग र नागरिकको हातमा रहेको अन्य साधनको समुचित परिचालनको विषयसँग जोडिन्छ। यी कार्य व्यवसायसँग जोडिन्छन्, व्यवसाय लाभ वा मुनाफासँग जोडिन्छ। मुनाफाले कार्य उत्प्रेरणा र उत्साह जगाउँछ। लगानी र उत्पादन बढाउन, मानव जीवनलाई जीवन्त राख्न र अर्थतन्त्रलाई चलायमान बनाउन उचित मुनाफा अपरिहार्य हुन्छ। यसले स्रोतको दक्षता र प्रभावकारिता बढाउँछ, अनुसन्धान तथा अन्वेषण्को वातावरण तयार गर्छ र थप लगानी आकर्षित गर्छ। तर अर्थतन्त्र मूल्य अभिवृद्धि र मुनाफासँग मात्र होइन समाजसँग पनि जोडिएको हुन्छ। समाज विशुद्ध पैसा र नाफाले मात्र चल्दैन। त्यसैले मुनाफाले बाटो विरायो भने समाजमा गम्भीर दुष्परिणाम पैदा हुन्छन, धनी र गरिबबीचको खाडल बढ्छ, सामाजिक सद्भाव खलबलिन्छ।
विनियोजन र लगानीबाट दुई किसिमको प्रतिफलको अपेक्षा गरिन्छ। राज्यको विनियोजनबाट सामाजिक सुरक्षा र न्याय, पूर्वाधारको विकास, प्राकृतिकसहित पर्यावरणको संरक्षण, सुशासन तथा जनताले चाहेको दैनिक सेवाको सहज आपूर्तिको अपेक्षा गरिन्छ। लगानीको बदलामा स्वभावतः सरकारले राजस्व र लगानीकर्ताले वित्तीय प्रतिफलको अपेक्षा राख्छन्। तर त्यस कार्यमा नागरिकको संलग्नता, उनीहरूले लगाएको लागत र श्रम, कार्य गर्ने क्रममा उनीहरूले खपेको असजिलोको विषयले पनि अर्थ राख्छ। त्यसको बदलामा नागरिकले प्राप्त गरेको लाभको महत्व, मात्रा र गुणस्तरको विषयले त्यतिकै महत्व राख्छ। मुनाफाले आमनागरिकको स्वास्थ्य, सुरक्षा तथा रोजगारीको विषयलाई सहयोग पु-यायो कि घात ग-यो भन्ने कुराको मूल्याङ्कन गरी नतिजा यकिन गरिनु पर्छ।
अहिलेको विश्वमा सरकारले उठाएको राजस्व तथा व्यवसायीले लिने मुनाफा संविधानको मर्म र राष्ट्रिय लक्ष्य एवं प्राथमिकतासँग मेल खान्छ खादैन ? आर्थिक कार्य वैध वा अवैध जसरी भए पनि मुनाफा लिन केन्द्रित छ कि? अथवा समाज र आमनागरिकको हित पूरा गरेपछि प्राप्त हुने मुनाफालाई संरक्षित गर्न दिशामा निर्देशित छ आदि प्रश्नको उत्तर खोज्ने बेला भएको छ। अहिले समाजमा परजीवी वर्गको आकार बढेको र त्यसले राजनीति, प्रशासन र केही व्यावसायिक घराना समेतलाई मुठीमा लिन सफल भएको छ भन्ने धारणा प्रबल हुँदै गएको छ। अर्को अर्थमा भन्दा राज्य बिचौलिया समूहबाट सञ्चालन हुन थालेको छ भनिन्छ। यहाँ प्रश्न उठ्छ, राज्यले पैसालाई नियन्त्रणमा राखी त्यसको विवेकपूर्ण प्रयोग गर्ने हो वा पैसाले राज्यलाई नियन्त्रणमा लिएर वितण्डा मच्चाउने भन्ने प्रश्न खडा भएको छ। विवेकशील मानव मर्दै छ, अर्थ मानव बढ्दै छ।
उत्पादन र व्यापार अर्थतन्त्रका प्रमुख अङ्ग हुन्। मुनाफा वा बचत उत्पादन र व्यापारसँग सम्बन्धित हुने हुँदा यसले मानव शरीरको रक्तप्रवाह जस्तै हो। उत्पादन र व्यापार पुँजी, लगानी, प्रविधि र श्रमसँग गएर जोडिन्छ। रक्त सञ्चालन बढी वा घटी हुनु हुँदैन। मुनाफा पनि सन्तुलित, सहन योग्य र बजार अनुकूल हुनुपर्छ। उच्च वा न्युन रक्तचापले शरीरलाई ढाल्न सक्छ। मुनाफा पनि त्यस्तै रहेछ, उच्च मुनाफाले अर्थतन्त्र ढाल्छ, हुनुपर्नेभन्दा न्यून मुनाफाले व्यवसायहरू धरासायी बनाउँछ, अनि अर्थतन्त्रमा जोखिम देखा पर्छ। राज्यतन्त्रले प्रभावकारी ढङ्गले काम नगर्दा, जनता पनि सचेत नहुँदा र व्यवसायीले समुचित, न्यायोचित र दिगो प्रकृतिको मुनाफा सम्बन्धमा हेक्का नराख्दा बजारले विकृत रूप धारणा गर्दोरहेछ। विकृत बजारले समाजको आर्थिक सामाजिक संरचनामा नै आँच पु-याउने स्थिति बन्छ र अहिले त्यसो हुँदै छ। बढी मुनाफाखोर वर्ग आमवर्ग होइन, साना र मध्यम खालका उद्यमी व्यवसायी होइनन्।
पछिल्लो कालखण्डमा अभ्यासमा आएको मुनाफाप्रतिको बुझाइ र व्यवहारले नागरिकको जीवनसँग जोडिएका बहुपक्षीय हितलाई जोगाउनभन्दा जोखिमतर्फ धकेल्दै छ। यसमा अमुक वर्ग, समूह र व्यक्ति मात्र दोषी छैन, बरु केही हदसम्म अर्थदर्शन, आर्थिक सामाजिक संरचना, लगानी तथा उत्पादन प्रणालीमा पनि खोट छ। कमाइलाई महत्व दिने तर त्यो कमाइ कहाँबाट आयो भन्नेतर्फ विचार नगर्ने समाजको सोचाइ पनि दोषी छ। अहिले सम्पत्ति शुद्धीकरणको नाममा गर्न खोजिएको नीतिगत परिवर्तन धेर थोर यस्तै सोचाइ, प्रवृत्ति, वर्ग, समूह र व्यक्तिबाट प्रभावित छ। विवेकहीन कोरा अर्थ मानवको स्वार्थले यसमा काम गरेको छ।
पछिल्लो समयमा विश्व आर्थिक समुदाय समाजका लागि उपयुक्त र मानव जीवनलाई गुणस्तरीय बनाउने वस्तु तथा सेवाभन्दा उच्चनाफा हुने वस्तु तथा सेवाको उत्पादन र बजारीकरणमा दाम्लो चुँडाएर लागेको छ। अहिलेका सचेत उपभोक्ता त्यसैमा रमेका छन्। सरकार राजस्व प्राप्त हुने लोभमा त्यसैतर्फ लहसिएको देख्न सकिन्छ। घोत्लिएर हेर्दा, रक्सी तथा सुर्तीजन्य पदार्थको उत्पादन तथा व्यापार किन ? उत्तर सोझो छ, लगानीकर्ता नाफाका लागि र सरकारको राजस्वका लागि। कृषि उत्पादनमा विषादी र वस्तुमा कालाबजारी र तस्करी नाफाकै लागि। रक्सी र सुर्तीजन्य वस्तुको उत्पादन तथा व्यापारबाट प्राप्त हुने लाभ र राजस्वको तुलनामा यसबाट मानव जीवनमा कैयौँ गुणा बढी हानि नोक्सानी पुगेको र कतिले क्यान्सरजस्ता घातक रोगको कारणले नागरिकले जीवन गुमाइरहेका विषयमा सरकारको पर्याप्त ध्यान पुगेको छैन।
कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने नाममा भएका र गरिएका प्रतिकूल काम तथा यस क्षेत्रमा विषादीको अनावश्यक प्रयोगले माटोमा र किसान तथा उत्पादनको उपभोग गर्ने उपझोक्ताको जीउ ज्यानमा परेको असर एवं नोक्सानीको लेखाजोखा खोइ ? भ्यागुता, सर्प, गँगटा र गड्यौला लोप हुँदै गएका छन्, कौवाको सङ्ख्या घटेको छ, भँगेरा देखिन छाडे, लामखुट्टे हिमाली भेगमा पुगिसक्यो। बाली नोक्सान गर्ने शङ्खेकीरा छ्यापछ्याप्ती भएका छन्। यसरी पर्यावरणीय चक्रका अंशियारको रूपमा रहेका मित्र जीवहरूको अनुपस्थितिमा शत्रुकीरा कसले खाइदिने ? यसबाट उत्पादनदेखि मानव जीवन तथा पर्यावरणमा परेको असरबारे पर्याप्त मात्रामा ध्यानाकर्षण हुन सकेको छैन। मानिसको शरीरलाई चाहिने धेरै किसिमका तìव आपूर्ति गर्न सक्ने गुण भएका पम्परागत खाद्यान्न र अन्य उत्पादन हराउँदै गएका छन्, तिनका बीउबिजन लोप भएका छन्। सामाजिक क्षेत्र प्रदूषित छ। नाफा गर्नका लागि कलेज र अस्पताल खोल्न दिने नीतिले जीवनका लागि नभई नहुने यस्ता सेवाहरू न्यायोचित लागतमा पाउने अपेक्षा गर्नु मूर्खता साबित हुने अवस्था छ। विद्यालय महाविद्यालयमा भर्ना हुन क्यापिटेसनको नाममा अतिरिक्त मुनाफा दिनुपर्ने कल्याणकारी व्यवस्था हामीले पनि अपनाएका छौँ। अर्थतन्त्रको मूल जरो राजनीतिले पनि समाज विरोधी व्यापारमा संलग्न भएको प्रतित हुन्छ।
यसरी समाजलाई अनुचित मुनाफाको यान्त्रीकरणको जालोमा फसाइँदै छ। विवेकी मानवलाई अर्थ र वित्तीय मानवमा रूपान्तरण गरिँदै छ। अहिलेको अनधिकृत तरिकाले पैसा देश बाहिर जाने र देशभित्र ल्याइने कार्य पनि यस्तै प्रवृत्तिको नतिजा हो भन्न
अप्ठ्यारो पर्दैन। यसरी समाज र अर्थव्यवस्थाबाट मानवीयता, प्रकृति र सामजिक मूल्य क्रमशः ह्रास हुँदै गएको छ। राजनीति राज्यनीति रहेन, राजनीतिको मूल उद्देश्य राज्य निर्माण हो तर यसमा विचलन आएको छ। यो एक ढङ्गले विश्वकै समस्या हो। त्यसैले अब नेतृत्वले मानिसलाई पहिले सामाजिक प्राणी र त्यसपछि मात्र अर्थ मानव हो भन्ने कुरा पुष्टि गर्ने गरी अगाडि बढ्नु पर्छ। यो कार्यको सङ्कल्प र प्रारम्भ नेपालबाटै हुनुपर्छ। अनि मात्र समाजवाद उन्मुख अर्थ व्यवस्थाबाट समृद्धिको लक्ष्य हासिल हुने वातावरण बन्ने छ।
लेखक अर्थविद् हुनुहुन्छ।