• ८ मंसिर २०८१, शनिबार

मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुग्यो

blog

परिक्रमाका सहभागी श्रद्धालु । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केवर, फागुन २२ गते । 
मिथिलाञ्चलको बहुचर्चित धार्मिक एवम् सांस्कृतिक उत्सव मिथिला माध्यमिकी परिक्रमा आज (सोमबार) जनकपुरधाम आइपुगेको छ । फागुन ८ गते औँसीका दिन धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट सुरु भएको परिक्रमा आज जनकपुरधाम आइपुगेको हो ।

मिथिलाविहारी मन्दिरबाट सुरु भएको परिक्रमा हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोषर, औरही, करुणा, विशौल हुँदै जनकपुरधाम आइपुगेको हो ।


जनकपुरधाम आइपुगेका परिक्रमा यात्री तथा श्रद्धालु राति बारहबिघा मैदानमा विश्राम गर्नेछन् । मङ्गलबार बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि १५ दिवसीय परिक्रमा विधिवत सम्पन्न हुनेछ ।  १५ दिवसीय परिक्रमामा भाग लिन नसकेका श्रद्धालु अन्तरगृह परिक्रमामा सहभागी हुने गर्दछन् । अन्तरगृह परिक्रममा सहभागी हुन पाए पनि मोक्ष प्राप्ती हुने जनविश्वास रहेको छ ।

नेपाल–भारत दुबै देशको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक माध्यमिकी परिक्रमा यात्रा नेपाल र भारतमा गरी १५ ठाउँमा विश्रामस्थल छन् । यी सबै स्थानमा परिक्रमाका यात्रीलाई स्थानीयवासीले उत्साहका स्वागत साथ सेवा सत्कार गरेका थिए ।


यस पटक स्थानीय सरकार पनि व्यवस्थापनमा जुटेका थिए । परिक्रमाअन्तर्गत विश्रामस्थलमा पर्ने स्थानीय सरकारले साधुसन्त तथा भक्तजनका लागि भोजन, पानी, विद्युत, अस्थायी शौचालय, स्वास्थ्य शिविर व्यवस्थाको व्यवस्था मिलाएको थियो । परिक्रमामा सहभागी यात्रीले नेपालका १०७ एवम् भारतको २६ गरी १३३ किलोमिटर भूमिको पैदलयात्रा तय गरेका थिए ।