काठमाडौं, फागुन २२ गते । होली अर्थात् फागु पूर्णिमा विभिन्न रङ्गहरूको चाड हो । होली एक प्राचीन उत्सव हो । यो पर्व नेपाल एवम् भारतमा प्राचीनकालदेखि नै प्रचलित हुँदै आएको एक विशिष्ट पर्व हो ।
संस्कृतिविद् हरिराम जोशीका अनुसार, फागु पर्वलाई वसन्तोत्सवको रूपमा पनि लिन सकिन्छ । उहाँका अनुसार, यो उत्सव वसन्तऋतुको साहित्यहरूमा वर्णन गरिएको पाइन्छ ।
नेपालमा होलीका पर्व पूर्व मध्यकालदेखि मनाउन सुरु गरिएको संस्कृतिविद् जोशीको भनाइ छ । काठमाडौंको वसन्तपुर फाल्गुणशुक्ल अष्टमीको दिन चीरोत्थान गरेदेखि आठ दिनसम्म फागुको उत्सव मनाउने चलन छ । चीरोत्थानको बेला भगवान् शिवसँग सम्बन्धित एक हिन्दी भजन गीत गाउने परम्परा पहिलेदेखि चल्दै आएको उहाँ बताउनुहुन्छ ।
संस्कृतिविद् जोशी भन्नुहुन्छ, “महाकवि कालिदासको मालविकाग्निमित्र, महाकवि भवभूतिको मालतीमाधव, हर्षको रत्नावली तथा राजशेखरको कर्पूरमञ्जरीजस्ता ग्रन्थहरू यहाँ वसन्तको बहारसँगै प्रारम्भ हुने हुँदा यसलाई शीत कालको पीडा, उत्पीदनबाट उन्मुक्त भई मानवसहित सम्पूर्ण प्रकृतिमा उन्मुक्तताको बहार आउने हुँदा होली पर्वलाई विजयको अवसरमा मनाइने उत्सव विशेषको रूपमा समेत लिन सकिन्छ ।”
होलीको प्रारम्भिक शब्द ‘होलाका’ हो । फाल्गुनको पूर्णिमामा मानिसहरू पिचकारीले एक अर्कालाई रङ्गिन पानीले छ्याप्ने र अबीर लगाउने चलन छ ।
जोशी भन्नुहुन्छ, “होलिका पूर्णिमा ‘हुताशनी’ हो । फाल्गुन पूर्णिमालाई लिङ्ग पुराणले फाल्गुनिकाको संज्ञा दिएको छ । यस्तै, वराहपुराण अनुसार पटवास विलासिनी अर्थात् यो अबीर युक्त खेल हो ।”
फाल्गुण पूर्णिमाको इतिहास
होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अर्थात् त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान् विष्णुले नरसिंह अवतार लिएर मारेका थिए ।
हिरण्यकश्यपुका छोरा प्रह्लाद विष्णुका परम भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान् विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजना बनाएका थिए ।
एक योजनाअनुसार हिरण्यकश्यपले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएको थियो । दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन।
यसरी होलिका दहनकै खुसीयाली मनाउन आपसमा रङ्ग र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भारतको र नेपालको मधेशको होली होलीका राक्षसनीसँग सम्बन्धित छ ।
संस्कृतिविद् जगमान गुरुङका अनुसार फागु पूर्णिमा लागेपछि दिन घमाइलो हुने गर्छ । आमोदप्रमोद मनोरञ्जनका कुरा पनि यससँग जोडिएको उहाँको भनाइ छ ।
पुस माघको जाडो छल्दै रङ्ग महोत्सव फागुनमा मनाउने परम्परमा बनेको डा.गुरूङ्ग बताउनुहुन्छ ।
“सूर्यका सातवटा किरण छ । यो ‘कलर थेरापी’ हो । सप्तरङ्गीको प्रयोगबाट छालाजन्य रोगको निवारण हुने भएकाले होलीलाई रङ्गको पर्व भन्ने गरिन्छ”।
यस्तै, गुरुङ भन्नुहुन्छ, “नेपालको पहाड खण्डको र नेपाल मण्डलको फागु मनाउने परम्परा भगवान् श्रीकृष्णसँग जोडिएको छ । भगवान् कृष्णले गोपिनीहरूलाई चीर हरण गरेको र गोपिनीहरू र भगवान् कृष्णको रासलीलासँग जोडिएको छ ।”
‘‘रासलीला अर्थात् भगवान् कृष्ण बाँसुरी बसाएर बीचमा नाच्नुहुन्छ, वरिपरि गोपिनीहरू पनि नाच्दै रङ्ग महोत्सव मनाउँछन् । यसरी भगवान् कृष्णको रासलीलाको रूपमा नेपालको पहाड खण्ड र नेपाल मण्डलमा फागु मनाउने परम्परा चलेको हो ।” गुरुङ भन्नुहुन्छ ।
पहिलेका हर्बल रङ्ग छालाजन्य रोगको निवारण गर्न प्रयोग गरिन्थ्यो तर अहिलेको रङ्मा विषादी भएको कारण यसलाई हर्बल भन्न सकिँदैन ।
फागु र होलीको अर्थ पृथक् रहेको गुरुङको भनाइ छ । उहाँका अनुसार मानिसका छालाजन्य रोगलाई निवारण गर्नका लागि विभिन्न थरीका रङ्गहरूको प्रयोग गरिएको हो । पहिलेका हर्बल रङ्ग छालाजन्य रोगको निवारण गर्न प्रयोग गरिन्थ्यो तर अहिलेको रङ्मा विषादी भएको कारण यसलाई हर्बल भन्न नकिल्ने उहाँ बताउनुहुन्छ ।
होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रङ्ग बढी प्रयोग हुन्छ । यी रङ्गहरूका आ–आफ्नै धार्मिक तथा संस्कृति महत्त्व छन् ।
रातो : रातो रङ्गलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । त्यसैले देवताले रातो रङ्गको पहिरन लगाएका हुन्छन् । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ । हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ । स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकको रातो रङ्गलाई साहस र प्रेमको प्रतीकका रूपमा लिइन्छ ।
हरियो : हरियो रङलाई प्राण, जीवनशक्ति एवम् मार्मिकताको प्रतीक मानिन्छ । यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रङ्ग पनि भनिन्छ । हरियो रङ्ग मन पराउने मानिसहरूको आत्मविश्वास भने कम हुने विश्वास छ ।
पहेँलो : यो रङ्गलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ । कतिपय समुदायमा त रातो र पंहेलो अबिर दलेर होली खेल्ने परम्परा पनि छ । यो रङ्गको सम्बन्ध खुसी र हर्षसँग पनि छ ।
नीलो : नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नील वर्णका भगवान् विष्णुले अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको मान्यता पनि सुन्न पाइन्छ ।
यो रङ्गलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ । त्यसैले पनि यो रङ्गको प्रयोग बढी हुन्छ । यो रङ्ग मन पराउने मानिसहरू सन्तुलित विचारधाराका हुन्छन् ।
यस्तै, थारु समुदायमा होलीलाई ‘फगुवा’ चाड भन्ने चलन छ । नेपालका भित्री मधेश तथा तराईका थारु समाजमा यो पर्वलाई नयाँ वर्षको उत्सव रूपमा लिने गरिन्छ ।
प्रचलित परम्परा अनुसार फागुको उत्सव मुख्यतः फाल्गुण शुक्ल अष्टमीदेखि सुरु भई फाल्गुण शुक्ल पूर्णिमासम्म मनाइन्छ । यसरी देशभर फागुपूर्णिमा हर्षका साथ मनाउने परम्परा चलिआएको पाइन्छ ।