विद्यार्थी सङ्गठन पार्टीहरूका उर्वर नर्सरी हुन् । पार्टीका उर्वर नर्सरीमा यतिबेला ढुसी लागेको छ । अनेकौँ रोग र प्रकोपले नर्सरी तहसनहस छ । विद्यार्थी सङ्गठनका पार्टपुर्जामा खिया परेको छ । सबै पार्टीका भ्रातृ सङ्गठनमध्ये लडाकु र बौद्धिक दस्ता विद्यार्थी सङ्घ, सङ्गठन हुन् । विद्यार्थी सङ्घ, सङ्गठनका आआफ्ना गौरवशाली इतिहास र गाथा छन् । विद्यार्थी सङ्घको राजनीतिबाट स्थापित नेता हरेक पार्टीको केन्द्रीय नेतृत्वमा छन् । आज पार्टी हाँक्ने र हाँक्न ठिक्क परेका नेतागण गौरवपूर्ण विद्यार्थी आन्दोलनका उत्पादन हुन् ।
विद्यार्थी सङ्घ, सङ्गठन नेताको गुटको सिकार भएका छन् । हरेक नेतालाई आफू बलियो देखिन विद्यार्थीको हात र साथ चाहिएको छ । अदूरदर्शी र अकर्मण्य नेतृत्वका कारण नर्सरी गुटगत भाइरसले ग्रस्त छ । विद्यार्थी सङ्गठन कमजोर हुनु भनेको पार्टीको खुट्टामा बन्चरो लाग्नु बराबर हो । पार्टीका प्रवासमा रहेका सङ्घहरूमा, शुभेच्छुकमा पनि गुट र स्वार्थको पसल खुलेका छन् । आआफ्नो गुटमा लगानी गरेर स्वार्थको किनबेच गर्ने पसल र अखडा नखोलेसम्म आफ्नो राजनीतिक भविष्य सुरक्षित हुन्न, आफ्नो पक्षमा बोलिदिने र लबिङ गरिदिने मान्छे हुँदैनन् भन्ने मनोविज्ञानले हर नेता ग्रसित र त्रसित छन् ।
तसर्थ आआफ्नो हितानुकूल विभिन्न खुद्रा पसल चलाएर घेराबन्दीमा पार्ने दाउ र मेसो मिलाइरहन्छन् । संस्थापन शक्ति सन्तुलन मिलाउन जान्दैन र चाहँदैन । कुनै पनि पार्टीमा विवाद सिर्जना हुँदा पार्टीलाई हस्तक्षेप गर्नुपर्ने, मिलाएर लान पहल गर्नुपर्नेमा विद्यार्थी सङ्गठन पार्टीभन्दा आफू फुट्न अग्रसर देखिन्छन् । यसको मतलव हो– विद्यार्थी सङ्गठनमा पार्टीको रोग अत्यधिक सल्केको छ । पार्टी राजनीतिको रोग तलतलसम्म पुगेको छ । आलोचनात्मक चेत र पठन संस्कृति ध्वस्त छ । भजन गर्ने र आरती उतार्ने जमात बढी छ । अवसर सबैकोमा पालैपालो पुग्ने वातावरण रचना गर्नुपर्छ; जुन आजका पार्टी व्यवस्थापकको मुख्य चुनौती र टाउको दुखाइको विषय बनेको छ ।
विद्यार्थी सङ्गठनको शिथिलता भनेको अन्ततः पार्टीहरूको भविष्य अन्धकार हुनु हो । आफ्नो गौरवशाली इतिहास भएका कारण नै आज पार्टीमा नेताहरू स्थापित हुन सकेका हुन् । नेपाली कांग्रेसका सभापति र पूर्वप्रधानमन्त्री देउवा नेविसङ्घकै अध्यक्षसमेत भएका पूर्वविद्यार्थी नेता हुन् । नेपाली कांग्रेसको राजनीतिमा आज चर्चा र स्थापित नेताहरू रामचन्द्र पौडेल, चन्द्र भण्डारी, एनपी सावद, बालकृष्ण खाण, गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, कुन्दन काफ्ले, जीवन परियार इत्यादि छन् भने एमालेभित्र शङ्कर पोख्रेल, ठाकुर गैरे, टङ्क कार्की, नवीना लामालगायत छन् । नेकपा समाजवादीका घनश्याम भुसाल, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, राजेन्द्र राईहरू तथा माओवादीमा रहेका लेखनाथ न्यौपाने, हिमाल शर्मा, कृष्णध्वज खड्का आदि विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा फड्को मारेका नेता हुन् । यस्तैगरी अन्य सानाठूला दलका नेताहरू पनि विद्यार्थी राजनीतिबाट खारिएर राजनीतिमा आएका छन् । यसर्थ विद्यार्थी राजनीति पार्टीका लागि उर्वर राजनीतिक नर्सरी भएको तथ्य घामजत्तिकै छर्लङ्ग छ तर आज हिजोको जस्तो नर्सरी रहेको देखिन्न । २००४ असार १ को जयतु संस्कृतम्बाट सुरु भएको विद्यार्थी राजनीति भए पनि विद्यार्थी नेता गङ्गालालको हत्या १९९७ माघ १५ मा भएको थियो । त्यतिबेलादेखि नै विद्यार्थी राजनीतिमा थिए ।
२००७ सालको परिवर्तनमा पनि विद्यार्थीको भूमिका थियो । प्रजातन्त्र स्थापनापछि विभिन्न छात्र सङ्गठन र फेडेरेसन खुल्दै गए । २०२२ सालमा अखिल सम्मेलनको जगमा अनेरास्ववियु र २०२७ सालमा नेपाल विद्यार्थी सङ्घको स्थापनापश्चात् थुप्रै राजनीतिक दलका भ्रातृ सङ्गठन र आन्दोलनको मेरुदण्डका रूपमा विद्यार्थी सङ्घहरू क्रियाशील छन् । नेपालको राजनीतिको ऐतिहासिक परिवर्तनको मूल संवाहक र लडाकु दस्ता विद्यार्थी सङ्गठनहरू थिए । पञ्चायत कालमा नै २०२२ मा स्ववियु स्थापना गर्न नेपाली विद्यार्थीले ठूलो बलिदान गरेका थिए । फलस्वरूप दलहरू प्रतिबन्धित हुँदा पनि स्ववियुमार्फत राजनीतिक पार्टीका विचारहरू विमर्श गर्ने ठाउँ बनेको थियो । २०३६ सालको विद्यार्थी
आन्दोलन २०४६ को जनान्दोलन, २०६२/६३ को आन्दोलन सबैमा नेपाली विद्यार्थीको रगत, पसिना, आँसु र जीवन पोखिएको छ ।
नेपाली विद्यार्थी सङ्घ, सङ्गठनबिनाको कुनै पनि आन्दोलन अपूरो र अधुरो हुन्छ । यस्तो अहम् सवाल बोकेको विद्यार्थी आन्दोलन अचेल सुस्ताएको छ । गौरवपूर्ण अतीत भएको विद्यार्थी आन्दोलन यतिबेला शिथिल र गतिहीन र दिशाहीन भएझैँ भएको छ । विद्यार्थी सङ्घ, सङ्गठनका लागि नारा र एजेन्डा जहिल्यै रहेको हुन्छ । जब शासकहरूको शासकीय क्षमतामा ह्रास आउँछ, त्यहाँ विद्यार्थी आन्दोलनका लागि एजेन्डा खोज्ने विषय हुँदैन । आममान्छेका समस्या र सत्ताको शासकीय असफलता विद्यार्र्थीले पक्रने विषय हुन् । सरकारको स्थायी प्रतिपक्षी लोकतन्त्रमा कोही हुन्छ भने त्यो विद्यार्थी र अर्गानिक बुद्धिजीवीहरू हुन्छन् ।
विद्यार्थी फाँट जहाँ नेता हुने र कमिटीमा आबद्ध हुनका लागि आकर्षण छ तर सामान्य विद्यार्थीका लागि आकर्षण हैन, विकर्षण मात्र छ तव पनि यति भाँडभैलो गर्ने सङ्गठनहरू बनेका छन् । विद्यार्थी राजनीतिमा अनुशासनको चरम अभाव देखिन्छ । अराजक भीड र अस्वस्थ प्रतिष्पर्धामार्फत आफ्नो भविष्य सुरिक्षित देख्ने आजको पुस्ता होला र ? सडेगलेका र डेट एक्सपायर्ड बीजन रोपेर, नर्सरीभरि भाइरस हालेर पार्टीहरूले कस्तो सुरक्षित भविष्यको कल्पना गर्दैछन् ? पार्टीहरूले लेटेस्ट एन्टी भाइरस राखेर पूरै फाइल क्लिन गरेर नयाँ नयाँ प्रोग्रामिङबिना विद्यार्थी राजनीति रिइस्टल गर्नुको
विकल्प छैन ।
एमाले अखिलले भर्खरै आफ्नो अधिवेशन समापन गरेर नेतृत्व छनोट प्रक्रिया पूरा गरेको छ तर त्यो केवल नेकपा (एमाले)को १०औँ महाधिवेशन चितवनको नयाँ भर्सन मात्र भयो भन्ने आवाज पनि अखिलभित्र प्रसस्त उठेको छ । कारखाना गतिलो भएन भने उत्पादन राम्रो हुन्न, कमसल उत्पादन लिएर गयो भने बजार पाउन गाह्रो हुन्छ भन्ने कुराको धेरै जानकार विज्ञ अर्थशास्त्री किन बुझ्दैनन् ? अब आउने स्ववियु चुनावमा विद्यार्थीको प्रतिष्पर्धा सामान्य र विद्यार्थीको जस्तो हुनुपर्छ । न कि कुनै ठेकेदार, साहु–महाजन, सेठ र धन्दावाल, उद्योग व्यवसायी र चेम्बर अफ कमर्सको जस्तो खर्चिलो र तडकभडकको ? स्ववियुको निर्वाचनमा विद्यार्थी नेताले गर्ने खर्चको ग्राफ सुन्दा र देख्दा राजनीति धनी र धन हुनेका लागि प्रतिस्पर्धा गर्नेजस्तो मात्र लाग्छ । स्ववियु निर्वाचनमा बेस्सरी खर्च गरेर चुनाव जित्नुको पछाडि प्राप्त हुने आर्थिक लाभ र बारम्बार विद्यार्थी नेतामाथि लाग्ने स्ववियुको रकम हिनामिना र भ्रष्टचारको आरोपले पुष्टि गर्दछ । कलेजमा क्याम्पसका ठेक्कापट्टा, पसल कवल भाडा रकमको हिनामिना, क्याम्पस कर्मचारी भर्नामा लेनदेन आदिजस्ता विषयमा विद्यार्थी र स्ववियु लाञ्छित छ । कस्ता विद्यार्थी नेता र सङ्गठन आवश्यक छ यतिबेला ? गतिभन्दा बढी महìव दिशा र निरन्तरताले राख्छ भन्ने विश्वास छ । समयमा पढाइ, परीक्षा र रिजल्ट खोज्ने विद्यार्थी नेता चाहिन्छ । विद्यार्थी राजनीति बाटो निर्माणका लागि हो बाटो छेक्न र बन्द गर्न होइन भन्ने धारणा भएको । सत्ताको स्थायी प्रतिपक्ष । रचनात्मक र सिर्जनात्मक प्रतिस्पर्धालाई मान्यता दिने । जनजीविकाका सवालमा खरो अडान राख्न सक्ने । अमानकृत राजनीतिलाई मानकीकृत गर्ने बुता भएको ।
त्यसैगरी शिक्षाको माफियाकरण, निजीकरण र व्यापारीकरणविरुद्ध उत्रने र संविधानले ग्यारेन्टी गरेको शिक्षा र स्वास्थ्य, रोजगारीको हक सुरक्षा गर्न सक्ने तागत भएको । पारदर्शी सङ्गठन र वर्गीय शिक्षा (पैसा हुनेका लागि निजी शिक्षा र पैसा नहुनेको लागि सामुदायिक शिक्षा)लाई हटाएर सबैलाई एकै किसिमको समान शिक्षाको वातावरण निर्माण गर्न राज्यको विभेदपरक शैक्षिक नीतिको खारेजी गर्ने नेता सर्वस्वीकार्य हुन्छ । लैङ्गिक फरकपनमा ध्यान दिने, समता र मर्यादा सदैव अवलम्बन गर्ने विश्वविद्यालयलाई कसरी अनुसन्धान, ज्ञान र विज्ञानको केन्द्र बनाउन सकिन्छ भनेर सोच्न सक्ने विद्यार्थी नेताका लागि योग्य हुन्छन् ।
बीपी कोइराला भन्नुहुन्थ्यो, “शैक्षिक स्थल बाहुबलको प्रदर्शन र अभ्यास गर्ने थलो होइन, बौद्धिक पहलमानी गर्ने स्थल हुन् ।” कोइरालाको विचार र दर्शन आमविद्यार्थीको प्रथम वैचारिकी होस्, उनको राजनीतिक दर्शनको समीपमा रहने विद्यार्थी हुन् या नहुन् ? विद्यार्थीको मूल धर्म वैचारिक पहलमानी हो । विचारको मन्थन हो । विचारको सघन छलफल, परिमार्जन र विमर्श गर्ने थलोमा मसल्स र मनीको प्रयोगले विकृत र आकर्षणविहीन भएको छ । जीवन्त राजनीतिक, बौद्धिक अभ्यास गर्ने थलो अनैतिक, अराजक र राजनीतिक रूपमा मृत देखिएको छ । जसलाई जगाएर आमविद्यार्थीको भरोसाको केन्द्र बनोस्– आगामी चैत ५ गतेपछि आउने स्ववियुको नेतृत्व । पूर्वजको ब्याजले होइन, अब आफ्नै बलबुता र सामथ्र्यले ऊर्जा निःसृत गर्ने पार्टी र संस्थापनलाई हस्तक्षेप गर्ने नेताको खाँचो छ । शैक्षिक उन्नयनलाई नै सर्वाधिक महìव दिने विद्यार्थी नै परिवर्तित परिस्थितिको नेतृत्व गर्ने हक राख्छ ।
विद्यार्थी सङ्गठन अधिकार, आन्दोलन र सङ्घर्षका पर्याय हुन् । विद्यार्थी आन्दोलन कहिल्यै विसर्जन नहुने प्रवाह हो । यो प्रवाह निरन्तर हस्तान्तरण हुन्छ तर अन्त्य हुँदैन । स्ववियुको औचित्य र प्राधिकारमा प्रश्न गर्नु व्यर्थ छ । जुनसुकै किसिमको निरङ्कुुशताको अपोजिसन हो– स्ववियु । यसको शिथिलीकरण, नैराश्य र ग्याप रोक्ने एउटा प्रणाली हो– स्ववियु निर्वाचन । तसर्थ आमविद्यार्थीलाई यो महाअभियानका लागि शुभकामना ! समयमा नै आवधिक निर्वाचन गराइछाड्ने प्रतिज्ञा अब विजयी बनेर आउने विद्यार्थी नेता र सङ्घ, सङ्गठनले गर्नुपर्छ ।
लेखक त्रिविमा एमफिल गर्दै हुनुहुन्छ ।