• ८ मंसिर २०८१, शनिबार

उर्वशीको कामुकता

blog

“नमस्कार आर्यपुत्र ! म उर्वशी, स्वर्गलोककी अप्सरा । इन्द्र महाराजको आदेशले सेवा गर्न आएकी । अतिथि हुनुहुन्छ, अतिथिको सेवा गर्नु आतिथेय धर्म हो । पूरा रात हजुरको कोठामा हजुरसँगै रहेर सेवा दिन चाहन्छु । जस्तो भन्नुहुन्छ त्यस्तै सेवा पाउनुहुनेछ । कामशास्त्र पारखी इन्द्र महाराजको अन्तरङ्ग सेविका हुँ । कामकलामा निपुण छु । आजको रात तपाईंको हो, तपाईंमै समर्पित गर्न चाहन्छु ।” सन्ध्याकालमा उर्वशी मस्किँदै अर्जुनसामु प्रस्तुत भइन् । 

“देवीजी ! के कुरा गर्नुभएको यस्तो । सम्मानित नारी हुनुहुन्छ, पुज्या हुनुहुन्छ । कसरी यस्तो कुरा गर्न 

सक्नुहुन्छ ? तपाईं परस्त्री म परपुरुष कसरी एउटै कोठामा रात बिताउने ? उमेर पुगेका केटा र केटी नाता सम्बन्धकै भए पनि लामो समय एकान्तमा सँगै बस्नुहुन्न भन्ने नीति वचन छ । जहाँसम्म आतिथेयको कुरा छ, यसै खुसी छु । स्वयं इन्द्र महाराजबाट यथोचित स्वागत भएको छ, सत्कार पाएको छु । यहाँभन्दा के चाहियो ? कुनै कामका लागि आएको हुँ, केही दिन बसेर फर्कनेछु । मेरो उद्देश्य अर्कै छ, धेय अर्कै छ । त्यसैले अनावश्यक कुरा गरेर आफ्नो र मेरो समय नष्ट नगरी दिनुहुन अनुरोध गर्दछु । जुन काम कलाको कुरा गर्नुभयो, त्यसमा तपाईं निपुण नै हुनुहोला तर मलाई भने यस्तो कुरा सुन्दै लाज लागिरहेको छ । त्यसैले थप लज्जित नपारी दिनुहुन आग्रह गर्दछु,” अर्जुन पन्छिन खोजे । 

“ठीकै छ, कुनै उद्देश्यले आउनुभएको रहेछ, खुसी लाग्यो । तपाईंको उद्देश्यमा बाधक बन्न चाहन्नँ । मेरो उद्देश्य त्यो हुँदा पनि होइन । देवलोकमा आउनुभएको छ, यहाँको अतिथि हुनुहुन्छ । अतिथिको सेवा गर्नु यस लोककी सेविकाको नाताले मेरो अधिकार र कर्तव्य दुवै हो । त्यसैले पन्छिन पाउनुहुन्न भन्ने मेरो ठम्याइ छ । तपाईंलाई फरक नपरे पनि मलाई पर्छ । सेवा गर्छु, स्वागत गर्छु, सत्कार गर्छु भन्दा पनि नपाउने भन्ने हुँदैन । जहाँसम्म केटा र केटी एकै स्थानमा बस्न हुँदैन भन्ने जुन कुरा गर्दै हुनुहुन्छ, यसमा भने मेरो विश्वास पनि छैन र यसलाई मान्दा पनि मान्दिनँ । हामीले यस्ता कुराको आवरण उहिल्यै उतारिसकेका छौँ । तपाईं जति मस्त जवान हुनुहुन्छ, म पनि त्योभन्दा कम छैन । रूपकै कुरा गर्नुहुन्छ भने पनि कोहीभन्दा कोही कम छैनौँ । हरेक कुरामा समान छौँ भने सँगै बस्नका लागि मात्र किन असमानता ? सँगै बस्दैमा, सँगै रमाउँदैमा के फरक पर्छ र ! आखिर आकाशै खस्ने त होइन होला । हुन सक्छ तपार्ईंको लोकको नियम यस्तो छैन तर देवलोकमा त्यस्तो हुँदैन । यो लोक भनेकै भोग र मस्तीको हो,” उर्वशीले थप कटाक्ष गरिन् ।

“देवीजी ! त्यस्तो कुरा नगर्नुस् । नियम जहाँको भए पनि नियम नै हो । नारी भनेको घिउको घडा समान हुन्छन् भने पुरुष भनेका बलेको आगो समान हुन् । यी दुईलाई एउटै स्थानमा राख्दा कुनै पनि बेला पग्लिन सक्छ भनेर नै नीतिमा त्यस्तो कुरा लेखिएको हो । तपाईंहरू देवलोकवासी हुनुहुन्छ थाहा छैन यहाँको नियम कस्तो छ । यहाँ नीति, नियमको कुनै बन्धन छैन भने त्यो पनि होला तर हामी पृथ्वी लोकवासीको नियम हुन्छ । हरेक कुरा नीति नियमले चल्छ, चल्नुपर्छ । अन्यथा अनर्थ हुन्छ,” अर्जुनले थप प्रस्ट्याए ।

“अनर्थ हुन्छ रे ? के हो त्यो भनेको ? आगोको छेउमा रहेको घिउ पग्लिँदैमा कुन ठूलो कुरा भयो ? घिउको धर्म पग्लिनु हो भने आगोको धर्म पगाल्नु । घिउको धर्म घिउले गर्छ आगोको धर्म आगोले गर्छ । त्यसैले त उनीहरूलाई धारण गरेको छ । घिउ भएर पनि पग्लिएन भने त्यो घिउ । त्यस्तै आगो भएर पनि पगाल्न सकेन भने त्यो के आगो ? म पग्लिन सक्छु तपाईं पगाल्न सक्नुहुन्छ, त्यसैले त आएकी हुँ । तपाईंको साथमा रहेर पग्लिन मलाई कुनै आपत्ति छैन । पग्लिनकै लागि आएको हुुँ । जति सक्नुहुन्छ पगाल्नुस् । जब म आफैँ पग्लिन तत्पर छु, आफैँलाई पग्लिन आपत्ति छैन भने तपाईंलाई केको आपत्ति ? किन परपर भाग्न खोज्नुहुन्छ । भरतवंशी राजकुमार हुनुहुन्छ, भोग र वासनाको संसार त तपाईंहरूलाई पनि थाहै हुनुपर्छ । आउनुस् सँगै बसेर जवानीको सदुपयोग गरौँ । प्रकृतिले जवानी दिएको नै भोग गर्नका लागि हो । जीवन एक पटक पाइन्छ, जवानी एक पटक आउँछ । यदि एक पटक आएको यस्तो अवसरलाई गुमाउनु भनेको योभन्दा ठूलो मूर्खता अर्को हुने छैन,” उर्वशी थप पारदर्शी बनिन् ।

“लौ न के गर्नुभएको यस्तो ? यस्तो पनि हुन्छ ? तपार्ईंको र तपाईंको लोकको नियम तपाईंसितै राख्नुस् । यसमा मेरो भन्नु केही छैन तर म मत्र्यलोकवासी हुँ । मत्र्यलोकवासीले त्यहाँको नियम मान्नैपर्छ । भनिहाल्नु भो, भरतवंशी राजकुमार हुँ । भरतकुलको जननी तपाईं नै हो । तपाईं र तत्कालीन सम्राट् पुरुरवाको सम्पर्कबाट हाम्रो कुलको उत्पत्ति भएको हो । यसै पनि हामी मत्र्यलोकवासीका निम्ति पर नारी आमा समान हुन्छन् । त्यसमाथि तपाईं त आफ्नै कुलकी जननी । कसरी त्यस्तो सम्भव हुन्छ ? हाम्रो लोकमा पशु र पन्छीमा मात्र यस्तो चल्छ, मानिसमा होइन । अलिकति त शरम गर्नुस् । संसारमा लाज र शरम भन्ने वस्तु पनि छ भन्नेसम्म पनि थाहा छैन भने के भन्ने ? धिक्कार छ तपाईंको जवानीलाई । घृणा गर्छु तपाईंको विचारलाई,” अर्जुन कड्के । “चर्को स्वर नगर्नुस् महाशय ! यस्तो स्वर निकाल्न हामीलाई पनि आउँछ । तपाईंलाई वीर पुरुष ठानेकी थिएँ तर तपाईं त नामर्द पो हुनुहुँदो रहेछ । वेदले वीर भोग्या वसुन्धरा भनेको छ तर तपाईं त वसुन्धरालाई समेत भोग्न नसक्ने हुनुहुँदो रहेछ । मस्त जवानकी केटी उपस्थित भएर भोग गर भन्दा पनि पन्छिन् खोज्छ भने धिक्कार छ तपाईंको पुरुषत्व । यस्ता मानिसलाई पुरुषत्व धारण गर्ने अधिकारै छैन । त्यसैले अहिले नै श्राप दिँदै छु । तपाईं नपुंसक हुनुहुन्छ । नपुंसक नै भएर बस्नुपर्नेछ,” उर्वशी श्राप दिएर फन्किँदै हिँडिन् ।

इन्द्र महाराजले उर्वशीमार्फत तत्कालै सबै कुरा थाहा पाए । त्यो रात त्यत्तिकै बित्यो । भोलिपल्ट उज्यालो हुनासाथ उनी आफैँ अर्जुनसमक्ष आएर भन्न लागे–

“बाबु अर्जुन ! परीक्षा लिन उर्वशीलाई पठाएको थिएँ, सफल भयौ । जे हुनु भइसक्यो, उनको श्रापलाई लिएर नराम्रो नमान । सायद नियतिको खेल नै यस्तै रहेछ । श्राप परिसकेकाले भोग त गर्नैपर्छ तर त्यसको अवधि एक वर्षभन्दा बढी हुने छैन, जसले परेको बेला तिमीलाई नै सहयोग गर्नेछ । सानो चित्त नगर । जहाँसम्म उर्वशीको तर्फबाट भएको दुव्र्यवहारको कुरा छ । त्यसका लागि भने माफी चाहन्छु । उनी मेरी सेविका हुन् । उनीबाट भएकोे कामको जस र अपजस मैले नै लिनुपर्ने हुन्छ ।”

अर्जुनले पनि यसलाई नियतिकै खेल मानेर चित्त बुझाए । त्यसपछि उनी केही समय देवलोकमै बसेर दिव्यास्त्र प्रयोगको विधि सिके । अस्त्र आधान, सन्धान तथा प्रतिसन्धानको विधि सिकेर आफ्नै आश्रम फर्के, जहाँ द्रौपदीलगायत अन्य पाण्डवहरू प्रतीक्षामा बसेका थिए । 

नभन्दै भयो पनि त्यस्तै । जब पाण्डवहरू १२ वर्षे वनवासको अवधि सकेर एक वर्षे गुप्तवासका लागि विराट राजाको दरबारमा पुगे त्यतिबेला उर्वशीको श्रापले ठूलो काम ग¥यो । अर्जुनजस्तो वीर पुरुषको तेजलाई लर्तरो शक्तिले छिपाउन सक्ने अवस्था थिएन तर उर्वशीको श्रापले एक वर्षका लागि उनको तेज घटाइदिएकाले उनलाई चिन्न कसैले पनि सकेनन् । त्यतिबेला उनको नाम बृहन्नला थियो । यही नाम र रूपले एक वर्षसम्म राजा विराटकी छोरी उत्तरालाई नृत्य सिकाउने काम गरे । 

धर्मो रक्षति रक्षितः अर्थात् जसले धर्मको रक्षा गर्छ उसलाई सोही धर्मले रक्षा गर्छ भन्ने धर्मशास्त्रको वचन छ । यहाँ पनि यस्तै भयो । अर्जुनले अप्ठ्यारो स्थितिमा पनि जसरी स्वधर्मको रक्षा गरेका थिए, सोही धर्मले नै परेको बेला उनको रक्षा ग-यो ।