• १३ साउन २०८१, आइतबार

केयूले बेथानचोकमा सुरुङ मार्गको अध्ययन गर्ने

blog

बेथानचोकमा सुरुङ मार्ग निर्माणको अध्ययन गर्नका लागि सम्झौतापछि सम्झौता पत्र आदानप्रदान गर्दै बेथानचोक गाउँपालिका अध्यक्ष भगवान् अधिकारी र केयूका इन्जिनियरिङ विभागका डिन प्रा.डा मनीष पोखरेल । तस्बिर: केदार तिमल्सिना

केदार तिमल्सिना 

काभ्रेपलान्चोक, फागुन १९ गते । बेथानचोक गाउँपालिका हुँदै ललितपुर तथा प्रदेश राजधानी हेटौंडालाई जोड्ने वैकल्पिक राजमार्गको रूपमा प्रस्ताव गरिएको सडक अन्तर्गतको ढुङ्खर्क खोला च्याम्राङबेंसी सडक खण्डमा सुरुङ मार्ग निर्माणका लागि अध्ययन गरिने भएको छ । सुरुङ मार्गको अध्ययनका लागि काठमाडौँ विश्वविद्यालय (केयू) र बेथानचोक गाउँपालिकाबीच बुधवार सम्झौता भएको छ । 

विश्वविद्यालयका इन्जिनियरिङ विभागका डिन प्रा.डा. मनीष पोखरेल र गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीबीच भएको सम्झौतामा केयूलाई सुरुङ मार्गको अध्ययन गर्नका लागि गाउँपालिकाले दश लाख रुपियाँ उपलब्ध गराउने सहमति भएको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिनुभयो । उहाँले विश्वविद्यालयले ढुङ्खर्क खोला च्याम्राङबेंसी सडक खण्ड अन्तर्गत बेथानचोक गाउँपालिका–२ को दुर्लुङखोला बाइससय ढुङ्गा हुँदै वडा नम्बर–१ च्याम्राङबेंसी चौतारासम्म सुरुङ मार्ग निर्माणको अध्ययन गर्ने बताउनुभयो । 

केयूले अध्ययन गर्ने सुरुङ मार्ग एकदेखि डेढ किलोमिटर दुरीको हुने अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले विश्वविद्यालयले सुरुङ मार्गको अध्ययन गरेर गाउँपालिकालाई प्रतिवेदन बुझाएपछि सुरुङ मार्ग निर्माणको लागि प्रदेश सरकार, सङ्घीय सरकारका साथै अन्य सहयोगी सङ्घसंस्थालाई आह्वान गरिने बताउनुभयो । विश्वविद्यालयले  अध्ययन गर्ने सुरुङ मार्गले ढुङ्खर्क खोला च्याम्राङबेंसी सडक अन्तर्गत गाउँपालिकाको वडा नम्बर–२, र १ लाई सुरुङ मार्गबाट जोड्न मद्दत गर्नेछ । 

बेथानचोक गाउँपालिका– १ स्थित सेती भीरमा हरेक वर्ष जाने सुख्खा पहिरो । 

पछिल्लो समय काठमाडौँ विश्वविद्यालयले विश्वविद्यालय परिसरमा सुरुङ मार्ग निर्माण सुरु गरेर त्यसलाई प्राज्ञिक प्रयोगशालाको रूपमा विकास गर्ने लक्ष्य लिए जस्तै बेथानचोकमा अध्ययन गरिने सुरुङ मार्गलाई एउटा प्राज्ञिक प्रयोगशाला र विद्यार्थीहरूको अध्ययन अनुसन्धान गर्ने सुरुङ मार्गको रूपमा विकास गर्ने लक्ष्य राखेको छ । बेथानचोकमा अध्ययन हुने सुरुङ मार्ग निर्माण गर्न सकिएको खण्डमा बर्सेनि सुख्खा पहिरोका कारण सास्ती बेहोर्ने बेथानचोकबासीहरु उक्त समस्याबाट मुक्त हुनुको साथै पहिरो नियन्त्रणका लागि महत्त्वपूर्ण योगदान पुग्ने गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले बेथानचोकमा सुरुङ निर्माण गर्न सकिएको अवस्थामा सङ्घीय राजधानी र प्रदेश राजधानी हेटौंडा जोड्ने वैकल्पिक राजमार्गको रूपमा बनेपा, पनौती, बेथाचोक, खानी खोला, बागमती गाउँपालिका हुँदै धरान–चतरा जोड्ने राजमार्ग पुग्न छोटो दूरीको सडक हुने बताउनुभयो । उहाँले सुरुङ मार्ग निर्माण भएको खण्डमा प्रदेश राजधानी हेटौडा जोड्ने सडक करिब ४० किलोमिटर सडकमा करिब पाँच किलोमिटर घटेर ३५ किलोमिटरको हुने बताउनुभयो । उहाँले सुरुङ मार्ग निर्माणको लागि करिब एक करोड रुपियाँभन्दा बढी रकम खर्च हुने बताउनुभयो । 

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले बेथानचोक गाउँपालिकासँगको सहकार्यमा सुरुङ मार्ग निर्माणको अध्ययन गर्न पाउनु विश्वविद्यालयको लागि महत्त्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागले सुरुङ मार्गको अध्ययन गर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयले गर्ने सुरुङ मार्गको अध्ययनबाट विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि सिकाई गर्ने र खोज अनुसन्धानमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । केयूले सुरुङ मार्ग निर्माणको लागि त्यहाँको वातावरणीय प्रभाव, भौगर्भिक अवस्था, सुरुङ मार्गको डिजाइन तथा सुरुङ मार्ग निर्माणका लागि लागत अनुमानको अध्ययन गरी गाउँपालिकालाई प्रतिवेदन बुझाउनेछ । विश्वविद्यालय र गाउँपालिकाबीच भएको समझदारी पत्रमा स्थानीय समस्यामा आधारित भएर संयुक्त अनुसन्धान र प्रकाशन र समसामयिक विषयमा संयुक्त रूपमा सेमिनार, सम्मेलन, गोष्ठी सञ्चालन गर्ने उल्लेख छ ।