• ४ पुस २०८२, शुक्रबार

अर्थतन्त्र लयमा फर्किंदै : अर्थमन्त्री

blog

कार्यक्रम उद्घाटन गर्नुहुँदै अर्थमन्त्री रामेश्वर खनाल ।

बुटवल समाचारदाता

बुटवल, पुस ४ गते । अर्थमन्त्री रामेश्वर खनालले अन्तरिम सरकार र निजी क्षेत्रबिचको प्रभावकारी सहकार्यका कारण जेनजी आन्दोलनपछि उत्पन्न अस्थिर अवस्थाबाट मुलुकको अर्थतन्त्र चाँडै रिकभर हुन थालेको बताउनुभएको छ । पछिल्ला महिनामा आर्थिक सूचक सुधारोन्मुख बन्दै गएको उल्लेख गर्दै उहाँले अर्थतन्त्र क्रमशः लयमा फर्किरहेको दाबी गर्नुभयो ।

रुपन्देही उद्योग सङ्घको आयोजनामा बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको बिहीबार उद्घाटन गर्दै अर्थमन्त्री खनालले मौद्रिक निकाय नेपाल राष्ट्र बैङ्कसँग नीतिगत समन्वय गर्दै सरकारले काम गरेकाले आर्थिक गतिविधि विस्तार हुन थालेको बताउनुभयो । “अर्थतन्त्रका आधारभूत सूचक सकारात्मक दिशामा गएका छन्,” उहाँले भन्नुभयो, “यसले आमनागरिकमा फेरि आशा पलाउन थालेको छ ।”

उहाँले हाल मूल्यवृद्धि दर इतिहासकै न्यून विन्दुमा रहेको उल्लेख गर्दै विदेशी मुद्राको सञ्चिति र भुक्तानी सन्तुलन अत्यन्तै सकारात्मक अवस्थामा पुगेको जानकारी दिनुभयो तर बैङ्क तथा वित्तीय संस्थामा ठुलो मात्रामा रकम थुप्रिएको भए पनि अपेक्षित लगानी हुन नसक्नु चुनौतीपूर्ण विषय बनेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पुँजी छ तर लगानीको वातावरण अझै पूर्ण रूपमा तयार हुन सकेको छैन ।”

राजनीतिक स्थिरताबिना आर्थिक विकास सम्भव नहुनेमा जोड दिँदै अर्थमन्त्री खनालले आमनिर्वाचनबाहेक अन्य कुनै विकल्प दीर्घकालीन रूपमा समाधान हुन नसक्ने बताउनुभयो । “अन्य विकल्पमा जानु मुलुकलाई झनै अस्थिरता र अनिश्चितको दिशातर्फ धकेल्ने खतरा हुन्छ,” उहाँले चेतावनी दिनुभयो ।

पूर्वाधार विकासका सन्दर्भमा उहाँले बुटवल–पोखरा डेडिकेटेड डबल लेन सडक निर्माणका लागि दोस्रो चरणको प्रक्रिया अन्तर्गत एसियाली विकास बैङ्कसँग छलफल भइरहेको जानकारी दिनुभयो । साथै लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि सङ्घीय सरकारबाट सिधै बजेट दिने कानुनी व्यवस्था नरहेकाले यसको वैकल्पिक समाधान खोज्ने विषयमा सरकार छलफलमा रहेको बताउनुभयो ।

अर्थमन्त्री खनालले बुटवललाई नेपाली उद्यमशीलताको केन्द्रका रूपमा चित्रण गर्दै स्वदेशी उत्पादनको प्रदर्शनले औद्योगिक विकासलाई गति दिने विश्वास व्यक्त गर्नुभयो । “यस्ता प्रदर्शनीले उद्योग, कृषि, प्रविधि र पर्यटनलाई एउटै प्लेटफर्ममा ल्याएर आर्थिक गतिविधि विस्तार गर्छन्,” उहाँले भन्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका खेलकुदमन्त्री सन्तोष पाण्डेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउँदै पर्यटनमार्फत देशको समृद्धि खोज्न सुझाव दिनुभयो । उहाँले एनपिएल विजेता लुम्बिनी लायन्सलाई प्रदेश सरकारले ११ लाख रुपियाँ प्रदान गर्ने पनि घोषणा गर्नुभयो । प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले संविधान र विधि अनुसार मुलुक अघि बढाउन संसद् पुनस्र्थापना आवश्यक रहेको बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सङ्घबाट प्रदेशमा हस्तान्तरण भएका योजना बजेट अभावका कारण अलपत्र परेको गुनासो गर्दै जसको उदाहरण बेलबास–बेथरी सडक रहेको बताउनुभयो । 

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सार्वजनिक–निजी साझेदारीलाई बलियो बनाए मात्र मुलुकले आर्थिक तथा औद्योगिक विकासमा फड्को मार्ने बताउनुभयो ।

यस्तै नेपाल उद्योग परिसङ्घ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम, रुपन्देही उद्योग सङ्घका अध्यक्ष कृष्ण पराजुली, उपाध्यक्ष जीवकान्त पोखरेल, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि अर्याल, नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे तथा पूर्वअध्यक्ष यानेन्द्र जिसीले औद्योगिक प्रदर्शनीले स्वदेशी उत्पादन प्रवर्धन र उद्यमशीलता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।