• १३ असोज २०८१, आइतबार

फुङ्लिङ बजारमा महिला मृत फेला

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन १८ गते । ताप्लेजुङमा बिहीबार बिहान एक महिला मृत फेला परेकी छन् । सदरमुकाम फुङ्लिङ बजारको न्यूरोड लाइनमा डेरा गरी बस्दै आएकी महिला मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार मृत भेटिएकी महिला अन्दाजी ३५ वर्षीया शर्मिला तामाङ भएको खुलेको छ । फुङ्लिङ नगरपालिकाको दोखु घर भई हाल आफ्ना दुई छोरी पढाउनलाई तामाङ फुङ्लिङ बजारमा बस्दै आउनुभएको बुझिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

मृतक महिलाका घर र मैवाखोला माइती गाउँका आफन्त आइपुगेपछि कानुनी प्रक्रियाको कार्य अघि बढाइने भएकाले त्यसपछि मात्र बाँकी विस्तृत विवरण आउने उहाँले जानकारी दिनुभयो । डेरा गरी बसेको कोठामा ओछ्यानमै ती महिलाको शव फेला परेको छ । मृतक महिलाकी श्रीमान् वैदेशिक रोजगारीमा रहनुभएको बुझिएको पनि प्रहरीले जानकारी दिएको छ ।