एक समय नेपाली कांग्रेसमा बिग फोर ‘शीर्ष चार’ भन्ने चलन थियो । बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायले कांग्रेसका चार ताराको प्रतिनिधित्व गर्नुहुन्छ भन्ने मान्यता राखिन्थ्यो । ती नेतामध्येका शीर्ष नेता सुवर्णशमशेरको जन्म दिनलाई पार्टीले कुनै औपचारिकता नदिए पनि उहाँको प्रजातन्त्रप्रतिको समर्पण र निष्ठाको बेलाबखत स्मरण भइरहन्छ ।
तीक्ष्ण बुद्धि, त्यागका प्रतिमूर्ति राणा प्रधानमन्त्री भीमशमशेरका नाति सुवर्णशमशेरमा पारिवारिक सुख, सम्पन्नता विलासिताको कुनै कमी थिएन । उहाँले त्यसबाट आफूलाई अलग गराउनुभयो । सी क्लासको राणा भएका कारण उपत्यकाको चार भन्ज्याङ कटाइनुभएका सुवर्णशमशेर जहानियाँ राणाशासनको अन्त्य र जनअधिकारका लागि आफ्नो जीवन पूरै समर्पित गर्नुभयो । तीक्ष्ण बुद्धिका सुवर्णले २२ वर्षको उमेरमा कलकत्ताबाट अङ्ग्रेजी साहित्यमा एमएम पूरा गर्नुभयो । त्यो बेलामा अङ्ग्रेजी साहित्यमा एमएम उत्तीर्ण गर्नु यति महìवपूर्ण उपलब्धि रहेछ कि सुवर्णशमशेरले उक्त डिग्री हासिल गरेर पहिलो पटक नेपाल फर्कंदा सारा भाइभारदार स्वागत गर्न थानकोटसम्म पुगेका रहेछन् । पछि उहाँले अर्थशास्त्र र वाणिज्य शास्त्रसमेत अध्ययन गर्नुभयो । सुवर्ण अर्थमन्त्रीकै हैसियतमा आफ्नो ख्याति बनाउनुभएको हो । पटक पटक मन्त्री र मन्त्रिपरिषद्को अध्यक्ष हुँदासमेत सुवर्णशमशरेले सरकारी तलब कहिल्यै लिनु भएन । एक पटक भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले सुवर्णजी जस्तो क्षमतावान् अर्थमन्त्री गणतन्त्र भारतको जटिल अर्थतन्त्रमा भइदिएको भए.... भनी तारिफ गर्नुभएछ ।
सुशीला कोइरालालाई पनि मासिक भत्ता
२०१७ सालको राजनीतिक ‘कु’ पछि कांग्रेसका नेता कार्यकर्तालाई दुईवटा विकल्प थियो । पहिलो जेल जाने दोस्रो पञ्चायतसित आत्मसमर्पण गर्ने । बीपी र गणेशमानले पहिलो विकल्प रोजेर सुन्दरीजल पुगेका बेला सुवर्णले निर्वासनमा जाने तेस्रो विकल्प रोज्नुभयो । त्यसपछि २०१७ देखि सुवर्णले निर्वासित जीवन बिताउनुभयो । उहाँले निर्वासनमा रहेका कार्यकर्तालाई मासिक पैसा दिने व्यवस्था सुवर्णले मिलाउनुभयो, पार्टीको आर्थिक बोझ पनि पूर्ण रूपमा धान्नुभयो । नेता कार्यकर्ता मात्रै होइन बीपीको परिवार पनि सुवर्णजीको सहयोगले चलेको रहेछ । सुवर्णजीले मासिक रूपमा दिने पाँच सय रुपियाँको सहयोगले परिवारको गुजारा चलेको बीपी धर्मपत्नी सुशीलाले आफ्नो स्मरणमा (सुशीला कोइराला स्मृति ग्रन्थ) मा उल्लेख गर्नुभएको छ ।
बीपीको सधैँ सम्मान
समकालीन राजनीतिमा बीपीले सबैभन्दा धेरै सम्मान सुवर्णशमशरेलाई गर्नुहुन्थ्यो । एक पटक बीपीले बरु गणेशजीमानले चित्त दुखाउनु भयो भने केही फरक पर्दैन तर सुवर्णजीलाई चित्त दुखाउन हुुँदैन भनेर लेख्नुभएको छ । यदाकता नेताहरूका बीचमा देखिने टकराव र मनमुटावबाट चिन्तित देखिनुहुने बीपी भन्नुहुन्थ्यो, “मैले जो सुकैले कांग्रेस छोडेको देख्न सक्छु तर सुवर्ण त्यो गर्न सक्नु हुन्न ।” बीपीले सुवर्णशमशेर राणालाई प्रधानमन्त्रीको रूपमा स्वीकार त गर्न सक्नुभएन तर अन्य सबै भूमिकामा सुवर्णशमशेरको अस्तित्व स्वीकार गर्नुभयो । २०१२ सालमा वीरगञ्जमा भएको कांग्रेसको महाधिवेशनमा बीपीले आफू सभापतिको निर्वाचनमा नलड्ने घोषणा गरी सुवर्णशमशेरलाई सहयोग गर्नुभयो । गणेशमान र सुवर्णशमशेरका बीचमा भएको त्यो निर्वाचनमा बीपीले सुवर्णशमशेरलाई सहयोग गर्नुभयो । निर्वाचनमा पराजित भएपछि गणेशमानले आफूलाई जथाभावी बोल्नुभएको सन्दर्भ बीपीले उल्लेख गर्नुभएको छ । गणेशमानजीको बानी यस्तै हो, म त्यसलाई सहन्छु उहाँको बानी नै यस्तै हो उहाँले अरू केही गर्न सक्ने होइन तर सुवर्णलाई पनि यस्तै शङ्का लाग्यो भने के गर्नु ? बीपीले सुवर्ण शमशेरसितको राजनीतिक सम्बन्धलाई यति धेरै महत्व दिनुभएको थियो कि सुवर्णसित कुनै मनमुटाव हुने कुरा त परै जाओस् कुनै काममा शङ्का पनि उब्जन हुँदैन भन्नेमा बीपी सजग हुनुहुन्थ्यो ।
१२ हजार बिघा फिर्ता
नेपालको अर्थव्यवस्थालाई आधुनिकीकरण गर्ने क्रममा सबैभन्दा महìवपूर्ण कार्यका रूपमा बिर्ता उन्मूलनलाई लिन सकिन्छ । बीपी नेतृत्वको सरकारमा बिर्ता उन्मूलन गर्ने कार्यको अगुवाइ भने कांग्रेस नेता तत्कालीन उपप्रधानमन्त्री तथा अर्थमन्त्री सुवर्णशमशेर राणाले गर्नुभएको थियो । सरकारले २०१६ साल पुस १९ गते बिर्ता उन्मूलन गर्ने निर्णय ग¥यो । बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूलाई साक्षी राखेर सुवर्णशमशेरले आफ्नो १२ हजार विघा जग्गा सरकारलाई उपलब्ध गराउने प्रस्ताव गर्दा नेताहरू नै तीन छक पर्नुभएछ । परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्छ भन्ने मान्यता राख्नुहुने सुवर्णजीको यो प्रस्तावले त्यो बेला हलचल नै ल्याइदिएको थियो । सुवर्णको निजी निवास ललिता निवास (हाल राष्ट्र बैङ्क रहेको) लगायतको स्थान सुवर्णले नै सरकारलाई उपलब्ध गराउनुभएको हो । सुवर्णको यो प्रस्तावकै आधारमा डायमनशमशेर राणाले पनि आफ्नो एक हजार विघा जग्गा सरकारलाई बुझाउनुभएको थियो । सुवर्ण कुनै पनि नयाँ कुराको प्रारम्भ आफैँबाट गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो ।
मन्त्रीलाई बिदाइ गर्न प्रधानमन्त्री विमानस्थलमा
कांग्रेसका नेताहरूको त्याग समर्पणमा फरक–फरक अनुभव छ । बीपी, गणेशमानलगायतका नेता कहिले जेल त कहिले निर्वासनमा पर्नुभयो । नेता सुवर्णसित चार भन्ज्याङ कटेको र निर्वासनमा बसेको मात्र अनुभव छ । बन्दी जीवन उहाँले अनुभव नै गर्न पाउनुभएन । निर्वासनमा रहेर प्रजातन्त्र स्थापनामा सक्रिय रहनुभयो । २०१७ साल पुस १ को राजनीतिक ‘कु’ अघि नै सुवर्णशमशेर राजा महेन्द्र र बीपीसित अनुमति लिएर भारत जानुभयो । राजनीतिक ‘कु’ को दुई दिनअघि मात्रै सुवर्णशमेरले बीपीसित म त विशेष कामले केही दिनका लागि भारत जान लागे भन्नुभएछ । बीपीलाई उहाँले भारत जान मात्रै अनुमति दिनुभएन आफू र गणेशमानसमेत भएर सुवर्णशमशेरलाई काठमाडौँको त्रिभुवन विमानस्थलमा बिदाइ गरेर फर्कनुभयो । बीपी आफू प्रधानमन्त्रीको भूमिकामा भए पनि उपप्रधानमन्त्री तथा अर्थमन्त्री सुवर्णलाई बिदाइ गर्न उहाँ विमानस्थल पुग्नुभयो । विमानस्थलमा सुवर्णशमशेरले राजाले ‘कु’ त गर्छन् तर अहिले नै गर्दैनन् भन्नुभएको रहेछ । बीपीले सुवर्णजी दरबारिया भाषा बोल्नुभएको आफ्नो स्मरणमा लेख्नुभएको छ ।
जाबो ३० लाखका लागि जहाज अपहरण
२०३० सालमा बीपीलाई जानकारी गराएर नेता गिरिजाप्रसाद कोइरालाको अगुवाइमा विराटनगरमा विमान बलान्नयन काण्ड (प्रदीप गिरिले चयन गरेको शब्द) अपहरण गरियो । विमानमा जम्मा तीस लाख भारु थियो । सुवर्णशमशेर यस विषयमा पूर्ण रूपमा बेखबर हुनुहुँदो रहेछ । खासमा प्रवासमा रहँदा चाहे त्यो २००७ सालअघि होस् या २०१७ सालपछि नै किन नहोस् आर्थिक व्यवस्थापनको जिम्मेवारी सुवर्णजीले नै गर्नुभएको देखिन्छ । पार्टीलाई कुनै जानकारी नदिई विमान अपरहण गरिएको घटनाले सुवर्णलाई निकै दुखित बनाएको रहेछ । क्रान्तिका लागि चाहिने पैसा म उपलब्ध गराइहाल्थेँ, राजासित नयाँ तरिकाले संवादको थालनी भइरहेको बेलामा किन विमान अपहरण गरियो भन्ने कुरामा सुवर्णको आपत्ति रहेछ । यसले
बीपी र सुवर्णका बीचमा असमझदारी उत्पन्न भएको नेता प्रदीप गिरिले उल्लेख गर्नुभएको छ । हुन पनि सुवर्णशमशेरले क्रान्तिका लागि करोडौँ रुपियाँ लगानी गर्नुभएको थियो ।
सुवर्णजीको शयन कक्षमा बीपी/सुशीला
बीपीले सबैभन्दा धेरै सम्मानका शब्द सुवर्णलाई खर्च गर्नुभएको छ । बीपी कलकत्ता जाँदा सुवर्णजीकहाँ नै बस्नुहुन्थ्यो । एक पटक बीपीसँगै सुशीला कोइराला पनि कलकत्ता जाने हुनुभएछ । एक दिन सुवर्ण आफ्नो शयन कक्ष स्वयं सफा गर्दै हुनुहुन्थ्यो । त्यो देखेपछि एक दिन पुराना राजनीतिज्ञ विश्वबन्धु थापाले सुवर्णको श्रीमती कञ्चनशमशेर राणासित सोध्दा उहाँको नेता आउने रे भन्ने जवाफ दिनुभएछ । त्यसबेला सुवर्णले भन्नुभएछ यस पटक सुशीलाजी पनि आउने रे । यो सुवर्णजीको बीपीप्रतिको सम्मान थियो । बीपी एक्लै आउँदा बस्ने कोठा दुई जनाका निम्ति सानो हुने देखेर सुवर्णले आफ्नो शयन कक्ष बीपी र सुशीलालाई सुम्पनुभएको थियो । बीपी यसरी सपरिवार सुवर्णजीकहाँ जाँदा उहाँकै शयन कक्षमा बस्नुहँुदो रहेछ । बीपीले आफ्नो मात्रै होइन श्रीमती सुशीलाको सम्बन्ध पनि पारिवारिक रूपमा राख्नुभएको थियो । बीपीले आफ्नो राजनीतिक जीवनमा सुवर्णजीलाई लेखेका धेरै पत्रको पुछारमा तपाईं र तपाईंको श्रीमतीलाई सुशीलाको सम्झना लेखेपछि बल्ल चिठी टुङ्ग्याउनु हुन्थ्यो । कति पटक त बीपीले सुवर्णजीका लागि लेखेका चिठीमा म सुशीलालाई पैसाका निमित्त पठाउँदैछु भनेर समेत लेख्नुभएको छ । साथै बीपीले सुशीलालाई त्यहाँको बसोबासबाहेक फर्किने खर्चको बन्दोबस्त गरिदिनु होला भन्ने कुरा पनि बीपीको पत्रमा हुन्थ्यो ।
महेन्द्रलाई बिहे खर्च, तीन ठाउँबाट विजयी
सुवर्णशमशेरका जीवनमा धेरै रोचक पक्ष छन् । सुवर्णले राजा महेन्द्रलाई ट्युसन मात्र पढाउनुभएन महेन्द्रको विवाहका लागि ४० हजार रुपियाँ दिनुभएको थियो । २०१५ सालको निर्वाचनमा पार्टीका शीर्ष नेतामध्ये बीपी र गणेशमानले एक ठाउँबाट मात्र जित्नुभयो । निर्वाचन हारिने डरले गणेशमान भागेर बनेपासमेत पुग्नुभएको थियो । पछि जितिने सम्भावनापछि जुलुससहित गणेशमान काठमाडौँ आउनुभएको थियो । सूर्यप्रसाद उपाध्यायले दुई ठाउँबाट र कृष्णप्रसाद भट्टराई एक ठाउँबाट निर्वाचनमा पराजित हुनुभयो । रोचक पक्ष के भने सुवर्णले तीन ठाउँबाट निर्वाचन लडेर तीनै ठाउँबाट जित्नुभयो । तत्कालीन गुल्मी– अर्घाखाँची क्षेत्रबाट वारिसबाट उम्मेदवार दिएर निर्वाचन क्षेत्रमा एक पटक पाइला नहाले पनि उहाँ विजयी हुनुभएको थियो ।
बीपी सुवर्णशमशेर अन्तिम भेट
अमेरिकाबाट उपचार गरी फर्र्किएका बीपीले २०३४ साल कात्तिकमा सुवर्णशमशेरलाई कलकत्तामा भेट गर्नुभयो । आफ्नो पार्टीको कार्यवाहक सभापति तथा अति पुरानो तथा घनिष्ठ मित्रलाई बिरामी अवस्थामा भेट्दा बीपी साह्रै भावुक हुनुभएको थियो । त्यसबेला बीपी आफैँ अमेरिकामा क्यान्सरको उपचार गरेर फर्कनुभएको थियो । भावुक हृदयका बीपी र सुवर्णजीबीच भएको त्यो भेट अति नै कारुणिक थियो । दुवैका आँखा रसाएका थिए । यस भेटमा सुवर्णले भावुक हुँदै बीपीलाई राजनीतिमा सघाउने अभिलासा हुँदाहुँदै पनि अस्वस्थ्यताका कारणले अब केही गर्न नसक्ने भन्दै क्षमा माग्नुभएको थियो । पक्षघातले कुँजिएर अन्तिम अवस्थामा पुगेका सुवर्णजीको यो भनाइले बीपी पनि भक्कानिनु भएको थियो । सुवर्णजीले आफ्नो ओच्छ्यानबाटै बीपीलाई आफूले सत्र वर्षदेखि जिम्मा लिएको कार्यवाहक सभापतिको भारी बिसाउनुभएको थियो । २०३४ सालमा सुवर्णजीको कलकत्तामा निधन भएको समाचार बीपीलाई पहिलो पटक गणेशमानजीले नै सुनाउनुभएको थियो । फेरि सुन्दरीजल जेल डायरीमा बीपीले सुवर्णजीको निधन भएको खबर गणेशमानले सुनाउनुभएको उल्लेख गर्नुभएको छ । आफ्नो अन्तिम भेटमा बीपीले सुवर्णशमशेरलाई हामी पुराना साथी हौँ, मतभेद बिर्सिदिनुस्, हामीले फेरि सँगै काम गर्नुपर्छ, तपाईंलाई बिसेक होस् हरेस नखानुस् भन्ने कुरा सुवर्णसित राख्नुभएको थियो । बीपी सुवर्णका बीच त्यो नै अन्तिम संवाद हुन पुग्यो ।
लेखक गोरखापत्रका सहसम्पादक हुनुहुन्छ ।